तीन दिन देशभर मौसम प्रभावित हुने
पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुकोे प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गए रातिदेखि कमजोर रूपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हल्कादेखि मध्यम वर्षा गराउने महाशाखाका मौसमविद् मञ्जु बासीले बताए ।
उक्त प्रणाली क्रमशः विकसित भई आगामी शनिबारसम्म कायम रहने बताइएको छ । काठमाडौं उपत्यकामा आज दिउँसो केहीबेर मौसम खुला भई घाम लाग्नेछ र अन्य स्थानमा भने तत्काल मौसम सफा हुने अवस्था नरहेको मौसमविद् बासीले जानकारी दिए ।
राति देशको पूर्वी र मध्य भूभागमा आंशिक बदली रही पश्चिमी भू–भागका एक–दुई स्थानमा मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ । शुक्रबार देशको मध्य भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रबार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औँल्याइएको छ ।
उच्च हिमाली भूभागहरूका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ८ डिग्री र अधिकतम तापक्रम २६ दशमलव ६ डिग्री सेल्सियस छ । यस्तै धनगढीको अधिकतम तापक्रम सबैभन्दा बढी ३५ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।