पुरानो बस्ती मास्ने गरी गुरुयोजना ल्याइएको भन्दै पशुपति क्षेत्रमा बासिन्दा आन्दोलित
पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाले पशुपतिनाथको प्राचीनता नै मासिने भन्दै स्थानीय बासिन्दाले सोमबार विरोध प्रदर्शन गरेका छन्।
पशुपति क्षेत्रको विकासको नाममा परापूर्वदेखिको बस्ती नै मास्ने र स्थानीय संस्कृति तथा जात्राको विनाश गर्ने गरी गुरुयोजना ल्याइएको स्थानीयको आरोप छ।
गुरुयोजनाले स्थानीय धार्मिक, सामाजिक, सांस्कृतिक सम्पदा नष्ट गर्ने भएकाले त्यसको खारेजीको माग गर्दै आन्दोलनमा उत्रनुपरेको पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक आशामान संगतले बताए। कोषले पशुपति क्षेत्रको चार किल्लाभित्र बसोबास गर्दै आएका पुरानो बस्तीलाई विस्थापित गर्ने र जात्रा पर्वहरुको विनाश गरी व्यापारीकरण गर्न लागेको उनको भनाइ छ।
काठमाडौं महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेशसिंह डंगोलले कोषले स्थानीय बासिन्दा र स्थानीय निकायहरुसँग समन्वय नगरी गुरुयोजना तयार पारेकाले समस्या देखिएको बताए।
पशुपति क्षेत्र विकास कोषले गत साउनमा सिफलसम्म बस्ती खाली गराउने प्रस्ताव सहितको संशोधित गुरुयोजना मन्त्रालयमा पठाएको छ। कोषले तयार पारेको एक सय वर्षे गुरुयोजनाले कालान्तरमा भुवनेश्वरी मन्दिरदेखि सिफलसम्मको बस्ती हटाउने परिकल्पना गरेको छ। कोषले २०५२ सालमा तयार गरेको पहिलो गुरुयोजना २०५६ सालमा स्वीकृत भएको थियो भने २०५८ सालदेखि लागू भएको थियो।
पुरानो योजनाको समीक्षा नगरी नयाँ गुरुयोजना तयार पारिएकोले पनि विरोध गर्नुपरेको स्थानीयले बताएका छन्।