श्रीमान लगायतले दिसा खुवाएकी महिलाको मुद्दा कमजोर बन्दै, प्रहरी मुचुल्का भन्छ– ‘दिसा खुवाइएको छैन’
परपुरुषसँग सम्बन्ध राखेको भन्दै आफ्नै श्रीमान र गाउँले मिलेर दिसा खुवाइएकी र कपाल मुण्डन गरेर अमानवीय व्यवहार गरिएकी महिलाको मुद्दा कमजोर हुन थालेको छ। प्रहरीले घटनाबारे तयार पारेको स्थलगत मुचुल्काले मुद्दा कमजोर बन्ने संकेत गरेको हो।
हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ७, डाँडाफया (ओख्रेन)की २३ वर्षिया महिलालाई श्रीमान धनबहादुर शाहीको नेतृत्वमा गाउँलेहरुले दिसा खुवाएर कपाल मुण्डन गरेको र जुत्ताको माला लगाएर मरणासन्न हुनेगरी कुटपिट गरेपछि प्रहरीले उद्दार गरेर सदरमुकाम सिमकोट ल्याएको थियो। शुक्रबार बिहान गाउँकै देवर नाता पर्ने व्यक्तिसँग सम्बन्ध राखेको भन्दै श्रीमानसहित मिलेर कुटेको, दिसा खुवाइएको र कपाल मुण्डन गरिएको प्रहरीले जनाएको थियो।
त्यसको तीन दिनपछि प्रहरीले नै तयार पारेको घटनाको प्रकृति मुचुल्कामा उनलाई ‘दिसा नखुवाइएको’ उल्लेख छ। आइतबार जिल्ला प्रहरी कार्यालय हुम्ला र धारापोरी प्रहरी चौकीबाट खटिएको टोलीले स्थानीय जनप्रतिनिधिको रोहवरमा श्रीमान्को नेतृत्वमा केही व्यक्तिले ती महिलाको कपाल मुण्डन गर्ने र कुटपिट गरेको साँचो भएपनि दिसा नखुवाएको मुचुल्का तयार पारेको हो।
“सामुहिक रुपमा अपराध गरेको विषय बाहिर आउँदा पनि जिल्लाका राजनीतिक दलको आडमा जनप्रतिनिधि र प्रहरीले पिडितलाई थप पिडा दिने काम शुरु गरेका छन्”, महिला अधिकारकर्मी गंगा बोहोराले भनिन्, “आफैले उद्दार गरेर ल्याएको घटनामा तीन दिन नबित्दै प्रहरीले जानीजानी प्रमाण नष्ट गर्ने काम गरेको छ ।” घटनापछि पीडित महिला र केही प्रत्यक्षदर्शीले समेत दिसा खुवाएको बताएका थिए।
प्रहरीले भने स्थानीय जनप्रतिनिधिले हस्ताक्षर गर्न नमान्दा स्थलगत मुचुल्कामा दिसा खुवाइएको कुरा उल्लेख गर्न नसकिएको जनाएको छ। तीन दिनपछि घटनाको स्थलगत मुचुल्काका लागि आइतबार घटनास्थल रहेको गाउँ पुगेको टोलीमा रहेका एक प्रहरीले भने, “स्थलगत मुचुल्कामा जनप्रतिनिधिलाई हस्ताक्षर गराउनु पर्ने हुन्छ, तर डाँडाफयाको घटनामा दिसा खुवाएको शब्द राख्ने बित्तिकै दोहोरो झडपको स्थिति आएपछि उक्त शब्द नराखिएको हो।”
नाम उल्लेख गर्न नचाहेका ती प्रहरीले दिसा खुवाएको मुचुल्का बन्नेबित्तिकै मुद्दाको स्वरुप अर्कै बन्ने आकलन गरेर विभिन्न दलबाट समेत दवाव परेपछि जनप्रतिनिधिसहितका गाउँलेले प्रहरीमाथि नैं आक्रमण गर्ने स्थिति पैदा भएको थियो। “त्यसपछि हामीले सिनियरहरुलाई सोध्यौं, उहाँहरुकै आदेशमा दिसा खुवाएको शब्द नराखेर मुचुल्का तयार पारिएको हो”, उनले भने।
सात जना विरुद्द जाहेरी दर्ता
प्रहरीले यो घटनामा संलग्न भएको आरोपमा सातजना विरुद्ध जाहेरी दर्ता गरेको छ। मुलुकी अपराध संहिता २०७४ को दफा १६८ को उपदफा ‘घ’ बमोजिम पीडितका श्रीमानसहित सातजना विरुद्ध जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरक्षक सुर्यप्रकाश सुवेदीले जानकारी दिए।
पीडित महिलाका श्रीमान २६ वर्षीय धनबहादुर शाही, उनका दाजु ३८ वर्षीय हरिबहादुर शाही, गाउँकै ३० वर्षीय शेरबहादुर शाही, २२ वर्षीय पुष्कर शाही, २१ वर्षीय राज शाही र ४० वर्षीय मानबहादुर सिंहविरुद्ध जाहेरी दर्ता भएको हो।