डा. केसीका माग पूरा नभए सम्भावित दुर्घटनाको जिम्मा सरकारले लिनुपर्छ: कांग्रेस
नेपाली कांग्रेसले डा. गोविन्द केसीका माग पूरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ।
डा. केसीले चिकित्सक क्षेत्र सुधारको माग राख्दै अनशन बसेको २२ दिन भइसक्दा पनि वार्ताका लागि तयार नभएको सरकारले भोलि निम्तिन सक्ने दुर्घटनाको जिम्मा लिनुपर्ने कांग्रेसको भनाइ छ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीले उठाएका माग समयमै माग सम्बोधनका लागि सरकारसँग आग्रह गर्दै ढिलाइ भएर भोलि उत्पन्न हुने दुष्परिणामको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्। उनले अधिनायकवादी आकांक्षा राखेर अगाडि बढेको सरकारले केसीका माग सुनुवाई गर्न ढिलाइ गरिरहेको टिप्पणी समेत गरे।
कांग्रेसको सरकारले गरेका निर्णयहरु उल्टाउँदा अहिले डा. केसी अनशन बस्नुपर्ने अवस्था आएको प्रवक्ता शर्माको भनाइ छ। कांग्रेसले शुल्क समायोजन, अध्यादेश मार्फत ७५ प्रतिशत छात्रवृति, काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले ५ मेडिकल कलेजलाई मात्रै सञ्चालनको अनुमति दिने निर्णय गरे पनि सरकारले सबै निर्णय उल्टाउँदा अहिलेको अवस्था आएको उनले बताए।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार डा. केसीका माग पूरा गर्न सरकारलाई अपिल गरेका थिए।