प्रदेश ५ को संसदमा भएको कुर्सी तोडफोड पार्टीको नीति र संस्कृति विपरीत: कांग्रेस प्रवक्ता शर्मा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ को संसदमा भएको कुर्सी तोडफोडको घटना पार्टीको नीति र संस्कृति विपरीत भएको बताएका छन्। प्रदेशक ५ को राजधानी र नाम तोक्ने विषयमा संसदमा दर्ता गराउने क्रममा नेपाली कांग्रेसका सांसदहरूले तोडफोड गरेका थिए।
घटनाको विरोध भएपछि प्रवक्ता शर्माले ट्विटरमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। "प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ। रोस्ट्रम भाच्नेदेखि संसदीय पद्धतिनै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेकोे दलका सांसदलाई पार्टीको संस्कृति उलंघनको स्वायत्तता विल्कुलै दिइएको छैन", शर्माले भनेका छन्।
उनले अगाडि भनेका छन्, "संसदीय ब्यवस्था कम्युनिस्टका लागि बाध्यताको,कांग्रेसका लागि रोजाईको पद्धति हो l परिमार्जित र सुसंस्कृत बनाउंदै अघि बढ्ने कर्तव्य पनि हाम्रै हो! अरुका गल्तीमा सच्याउंदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको `छिटपुट´ भनेर छोप्दैन, कठोरतापुर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं!"