वासुदेवीको यात्रा: आफैं हिंसामा परेपछि यसरी बनिन् हिंसा पीडित बालिका र महिलाकी 'न्यायदूत'
कुनै समय आफैं घरेलु हिंसा र सामाजिक दुर्व्यवहारमा परेकी कैलालीकी वासुदेवी सुनार अन्यायमा परेका असहाय बालिका र महिलालाई न्याय दिलाउन दिलोज्यान दिएर लागिरहेकी छिन्।
दुब्लो ज्यान, शिक्षाको नाममा तीन कक्षासम्मको औपचारिक पढाइ तर न्याय र अधिकारको लडाइँमा बलियो अठोट र जागरण। कैलालीकी सामाजिक अभियन्ता वासुदेवी सुनार (५०) को चिनारी हो यो।
गौरीगंगा नगरपालिका–४ सिप्रान टोलकी उनी केही दिनअघि कैलाली अदालतका एक कर्मचारीसँग चर्को स्वरले प्रश्न गरिरहेकी थिइन्– ‘यस्तो मुद्दामा पनि मिलापत्र गर्न पाइन्छ ? गरीबका छोरीमाथि जे पनि गर्न पाइने हो र ? दुःखी–गरीबले बाँच्न नपाउने ?’
कैलालीकी ९ वर्षीया बलात्कृत बालिकाको न्यायका लागि उनी अदालत पुगेकी थिइन्। विपन्न परिवारकी ती बालिकाको मुद्दा पैसाको आडमा कमजोर बनाउने र पीडकलाई उन्मुक्ति दिने चलखेल भएको भन्दै उनी आक्रोश पोखिरहेकी थिइन्।
न्यायप्रति उनको यस्तो लगाव हुनुको कारण के हो भने, उनी आफैं घरेलु हिंसामा परेर पटकपटक अदालत धाएकी छिन्। परिवार र छिमेकीले दिएको पीडा विरुद्ध न्यायालयको ढोका ढक्ढक्याएकी उनी अन्यायमा परेका हरेक बालिका र महिलाको सहयोगमा लागिपर्छिन्।
कमजोरमाथि अन्याय हुने र उसलाई साथ नदिने कोही नहुने वासुदेवीको अनुभव छ। “न्याय पाउन कति कठिन छ भन्ने कुराको म आफैं भुक्तभोगी हुँ। पीडितको पक्षमा आवाज उठाइदिने संस्कार नभएकाले पनि हिंसापीडितको लागि आवाज उठाउने गरेकी छु”, उनी भन्छिन्, “आफैंले भोगेको पीडा भुल्न र अरु पीडितको आवाज बन्न साथ दिने गरेकी छु।”
त्यो चरम पीडा, अन्याय विरुद्धको यो लडाइँ
वासुदेवीले भोग्नुपरेको पारिवारिक र सामाजिक हिंसाको दुश्चक्र गहिरो छ, जसले उनलाई अन्याय विरुद्धको लडाइँमा होमिन ऊर्जा दियो।
उनको २०४६ सालमा वीरबहादुर सुनारसँग विवाह भयो। तर, दुई जनाको पवित्र सम्बन्ध जोडिने विवाहकै दिन दाइजोको लेनदेनमा विवाद हुँदा मण्डपमै दुलाहा र दुलही पक्षबीच कुटाकुट भयो। गाउँलेहरुको सहयोगमा मिलापत्र गरी विवाह त सम्पन्न भयो, तर तिक्तताको बीउ त दाइजो प्रकरणले रोपिसकेको थियो। उनले श्रीमान्बाट माया र साथ कहिल्यै पाइनन्। उल्टै घरेलु हिंसाबाट प्रताडित हुन थालिन्।
वासुदेवीको विवाहकै दिन दाइजोको लेनदेनमा विवाद हुँदा मण्डपमै दुलाहा र दुलही पक्षबीच कुटाकुट भयो। गाउँलेहरुको सहयोगमा मिलापत्र गरी विवाह त सम्पन्न भयो, तर तिक्तताको बीउ त दाइजो प्रकरणले रोपिसकेको थियो। उनले श्रीमान्बाट माया र साथ कहिल्यै पाइनन्। उल्टै घरेलु हिंसाबाट प्रताडित हुन थालिन्।
वासुदेवीले पहिलो पटक २०४९ सालमा इलाका प्रहरी कार्यालय चौमालामा घरेलु हिंसाको उजुरी हालिन्। प्रशासनले दुवै जनालाई बोलाएर मिलापत्र गराइदियो। श्रीमान्–श्रीमती कागजमा त मिले, तर मन मिलेन। फलस्वरुप उनी महीनैपिच्छे चौकी धाउन थालिन्। करीब २०/२२ पटक न्यायको याचनासहित जाँदा प्रहरीले भने ‘लोग्ने–स्वास्नीको झगडा, परालको आगो’ भन्दै मिलापत्र गरी घर पठाइदिन्थ्यो।
१० वर्षअघि भने उनले गाउँलेहरूबाट समेत दुर्व्यवहार भोग्नुपर्यो।
२०६७ असारको कुरा हो, गाउँमा धमाधम रोपाइँ चलिरहेको थियो। तर, वासुदेवीको खेतमा भने रोपाइँको सुरसार नै थिएन। श्रीमान्सँग झगडा परेर बोलचाल नभएको दुई महीना बितिसकेको थियो। गुजाराको लागि धान त रोप्नु नै थियो। उनले छोरीलाई पल्लो घरबाट बोलाएर ल्याउन अह्राइन्।
७ असारको त्यो दिन झमझम वर्षे झरी दर्किरहेको थियो। उनका श्रीमान् पटकपटक बोलाउँदा पनि आएनन्। त्यसपछि काम चलाउन आमा र छोरीले कोदालोले खेत खन्न थाले। तर, कोदालोले खनेर रोपाइँको खेत तयार पार्न कसरी साध्य चल्थ्यो !
“नसकेपछि छोरीलाई जा गोरु खोल्, म जोत्छु भनें। पछि मैले राम्रोसँग खेतमा किलवाई र पटेला लगाएँ”, उनी सम्झिन्छिन्।
हलो बोकेर खेतमा लैजानेसम्म गरे पनि उनले त्यसअघि कहिल्यै हलो जोतेकी थिइनन्। महिलालाई हलो जोत्न नदिने सामाजिक चलन नै थियो। उनी खेत जोत्न व्यस्त थिइन्, त्यत्तिकैमा एकछिनपछि उर्लिएर गाउँलेको एउटा टोली आयो।
“मेरै श्रीमान्सहित पूरै गाउँले आएर मलाई घेरे, मोसो दलेर जुत्ताको माला लगाए। गाउँ घुमाए, र अनेक थरी गाली बेइज्जती गर्दै गाउँबाट निकाला गरे”, गला अवरुद्ध पार्दै त्यो अमानवीय व्यवहार सम्झिइन्।
सामाजिक मान्यता भत्काउँदै वासुदेवीमा हलो जोत्ने आँट चाहिं कसरी आयो त ? उनलाई एउटा कार्यक्रममा पाएको ढाडसले कुप्रथा विरुद्ध उभिने तागत मिलेको रहेछ।
गाउँमै आयोजना गरिएको महिला अधिकारसम्बन्धी एउटा तालिममा सहभागी हुँदा प्रशिक्षकलाई उनले सोधेकी रहिछन्, ‘कुनै महिलाले हलो जोत्न किन हुँदैन ?’
जवाफमा प्रशिक्षकले भने, ‘जसको घरमा पुरुष छैनन्, श्रीमान् सहयोगी छैनन्। छरछिमेकले सहयोग गर्दैनन्। यस्तो अवस्थामा के महिलाले खेत बाँझै राख्नु ? कानूनले हलो जोत्ने कार्य दण्डनीय मानेको छैन। बरु महिलाले हलो जोते नराम्रो व्यवहार गर्ने समाज विरुद्ध सार्वजनिक मुद्दा लाग्छ।’
यति सुनेपछि वासुदेवीको मुटु बलियो भयो। श्रीमान् र गाउँलेले सहयोग नगरेपछि परिबन्दले जुराएको जिम्मेवारी अनुसार उनले हलो जोतिन्। तर, त्यो अग्रसरता उनका असहयोगी श्रीमान् र छिमेकीलाई चुनौती भइदियो, र उनी पूरै बस्तीबाटै सामाजिक बहिष्करणमा परिन्। सहाराविहीन र मानसिक रुपमा विक्षिप्त भइन्।
श्रीमान् र गाउँलेले सहयोग नगरेपछि परिबन्दले जुराएको जिम्मेवारी अनुसार वासुदेवीले हलो जोतिन्। तर, त्यो अग्रसरता उनका असहयोगी श्रीमान् र छिमेकीलाई चुनौती भइदियो, र उनी पूरै बस्तीबाटै सामाजिक बहिष्करणमा परिन्। सहाराविहीन र मानसिक रुपमा विक्षिप्त भइन्।
औपचारिक शिक्षामा ३ कक्षासम्म पढेकी उनले गैरसरकारी संस्थाबाट सञ्चालित महिला सशक्तीकरण परियोजनाबाट प्रौढ शिक्षा पढेकी थिइन्। त्योसँगै बालविवाह, बहुविवाह, चेलीबेटी बेचबिखन रोकथाम सम्बन्धी कक्षा लिएकी उनी त्यस्तो सचेतना अभियान गाउँमा चलाउन खोजिरहेकी थिइन्। त्यही समयमा हलो प्रकरणले उनी गाउँबाटै विस्थापित भइन्।
गाउँ निकाला भएपछि कहाँ जाने कुनै अत्तोपत्तो थिएन। त्यही दिन उनले घटनाबारे आफूलाई तालिम दिएको धनगढीमा रहेको महिला पुनर्स्थापना केन्द्र (ओरेक) लाई जानकारी दिइन्। ओरेकले घटनाबारे प्रहरीसहित सबै सरोकारवाला निकायलाई खबर गर्यो। त्यही दिन उनी प्रहरीको सहयोगमा छोरीसहित धनगढी पुगेर ओेरेकको सुरक्षित आवास गृहमा बस्न थालिन्।
त्यसपछि कानूनी उपचारको बाटो खोजिन्। जिल्ला कानूनी सहायता समिति कैलालीका प्रमुख तथा अधिवक्ता देवीलाल चौधरी मार्फत जिल्ला अदालत कैलालीमा घरेलु हिंसा (कसुर सजाय) ऐन अन्तर्गत श्रीमान् वीरबहादुर र १२ जना छिमेकी विरुद्ध सार्वजनिक अपराध अन्तर्गत मुद्दा दायर गरिन्।
अदालतको २३ फागुन २०६७ को फैसलाले उनका श्रीमान्लाई ६ महीना कैद र रु. २१ हजार जरिवाना भयो भने अन्यलाई १०/१० हजार जरिवाना गरायो।
मुद्दा फैसला भएपछि कमाइको लागि भारतको पञ्जाब पुगिन्। चार वर्षपछि फर्केर आइन्।
यति अन्तरालमा श्रीमान्को सोच फेरियो होला भनेर सम्बन्ध जोड्ने प्रयास गरिन्। तर, श्रीमान्ले स्वीकारेनन्। हलो प्रकरणको १० वर्षपछि २०७६ असोजमा श्रीमान् उनीसँग माफी माग्न आए। “माफी पनि दिएँ। चार महीना घरबार राम्रोसँग चल्यो। तर खै किन हो, श्रीमान्ले ३ माघमा घरमै आत्महत्या गरे”, उनले भनिन्।
त्यसपछिका दिनमा वासुदेवीले सामाजिक सेवामा आफूलाई समर्पित गर्दै आएकी छिन्। आफूलाई मोसो दलेर गाउँ निकाला गर्ने तिनै गाउँलेसँग हातेमालो गरी उनी समाज सुधार, विकास–निर्माण र न्यायको लागि आवाज उठाइरहेकी छन्।