दिल्लीमा बन्धक बनाइएका १२ महिला स्वदेश फिर्ता
भारतको नयाँदिल्लीमा बन्धक बनाई राखेको अवस्थामा उद्धार गरिएका १२ जना नेपाली महिला आज नेपाल फर्किएका छन् ।
उद्धार गरिएका महिलालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी केआई नेपालले भैरहवाको सुनौली नाकाबाट नेपाल ल्याएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आवश्यक कानून प्रक्रिया पूरा गरी उनीहरूलाई परिवारको जिम्मा लगाइने केआई नेपालका कार्यकारी निर्देशक इन्द्रराज भट्टराईले बताए ।
उद्धार गरिएकामध्ये ८ जनालाई कुतुब बिहारस्थित एउटा घरमा दुईवटा कोठामा र बाँकी चारजनालाई श्यामबिहारमा एउटा कोठामा राखिएको थियो ।
दिल्ली महिला आयोग, दिल्ली प्रहरी, नेपाली दूतावास र केआई नेपालको संयुक्त टोलीले गत शनिबार राति उनीहरूको उद्धार गरेको थियो ।
उनीहरूलाई घरेलु कामदारका रूपमा कुवेत, इराक र दुबई पठाइदिने प्रलोभन दिइएको कार्यकारी निर्देशक भट्टराईले बताए ।
उनीहरूले दलाललाई पासपोर्ट र २० हजारदेखि दुई लाखसम्म नगद बुझाएको भट्टराईले जानकारी दिए ।
इराक, कुवेत र दुबई पठाइदिने भन्दै दलालहरूले केही महिनादेखि नयाँदिल्लीको बाहिरी क्षेत्रमा पर्ने छावला थाना, द्वारकामा कोठा भाडामा लिएर उनीहरूलाई बन्धक बनाएर राखिएको थियो ।
उद्धार गरिएका महिलाहरूको घर झापा, दाङ, धादिङ, मकवानपुर, रसुवा, कैलाली र प्यूठानमा रहेको बताइएको छ । उनका अनुसार उद्धार गरिएका महिला २२ देखि ४२ वर्ष उमेरका छन् ।