गृहमन्त्री थापाले सच्याए बलात्कारका विषयमा दिएको विवादास्पद अभिव्यक्ति
गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाका विषयमा आफूले दिएको अभिव्यक्तिले केही अलमल निम्त्याएको बताएका छन्।
विश्वको तुलनामा नेपालमा बलात्कार र महिलाहिंसाको अवस्था चिन्ताजनक छैन भनेर दिएको अभिव्यक्ति विवादमा आएपछि थापाले त्यसले अलमल निम्त्याएको स्वीकार गरेका हुन्।
राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा आज भएको छलफलमा थापाले अन्य देशहरूको तुलनामा नेपालको अवस्था चिन्ताजनक नरहेको विश्लेषण गरेपछि केही अलमल भएकाले अबदेखि सजगता अपनाउने बताए। थापाले गत बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भएको छलफलमा विश्वका २ सय बढी मुलुकको तथ्याङ्क विश्लेषण गर्दा नेपालको अवस्था चिन्ताजनक नरहेको बताएका थिए।
उनले नेपालमा प्रतिदिन ६-७ वटा बलात्कारका घटना घट्ने गरेको पनि बताएका थिए। आज समितिमा भएको छलफलमा सांसदहरूले अन्य देशको तुलना गरी नेपालको अवस्था चिन्ताजनक छैन भन्न नहुने बताएपछि गृहमन्त्री थापाले आफुले अब सजगता अपनाउने बताए।
समिति छलफलमा गृहमन्त्री थापाले नेपालमा कोरोनापछि बलात्कारका घटना वृद्धि भइरहेको पनि बताए। विगत वर्षहरूको तथ्याङ्क हेर्दा यो वर्ष घटनाहरू बढ्न सक्ने उनले बताए। सरकारले बलात्कार, महिला हिंसा र दलित समुदायमाथि हुने हिंसा न्यूनिकरणका लागि शून्य सहनशीलताको नीति अपनाएर अघि बढेको पनि उनले बताए।
सांसद उदया शर्मा पौडेलले प्रतिदिन ७ जना महिला बलात्कारको शिकार हुने तथ्याङ्क रहेकोमा गृहमन्त्रीले आत्तिनुपर्ने अवस्था छैन भनेर भन्न नहुने बताए। सांसद राम लखन चमारले उत्पीडन वर्गले प्रहरी प्रशासनबाट अपेक्षाकृत न्याय पाउन नसकेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए। सांसद इन्दु कडरियाले महिला हिंसाका घटना बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरिन्। पीडित महिला आफै उजुरी दिन जाँदा प्रहरीले उजुरी नलिने गरेका घटनाहरू पनि बाहिर आएकाले छानबिन गरी कडा कारवाही गर्न उनले आग्रह गरिन्।
गृहमन्त्री थापाले महिला हिंसाका घटना न्यूनिकरणका लागि सरकार गम्भीर रहेको बताएका छन्। पछिल्लो समय देशका विभिन्न ठाउँमा महिलामाथि हुने हिंसाका घटनाहरू बढीरहेका छन्।