बैङ्लोरलाई हराउँदै दिल्ली फेरि आईपीएलको शीर्ष स्थानमा
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैङ्लोरलाई हराउँदै दिल्ली क्यापिटल्स फेरि शीर्ष स्थानमा उक्लेको छ। यसअघि हिजो भएको खेलमा सन राइजर्स हैदरावादलाई हराउँदै मुम्बई इन्डियन्स अंकतालिकाको शीर्ष स्थानमा पुगेको थियो।
सोमबार राति भएको खेलमा दिल्लीले विराट कोहोली नेतृत्वको बैङलोरलाई ५९ रनले पराजित गरेको छ। दिल्लीले दिएको १९७ रनको लक्ष पछ्याएको बैङ्लोरले २० ओभरमा नौ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।
बैङ्लोरका कोहोलीले ४३ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। बलिङतर्फ दिल्लीका कागिसो राबाडाले सर्वाधिक चार विकेट लिए। चर ओभर बलिङ गरेका उनले २४ रन मात्र दिए। त्यसबाहेक एनरिक नोत्र्जे र अक्षर पटेल दुवै जनाले दुई दुई विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा चार विकेट गुमाइ १९६ रन बनाएको थियो। उसका लागि मार्कस स्टोइनिसले २६ बलमा नै ५३ रन बनाएका थिए। बलिङतर्फ बैङ्लोरका मोहम्मद सिराजले दुई विकेट लिए।
पाचौँ खेलमा पनि दिल्लीको टीममा नेपाली खेलाडी सन्दीप लामिछाने अन्तिम–११ म पर्न सकेनन्। यो सिजन उनले पूरै समय बेञ्चमा बस्नु परेको छ।
दिल्लीको पाँच खेलबाट आठ अंक भएको छ। मुम्बई र बैङ्लोरको ६÷६ अंक छ। दुवै टीमले पाँच÷पाँच खेल नै खेलेका छन्। अंक तालिकाको पुछारमा रहेको पञ्जाबको दुई अंक छ।