कांग्रेसको कोभिड-१९ अनुगमन समिति भन्छ- 'संक्रमित आफैंले सम्पर्क गर्दा पनि सरकारले वास्ता गरेन'
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमणको रोकथाममा सरकारी उदासिनताले पराकाष्ठा नाघेको जनाएको छ। संक्रमितहरूको सम्पर्कमा आएकाको ट्रेसिङ गरी परीक्षण र आइसोलेसनको व्यवस्था गर्नुपर्नेमा संक्रमण देखिएकाहरूको समेत उचित आइसोलेसनको व्यवस्था सरकारले नगरेको आरोप कांग्रेसले लगाएको छ।
"विशेषत काठमाडौं उपत्यकामा जसको आइसोलेसनमा बस्न उचित व्यवस्था छैन, जो डेरामा बस्छन् या घरै भए पनि मापदण्ड अनुरुप बस्ने व्यवस्था छैन, उनीहरूको बिचल्ली भएको छ। यी संक्रमितहरूबाट थप संक्रमण फैलने परिस्थिति बनेको छ", कांग्रेसका सहमहामन्त्री एवं कोभिड-१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
डेरामा बस्ने वा बाहिरबाट आएर परीक्षण गरेर पोजिटिभ देखिएकाहरूले सरकारी निकायमा फोन गरी आइसोलेसनमा राख्न माग गरे पनि केही दिनपछि सम्पर्क गर्नु भनेर पन्छाएको आरोप विज्ञप्तिमा लगाइएको छ। सरकारले बेवास्ता गरिदिंदा संक्रमितहरूले आफू संक्रमित भएको कुरा लुकाएर बस्नु पर्ने परिस्थिति बनेको र संक्रमण झन बढ्ने खतराप्रति सरकार पूरै उदासीन बनेको कांग्रेसले जनाएको छ।
मापदण्ड अनुरुपको बस्ने व्यवस्था नभएका संक्रमितहरूलाई अनिवार्य रुपमा सरकारले आइसोलसनको उचित व्यवस्था गर्न र कोभिड–१९ को लक्षणहरु देखिएका संक्रमितहरूलाई अस्पतालमा उपचारको व्यवस्था गर्न कांग्रेसले सरकारसँग माग गरेको छ।