सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्छ : नेपाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले सरकारले इमानदारिताका साथ जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् ।
चितवनको भण्डारामा आयोजित स्व नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट सरकारप्रति जनताले ठूलो आशा र भरोसाका साथ दुई तिहाइ बहुमत दिएकाले जनइच्छाबमोजिम काम गर्नुपर्ने बताए ।
उनले जनताबीच लोकप्रियता हासिल गर्न वडादेखि केन्द्रसम्म सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । “वर्तमान अवस्थामा नेपालमा प्रतिपक्ष कमजोर छ,” नेता नेपालले भने, “एक हिसाबले मैदान खाली जस्तै छ तर यसो भनेर विचलित हुने अवस्था छैन ।” सरकारको नेतृत्व गरेर जनताको पक्षमा लोकप्रिय काम गर्न नसके जनताले सजाय दिने उनले बताए ।
विश्वमा कम्युनिष्ट पार्टीहरू अलोकप्रिय भइरहेका बेला नेपालमा भने कम्युनिष्टहरूको कामका कारण लोकप्रियता बढ्दै गएको उनको भनाइ छ ।
उनले पार्टीमा जागृतप्रसाद जस्ता नेताको जगका कारण लोकप्रियता बढेको बताए । “भेटवाल सरल नेता हुनुहुन्थ्यो”,, उनले भने, “उहाँको व्यवहार, आचरण र त्याग हाम्रा लागि उदाहरण हुन् ।” भेटवालबाट शिक्षा लिन सबै जनप्रतिनिधिलाई नेता नेपालको सुझाव छ ।
यस्तै स्मृति सभामा नेकपाका सचिवालय सदस्य बामदेव गौतमले एक वर्षदेखि पार्टीले आफूलाई कुनै भूमिका नदिएको गुनासो गरे । “एक वर्षदेखि म पार्टीको कुनै भूमिकामा छैन”, उनले भने, “म पार्टीभित्र बेरोजगार भएको छु ।” भेटवालले देखेका सपना र अधुरा काम सम्पन्न गर्न सके उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने नेता गौतमको भनाइ छ ।
यस्तै नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले चितवनमा कम्युनिष्ट पार्टी निर्माणमा भेटवालको योगदान महत्वपूर्ण रहेको बताए । भेटवालको उदारता र आत्मबल प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उनले व्यक्ति र पार्टीभन्दा पनि जनताप्रति उत्तरदायी हुने नेता भएको बताए।
सो स्मृति सभामा स्व नेता भेटवालकी छोरी सृजना भेटवालले बुबाले आफ्नो राजनीतिक जीवन सधैँ जनताका लागि समर्पित गरेको बताइन् ।
भेटवालको २०७४ चैत २१ गते काठमाडौंको वीर अस्पतालमा क्यान्सरको उपचारका क्रममा निधन भएको थियो ।