तेजाब पीडितहरुका सारथिः एउटा मान्छेको साथले फरक पार्दछ जिन्दगीमा...
राष्ट्रपति विद्यादेवी भण्डारीले गएको १२ असोजमा तेजाब बेचबिखनलाई नियमन गर्ने र आक्रमणकारीलाई कडा कारबाही गर्ने सम्बन्धी दुई अध्यादेश जारी गरेपछि भारतबाट अमिताभ बच्चनले फोन गरेर उज्ज्वलविक्रम थापालाई बधाई दिए। उज्ज्वलका लागि त्यो बिर्सिनसक्नुको दिन भयो।
तेजाब आक्रमणमा परेका जेनी खड्का, विन्दावासिनी कंसाकार र संगीता मगर गएको ११ असोजमा पहिलोपटक रोजगारीका लागि घरबाहिर पाइला चाल्दै थिए। तीनै जनाले कुमारी बैंकमा रोजगारी पाएका छन्। तेजाब आक्रमणबाटै घाइते राजाराम थापाले पनि अघिल्लो हप्ता महान्यायाधिवक्ताको कार्यालयमा करारमा नियुक्ति पाएका छन्। अरु दुई जनाले पनि विद्यालयमा निःशुल्क छात्रवृत्ति पाएका छन्।
सरकारले गरेको एउटा निर्णयले यो परिवर्तन संभव भएको थियो। गएको ८ असोजमा मन्त्रिपरिषद् बैठकले तेजाब र अन्य घातक रासायनिक पदार्थ बेचबिखनलाई नियमन तथा तेजाबजन्य पीडकलाई कडा कारबाही गर्ने सम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय पठाएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले १२ असोजमा दुवै अध्यादेश जारी गरिन्।
योसँगै तेजाब आक्रमणमा परेकाहरुको जीवन परिवर्तन हुन थालेको छ। यसका लागि धेरै सचेत नागरिक धन्यवादका पात्र छन्। तर, उज्ज्वलविक्रम थापा (५१) को योगदान भने भुल्नै नसकिने छ।
विगत ६ वर्षदेखि तेजाब आक्रमणमा घाइते भएकाको सेवामा उज्ज्वल आफैँ खटिइरहेका थिए। त्यही क्रममा उनले कानून बनाउन पनि ‘लबिइङ’ गरेका थिए। ‘वास्तवमा यो एसिड सर्भाइभरको जीत हो, मेरो जीत होइन,’ उज्ज्वल भन्छन्, ‘म त केवल माध्यम मात्रै हो।’
विगत ६ वर्षदेखि तेजाब आक्रमणमा घाइते भएकाको सेवामा उनी आफैँ खटिइरहेका थिए। त्यही क्रममा उनले कानून बनाउन पनि ‘लबिइङ’ गरेका थिए। ‘वास्तवमा यो एसिड सर्भाइभरको जीत हो, मेरो जीत होइन,’ उज्ज्वल भन्छन्, ‘म त केवल माध्यम मात्रै हो।’
अध्यादेश जारी भएपछि उनी खूब खुशी भए। किनभने पीडितको प्राथमिक उपचारदेखि तोकिएका अस्पतालसम्म ल्याउने र तेजाबको जलनले हानि भए आजीवन उपचार गर्ने जिम्मेवारी सरकारले लिएको छ।
त्यसदिन उनी ढुक्क भए। यसका महत्वपूर्ण कारण छन्। जस्तो, अब संगीता मगरको थाती रहेका कैयौँ सर्जरी हुने भए। अब विन्दावासिनी कंसाकारको औषधिउपचारमा लागेको रु.१ करोड ८४ लाखको ‘मेडिकल बिल’ अदालतले सदर गर्ने भयो। अब कसैको अगाडि हात थाप्नु नपर्ने भयो। अब तेजाब छ्याप्छ्याप्ती नपाइने भयो।
विन्दावासिनी कंसकारलाई रु.७० को तेजाब छ्यापिएको थियो। तर औषधिउपचारमा झन्डै रु.२ करोड खर्च भइसकेको छ। उज्ज्वल भन्छन्, “हुन सक्छ, त्यो ७० रुपैयाँको एसिड बेच्ने व्यापारीले २० रुपैयाँ कमायो होला।” अब त्यसरी २० रुपैयाँका लागि एसिड बेच्न नपाइने भएको छ।”
६ वर्षको अन्तरालमा ‘तेजाब छ्याप्दिन्छु’ भन्ने धम्की खप्ने हजारौँ पीडितहरु आफ्नो सम्पर्कमा आएको उनी बताउँछन्। त्यसैले तेजाबको भयावह मानसिकता समाजमा व्याप्त छ। उनी भन्छन्, “यो कानून अहिले देखिएका १७ घटना र १९ जनाको लागि मात्र आएको होइन।”
तेजाब आक्रमणमा घाइते हुनेको घाउचोट हेरेर शारीरिक पीडालाई मात्र मापन गर्ने कानून बदलिएकोमा उनी ज्यादै खुसी छन्। पहिलोपटक २०७१ सालमा तेजाब आक्रमणमा परेकी संगीता मगरको घटनापछि पीडितको घाउचोट हेरेर खर्च भर्पाइ गर्ने नियम थियो।
हालै जारी भएको अध्यादेशले तेजाब आक्रमण सहन बाध्य शारीरिक, मानसिक, मनोवैज्ञानिक तथा सामाजिक पीडालाई समेत सम्बोधन गरेको छ। उतिवेलै सर्वोच्च अदालतले तेजाबको बिक्रीवितरण नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको थियो। तर, निर्देशन पालना भएन। यसर्थ पछिल्ला घटनामा सरकार पनि जिम्मेवार भएको उज्ज्वल बताउँछन्। सर्वोच्चले यस्तो निर्देशन दिंदा हाल अध्यादेश बनाउन भूमिका खेल्ने महान्यायाधिवक्ता अग्नि खरेल नै कानून मन्त्री थिए।
अध्यादेश पारित भएपछि भने उनलाई भारतबाट कलाकार अमिताभ बच्चनको मात्र होइन ‘एसिड सर्भाइभर’ लक्ष्मी अग्रवालको पनि फोन आयो। बलिउडको चलचित्र ‘छपाक’ उनकै जीवनीमा आधारित छ। उनले पनि उज्ज्वललाई बधाइ दिइन्। उनले फोनमा भनेकी थिइन्, '२० वर्षदेखि हामी भारतमा यसैका लागि लडिरहेका छौँ र पनि केही हुनसकिरहेको छैन। न संघ न संस्था, तपाईं एक्लैले कसरी यो सम्भव भयो ?'
लक्ष्मीले उज्ज्वललाई यो लडाइँको आफ्नो अनुभव सुनाउन भारत जाने निम्तो दिएकी छिन्। भारतमा पनि नेपालको जस्तो कानून बनाउन पहल गर्ने भन्दै उनले अंग्रेजीमा उल्था गरी पठाउनसमेत आग्रह गरेकी छिन्। नेपालको कानून अन्य देशका लागि नमूना भएको थाहा पाउँदा उनी गर्व महसूस गर्छन्।
उनले कानून निर्माण गर्न संसदीय समितिमा एजेन्डासहित माग पेश गरेका थिए। तेजाब प्रयोग गरी हुने अपराधका लागि ‘फास्ट ट्रयाक कोड’ लागू गर्नुपर्ने माग राखेका थिए।
‘आफ्नै छोरीहरुको अनुहार देखेँ’
यसरी ६ वर्षदेखि अनवरत रुपमा एसिड विरुद्धको अभियानमा लाग्ने प्रण आखिर उज्ज्वलले कसरी गरे त ? यस प्रश्नको पहेली फुकाउँदा उनी तेजाब आक्रमणको पहिलो घटना स्मरण गर्छन्।
उनको ध्याउन्नै समाजसेवा थियो। अलपत्र परेकाहरुलाई सहयोग गर्न अस्पताल चहार्थे। १० फागुन २०७१ मा सिन्धुलीबाट शल्यक्रियाका लागि आएका वृद्धलाई भेट्न बिहानै वीर अस्पताल पुगेका थिए। पोष्ट अपरेटिभ वार्डमा बसेर वृद्धकी श्रीमती र छोरालाई सम्झाउँदै उनले धेरै बेर कुरा गरे। त्यसपछि तल ओर्लिँदा अस्पताल प्राङ्गणमा ठूलो भीड थियो।
उनी भीड भएतिर लम्किए। भीडबाट आवाज आयो, ‘एसिड छ्यापिएकी केटी ल्या‘को छ रे!’
उनले एसिड छ्यापिएको मान्छे देखेका थिएनन्। एसिड छ्याप्दा कस्तो हुन्छ? थाहा पाउने हुटहुटीले उनी भीड छिचोल्दै ‘इमर्जेन्सी वार्ड’ पुगे। उनले सुने छटपटाइरहेको चेतनाशून्य आवाज। अनि, जलेर सुन्निएको बडेमानको टाउको।
ट्युसन पढ्न गएकी संगीता मगरलाई त्यस्तो हालतमा देख्दा उनी छाँगाबाट खसेजस्तै भए। विज्ञानका किताब र प्रयोगशालामा प्रयोग हुने तेजाब मात्रै बुझेका थापाले झल्याँस्स स्कूल जाने आफ्ना तीन छोरीहरु सम्झिए। अनि अतालिएको मानसिकतामा घर फर्किए।
संगीताको दृश्य कसै गरे पनि आँखाबाट ओझेल नपरेपछि उनी सोही दिन बेलुका ६ बजेतिर पुनः वीर अस्पताल पुगे। संगीतासँगै एसिडबाट घाइते भएकी सीमा बस्नेतलाई पनि भेटे। सीमाका हजुरआमालाई भेटेर उनले हौसला दिने प्रयास गरे।
“ती नानीहरुको ठाउँमा आफ्ना छोरीहरुलाई राखेर हेर्ने आँटै गर्न सकिनँ। पहिलोपटक मलाई जीवनमा यति लाचार महसूस भयो”, उज्ज्वल भावुक हुँदै भन्छन्। आफूले महसूस गरेको लाचारीपनबाट छुटकारा पाउन उनले संगीतालाई सहयोग गर्नतिर लागे।
तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र गृहमन्त्री वामदेव गौतमको सहयोगमा उनले संगीताको औषधिउपचार निःशुल्क बनाउनुका साथै अस्पतालको बेडबाटै एसएलसी परीक्षा दिने प्रबन्ध मिलाए। त्यति मात्रै नभएर उनले संगीता र सीमा दुवैको उच्च शिक्षाका लागि नोबेल एकेडेमी कलेजका प्राध्यापक नवराज पाण्डेको सहयोगमा निःशुल्क छात्रवृत्ति पनि मिलाए।
यसरी बने अभियन्ता
संगीता र सीमामाथि भएको तेजाब आक्रमण अन्तिम भएन। लगातार यस्ता घटना हुन थाले। ती पीडितलाई सान्त्वना दिन र आर्थिक सहयोग गर्न दौडँदा दौडँदै उनी तेजाबबाट हुने हिंसाविरुद्धको अभियन्ता बन्न पुगे।
“ती नानीहरुको ठाउँमा आफ्ना छोरीहरुलाई राखेर हेर्ने आँटै गर्न सकिनँ। पहिलोपटक मलाई जीवनमा यति लाचार महसूस भयो”, उज्ज्वल भावुक हुँदै भन्छन्। आफूले महसूस गरेको लाचारीपनबाट छुटकारा पाउन उनले संगीतालाई सहयोग गर्नतिर लागे।
तेजाब आक्रमणबाट घाइते भएकी रौतहटकी सम्झना दासको मृत्युसँग साक्षात्कार गर्नु नपरेको भए शायदै उज्ज्वल अभियन्ताको रुपमा खरो रुपले उत्रने थिए। भदौ २०७५ मा सम्झना र सुस्मिता दासलाई मध्यरातमा सुतिरहेको वेला घरभित्र छिरेर छिमेकीले तेजाब प्रहार गरेका थिए।
उज्ज्वलले सम्झनालाई आईसीयूमा देख्दा आत्तिए। लामो श्वास फेरे। “काठको मुडा जलेर पानी परेपछिको जस्तै टाटेपाटे स्वरुप थियो। अनुहार, छाती र मेरुदण्ड गरी ४२ प्रतिशत शरीर जलेको थियो। स्तन पग्लिएर कम्मरसम्म पुगेको थियो” उज्जवल भावुक हुँदै भन्छन्, “१२ दिनसम्म लगातार बचाउने प्रयास गर्दागर्दै पनि सकिएन।” त्यसपछि पनि अस्पतालमा तिर्नुपर्ने पैसा बाँकी हुँदा शव उठाउन दिइएन। त्यसै दिन उनले सम्झनासँग मनमनै प्रण गरे। ‘यो अपराध म नरोकी छाड्दिनँ !’
त्यसपछि उनी अभियन्ता बने। सहयोग पनि जारी राखे। तेजाब आक्रमणमा परेकी संगीता मगरको अनुहारको एकापट्टिको भाग पूरै जल्दा एसिडले नाकको हड्डी खाएको छ। नाकबाट सास फेर्न नसके पनि चिकित्सकले तिघ्राको मासु ‘ग्राफ्टिङ’ गरी पाइप राखेर नाकको स्वरुप बनाइदिएका थिए र श्वास नलीको पाइपसँग जोडेर एउटा कानतिर लगेका थिए।
अहिले पनि संगीता त्यही कानबाट सास फेर्छिन्। एउटा कानले सास फेर्नुपर्ने भएकाले सात वर्षदेखि उनी एकापट्टि मात्रै फर्किएर सुत्छिन्। संगीतालाई नाकबाट श्वास फेर्न आवश्यक सर्जरीका लागि रु.१७ लाखदेखि १८ लाखको अभाव थियो। “आजीवन औषधोपचार हुने गरी कानून बनेपछि अब संगीताले नाकबाट श्वास फेर्न पाउने भएकी छन्”, उज्ज्वल भन्छन्।
एउटै विस्तारामा सुतिरहेको वेला गत वर्ष फागुनमा श्रीमतीले तेजाब छ्यापिदिएपछि रामराजा थापाको अनुहारलगायत आँखाको ढकनीसमेत जलेको थियो। ढकनी जलेपछि आँखा झिम्झिम नहुने भयो। धेरै वटा शल्यक्रिया गरेपछि घटना भएको लगभग पाँच महीनामा उनका आँखा बल्ल बन्द हुने भयो।
यस्ता दर्दनाक र मर्मस्पर्शी दृश्यहरुले नै उज्ज्वललाई अथक् रुपमा तेजाब हिंसाविरुद्ध लड्ने ऊर्जा दिए। तेजाबको जलनले पग्लिएका शरीर तपतप चुहिंदा कहिले उनी टिस्यू पेपर लिएर सोहोर्न जान्थे। कहिले आफ्ना छोराछोरीको स्वरुप हेर्न नसकेका बाआमालाई ढाडस दिन अघि सर्थे। कहिले औषधि सामग्री किनेर ल्याउँथे। त्यसकारण ‘एसिड सर्भाइभर’सँग मात्रै नभएर उनीहरुको परिवारसँग पनि उज्ज्वलको भावनात्मक सम्बन्ध छ। कहिलेकाहीँ त लाग्छ, ‘रगतको नाताभन्दा एसिडको नाता गहिरो हुँदोरहेछ!’
अविस्मरणीय दुई घटनाः जुन सम्झनामा आइरहन्छन्
घरायसी विवादका क्रममा काठमाडौँको कालोपुलकी जेनी खड्कालाई १ जेठ २०७६ मा उनकै पति विष्णु भुजेलले तेजाब प्रहार गरे। ओम अस्पतालमा उपचार हुन नसकेपछि उनलाई कीर्तिपुर अस्पताल लगियो। जेनीको हात, अनुहार र छाती पूरै जलेको थियो।
घटना भएको केही दिनपछि अस्पतालबाट उज्ज्वललाई फोन आयो। “कति बजे आउनुहुन्छ? एकजना १२ वर्षकी बच्ची करीब तीन घण्टादेखि तपाईंलाई कुरिराखेकी छ।” नभेटी नजाने प्रण गरेकी ‘बच्ची’लाई भेट्न उनी अस्पताल पुगे। पुग्नेबित्तिकै १२ वर्षीया बालिकाले हाँसेर नमस्कार गरिन्। झोलाबाट झिकेर खाम दिँदै उनले भनिन्, ‘उज्ज्वल सर, उहाँ (जेनी)लाई उपचार गरिदिनुस् है। म स्कूल जाँदा कसैले एसिड नछ्यापोस् है सर!’
उज्ज्वल स्तब्ध भए। खाम खोलेर हेरे। खाममा रु.२१ थियो। उत्तर दिन र नाम सोध्न नपाउँदै ती बच्ची फर्किइन्। यो घटना सम्झँदा उनी अहिले पनि भावुक हुन्छन्।
१२ वर्षीया बालिकाले हाँसेर नमस्कार गरिन्। झोलाबाट झिकेर खाम दिंदै उनले भनिन्, ‘उज्ज्वल सर, उहाँ (जेनी)लाई उपचार गरिदिनुस् है। म स्कूल जाँदा कसैले एसिड नछ्यापोस् है सर!’ खाममा रु.२१ थियो। उत्तर दिन र नाम सोध्न नपाउँदै ती बच्ची फर्किइन्। यो घटना सम्झँदा उनी अहिले पनि भावुक हुन्छन्।
त्यसपछि अर्को पनि यस्तै घटना भयो। उनी जेनीको उपचारका लागि कीर्तिपुर अस्पतालमै थिए। अनुहार ढाक्ने गरी मास्क र कालो चस्मा लगाएकी अन्दाजी २२/२३ वर्षकी एक युवती उज्ज्वललाई भेट्न आइन्। उनले भनिन्, ‘उज्ज्वल सर, जेनीलाई हेर्न दिनुस् न, प्लिज!’
‘तपाईँ जेनीको को हो?’ उनले प्रश्न गरे।
‘मलाई नहेरी भएको छैन’, उनले ढिपी कसिन्। क्यामेरा लुकाएर जेनीको भिडियो खिच्न आएको आशंका गरेका उज्ज्वल डराए। तर, ती युवतीले आफूलाई जाँच गर्न र भित्र छिराउन अनुनयविनय गरिन्। आजित भएर उनले अस्पतालका डाक्टरलाई छिनोफानो गर्न लगाए। लामो विवादपछि ती युवती जेनीलाई हेर्न आईसीयू छिरिन्। पाँच मिनेटपछि फर्किएकी ती युवती आत्तिँदै दौडेर उज्ज्वललाई गम्लङ्ग अँगालो हाल्न पुगिन्।
अक्क न बक्क भएका उनले प्रश्न गरे, ‘के भयो ?’
‘सर, म कुनैसमय तेजाबको धम्कीको बदलामा बलात्कृत भएकी थिएँ। जेनीको अवस्था ठीक कि मेरा अवस्था ठीक सर? मैले छुट्टयाउनै सकिनँ’, युवतीको काँपेको जवाफले उज्ज्वल स्तब्ध भए।
उनले ती युवतीलाई तुरुन्तै पुलिस थाना जान आग्रह गरे। तर, उनले मानिनन्। आफ्नो परिचय नखुलाएकी ती युवतीको नाम अझै उज्ज्वललाई थाहा छैन।
यस्ता अविस्मरणीय घटनाहरुले नै उनलाई आफू हिंडेको बाटो सही हो भनेर प्रमाणपत्र दिए जस्तो लाग्छ। त्यसैले उनले विश्राम लिएनन्।
यो जीवन बाँच्न ठूलो आँट चाहिन्छ
प्रहार गर्नका लागि दशाैं हजार अस्त्रहरु बनेका छन्। तर कोही कसैले एसिड नै किन रोज्छ त?
हरेक घटनाको पृष्ठभूमि नियाल्दा फितलो कानून र एसिडको सर्वसुलभता नै यसको कारक भएको उनलाई लाग्यो। अध्यादेशका लागि गृहकार्य शुरु भएपछि उनले प्रधानमन्त्री केपी ओलीसमक्ष आफ्नो अनुभव राखे। हालसम्म नेपालमा एसिड आक्रमणमा परेका १९ जना मध्ये १३ जनालाई उनले प्रत्यक्ष सहयोग गरेका छन्। सम्पूर्ण एसिड सर्भाइभरसँग उज्ज्वलको अचम्मको नाता छ। सुस्मिता दास उनलाई हजुरबा भन्छिन्। कोही दाइ, कोही बुवा, कोही अंकल भन्छन्।
उज्ज्वलले एसिड सर्भाइभरलाई भावनात्मकदेखि आर्थिक, सामाजिक र मनोवैज्ञानिक हौसला दिएका छन्। तर उनीहरुलाई उज्ज्वलले नदिएको एउटै कुरा हो, सहानुभूति। उनी भन्छन्, “म मात्रै त्यस्तो व्यक्ति हो जो सरासर अस्पताल गएर भनिदिन्थें, अब तिम्रो पहिलाको जस्तो अनुहारै हुँदैन।”
गत वर्ष भदौमा तेजाब आक्रमणमा परेकी वीरगञ्जकी १४ वर्षीय मुस्कान खातुनको कान चिकित्सकहरुले ३१ दिनसम्म जोगाउने प्रयास गरे। तर सकेनन्। ‘मुस्कान, तिम्रो कान काट्दै छ है’, अपरेसन थिएटरमा जानुअघि उज्ज्वलले भने। नहुनुपर्ने घटनाबाट गुज्रिएको भन्दैमा झूटो आशा देखाएर उनीहरु कमजोर र लाचार भएको हेर्न सक्दैन थिए, उनी। बरु सत्यसँग साक्षात्कार गराएपछि उनीहरुको मनोबल उकासिएको अनुभव गर्थे। उज्ज्वल भन्छन्, “उनीहरुलाई बरु तीन घण्टा रुन दिन्थेँ तर सहानुभूति दिन्नथें।”
यद्यपि उनीहरुको मनोबल उकास्न कुनै कसुर बाँकी राख्दैनथे उनी। मुस्कान खातुनको ९७ दिने अस्पताल बसाइमा करीब ४०० पटक त अस्पताल पुगे। गत वर्ष भदौमा स्कूल जाने क्रममा वीरगञ्जकी १४ वर्षीय मुस्कानलाई स्थानीय किशोरले तेजाब छ्यापिदिएका थिए।
उज्ज्वलले नै मुस्कानलाई प्रधानमन्त्रीलाई चिठी लेख्न लगाए। जसको फलस्वरुप एसिड हिंसा न्यूनीकरण गर्ने बलियो कानून आएको छ।
गत भदौ २५ गते अध्यादेशका लागि गृहकार्य गर्न प्रधानमन्त्रीले १२ एसिड सर्भाइभर र अभियन्ता उज्ज्वलसँग छलफल गरेका थिए।
बैठक सकिएको दिन उज्ज्वलले सबै एसिड सर्भाइभर र उनीहरुका अभिभावकलाई राखेर सामूहिक बधाइ दिए। ‘आजको दिनदेखि बहाना बनाउने दिन सकियो’, उनले भनेका थिए, ‘किनभने हामी सबैको माग सम्बोधन भएको छ। अब पढ्नुस्, रोजगार गर्नुस्, कृषि गर्नुस्, व्यापार गर्नुस्। ओषधोपचार निःशुल्क छ। अब आइन्दा मिडियामा आएर गुनासो गरेको भनेको यहाँहरुकै कमजोरी हो।’
संगीतालगायतले कुमारी बैंकमा जागिर सुरु गरेको दिन उज्ज्वलले बधाइस्वरुप कफी खान क्याफे बोलाए र भने, ‘आज एकचोटि अन्तिमपटक कफी म खुवाउँछु, भोलिदेखि तिमीहरुले तिर्नु।’
उज्ज्वललाई थकथकी लाग्ने घटना पनि छ। उनले नवलपरासी, कावासोतीकी एसिड सर्भाइभर वसन्ती परियारलाई प्रत्यक्ष सहयोग गर्न पाएनन्। काम विशेषले अष्ट्रेलिया जानु परेको थियो। असोज २०७५ मा तरकारी बजारबाट फर्कने क्रममा छिमेकीले नै वसन्तीलाई सातपटक छुरीले प्रहार गरी एसिड खन्याइदिएका थिए।
संगीतालगायतले कुमारी बैंकमा जागिर सुरु गरेको दिन उज्ज्वलले बधाइस्वरुप कफी खान क्याफे बोलाए र भने, ‘आज एकचोटि अन्तिपटक कफी म खुवाउँछु, भोलिदेखि तिमीहरुले तिर्नु।’
हातमुख अनुहार छोपेर हिंडिरहेका एसिड सर्भाइभर उज्ज्वललाई देख्नेबितिकै हतारहतार अनुहार खोल्न थाल्छन्। उनी भन्छन्, ‘मैले यिनीहरुलाई र यिनीहरुले पनि मलाई प्रेरणा दिएका छन्।’ थापाको बुझाइमा एकले अर्कोको जीवन परिवर्तन गरेका छन्।
तेजाब आक्रमण लैङ्गिक हिंसा होइन, आपराधिक मानसिकता
जब तेजब आक्रमण हुन्थे तब त्यस घटनाको कारण खोज्न थालिन्थ्यो। अनि सनसनीपूर्ण प्रेम कहानी बाहिर आउँथे। केटी धेरै राम्री भएको, केटीले केटाको प्रस्ताव नमानेकोे, केटी अन्तै लागेको जस्ता कहानीयुक्त समाचार बन्थे। तर, गत वर्ष भदौमा वीरगञ्जकी १४ वर्षीय मुस्कानमाथि तेजाब प्रहार भएपछि घटनाले प्रेमको आड पाउन सकेन। यो घटना नै तेजाब आक्रमण प्रेम सम्बन्धले नभएर आपराधिक मानसिकताले हुन्छ भनेर बुझाउने उदाहरण बन्यो।
त्यसैले उज्ज्वलले मुस्कानको घटनापछि आफैँ पहल गरेर अमिताभ बच्चनलगायत केही भारतीय कलाकारलाई भिडियो सन्देश पठाउन आग्रह गरे। मिडियामा मुस्कानको आवाज उठाए। प्रधानमन्त्रीलाई चिठी लेख्न लगाए।
तेजाब आक्रमण लैङ्गिक हिंसा होइन भन्ने बलियो प्रमाण हुन्, आफ्नै श्रीमतीद्वारा तेजाब छ्यापिएका गौशालाका रामराजा थापा। हालसम्म भएका चार जना पुरुष एसिड सर्भाइभरमध्ये कसैले पनि राज्यको एक रुपैयाँ सहयोग पाएका छैनन्। “अब लिङ्ग हेरेर एसिड हिंसाको वकालत हुने छैन”, अध्यादेश आएपछि उनले भने।
एसिड आक्रमणमा परेका सर्भाइभरहरु बीचको सम्बन्ध पनि निकै पृथक् छ। एउटालाई सान्त्वना दिन अर्को पुगिहाल्ने स्वभाव उनीहरुमा विकास भएको छ। रामराजाको घटना हुँदा मुस्कान खातुन नैतिक सहायता दिन टिचिङ अस्पताल पुगेकी थिइन्। पवित्रा कार्कीको घटना हुँदा उज्ज्वलभन्दा पहिले संगीता मगर अस्पताल पुगेकी थिइन्।
उज्यालोका पर्याय उज्ज्वल
तेजाब हिंसा विरुद्धको अभियान उज्ज्वलको सामाजिक सेवाको एउटा हिस्सा मात्रै होे। भूकम्पमा उनले देशभर लगभग एक हजार टहरा बनाएका थिए। त्यस्तै ४०० भन्दा बढी अग्नि पीडितहरुलाई सहयोग गरेका छन्।
काठमाडाैंको कमलपोखरीमा जन्मिएका उज्ज्वलको दैनिकी अधिकांश समय अस्पतालबाटै शुरु हुन्छ। अधिकांश समय गरीब र दुःखीहरुकै सहयोगमा समय बिताउँछन्। यसरी समाजसेवा गर्ने बानीको विकास भने उनका बुवा मोहनविक्रमले बसालिदिएका थिए। समाजसेवी मोहन नेपालका पहिलो वन संरक्षक अधिकारी हुन्।
उनले भारतको नैनितालस्थित सेरवुड कलेजमा अध्ययन गरेका हुन्। त्यहाँ पढ्दा पनि कलेजबाट छुट्टीमा नेपाल आउँदा, पुर्ख्यौली घर सिन्धुलीबाट आएका असहायलाई वीर अस्पतालमा उपचार गराइदिने जिम्मा उनकै हुन्थ्यो।
नौ वर्षअघि बुवाको अचानक देहान्त भयो। तर, सहयोगको आशा राखेर मान्छेहरु आइरहे। उनले पनि यसै फर्काएनन्। अनि समाजसेवामै लागिरहे। उनी आशा राखेर आउनेहरुको आत्मसम्मानको पनि उत्तिकै ख्याल राख्ने प्रयास गर्छन् ।
सिमरा र काठमाडाैंमा उनका पस्मिना उद्योग छन्। घरव्यवहार उज्ज्वलकी श्रीमती सम्हाल्छिन्। “मेरो नियमित कमाइ छैन, र म उस्तो फुर्मास पनि गर्दिनँ”, उनी भन्छन्।
हालै मात्र उनको समाजसेवाको कदर गर्दै सरकारले संविधान दिवसको अवसरमा उज्ज्वललाई ‘समाज सेवा रत्न’द्वारा विभूषित गरेको छ। उनी भन्छन्, “वास्तविक पुरस्कार त कानून कार्यान्वयन भएको दिन हुनेछ।”
सरकारले जारी गरेको अध्यादेशमा तेजाब आक्रमणको कारण मृत्यु भएमा पीडकलाई जन्मकैदको सजाय तोकेको छ। आक्रमणबाट मुख्य अंगहरु आँखा, कान, मुख, छाती र यौनाङ्गमा क्षति भए २० वर्ष र अन्य अंगमा चोट लागेमा १५ वर्ष कैद सजाय तोकेको छ। तेजाबले छोए मात्रै पनि १० वर्षको कैद हुने व्यवस्था छ।