गुण्डानाइकेसँग भेटियो रु. १ अर्ब बढीको सम्पत्ति, जफत गर्न माग गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले 'बले' भनिने बलराम सापकोटा र उनकी श्रीमतिविरुद्ध झण्डै रु. २० करोडको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ। उनी र उनकी श्रीमतिको नाममा भेटिएको सम्पत्तिको स्रोत नखुलेपछि विशेष अदालतमा सोमबार मुद्दा दायर गरिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए।
विभागले सापकोटा र उनकी श्रीमतिको नाममा भेटिएको झण्डै रु.१ अर्ब बराबरको स्रोत नखुल्ने सम्पत्ति जफत गर्न पनि मागदाबी गरेको छ।
सापकोटाको काठमाडौं, झापा तथा काभ्रेका विभिन्न ठाउँमा घरजग्गा तथा गाडी फेला पारेको थियो। झापामा मात्रै उनको १३ बिघा जग्गा फेला पारेको थियो। त्यस्तै, काभ्रेमा पाँच रोपनी जग्गा तथा काठमाडौंका विभिन्न हाउजिङ र कोलोनीमा घर भेटिएको थियो। त्यस्तै, उनीसँग निजी सवारी साधन पनि छन्।
ती सबै सम्पत्तिको मूल्य करिब रु. १ अर्बजति हुने अनुमान गरिएको भट्टराईले बताए। तर, त्यसको वैध आर्जनको स्रोत नभएको विभागले दाबी गरेको छ। सापकोटाविरुद्ध रु. १७ करोड ५२ लाख र उनकी श्रीमति विरुद्ध रु. २ करोड ५८ लाखको सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाइएको छ।
विभागले सापकोटाविरुद्ध अवैध हातहतियार, मानव बेचविखनसहितका पनि लगाएको छ।
काभ्रे घर भएका सापकोटा जुवा तथा यससँग सम्बन्धित अवैध गतिविधिमा संलग्न थिए। 'क्यासिनो किङ' भनिने बलेलाई गत वर्ष तिहारमा प्रहरीले काठमाडौंमा एक जुवाको खालबाट पक्राउ गरेको थियो। जुवा खालमा उनको साथबाट ठूलो रकम नभेटिए पनि अनुसन्धानका क्रममा उनको सम्पत्ति तथा आय आर्जनको स्रोत पुष्टि हुन नसकेपछि मुद्दा दायर गरिएको हो।
विभागले सापकोटा र उनकी श्रीमति दुबैबाट बिगो तथा बिगो बराबरकै जरिवाना माग दाबी गर्दै मुद्दा चलाएको हो। उनको नाममा रहेको घरजग्गा र गाडीसहितका स्थिर सम्पत्ति जफत गर्न पनि मागदाबी गरिएको छ।
काठमाडौंको अन्नपूर्ण होटलमा काम गर्दागर्दै क्यासिनो कारोबारमा संलग्न हुनथालेका सापकोटा क्यासिनो खेल्न आउनेलाई चक्रीय ब्याजमा रकम लगानी गर्ने धन्दा चलाउँथे। नेपालीलाई क्यासिनो प्रवेशमा रोक लगाइएपछि उनी जुवाका अरु गतिविधिमा संलग्न भएको अनुमान गरिएको छ। उनी अवैध हातहतियारको गतिविधि, मानव बेचबिखन, गुण्डागर्दी लगायतका क्रियाकलापमा संलग्न भएको अभियोग छ। झापामा सापकोटासहितको लगानीमा मेची क्राउन प्लाजा नामक पाँचतारे होटल सञ्चालनमा छ।