वैदेशिक रोजगारीमा जान पोखराबाट ८२६ जनाले पुनः श्रम स्वीकृति लिए
कोरोनाभाइरस संक्रमण महामारीको कहरका बीच वैदेशिक रोजगारीमा जान गण्डकी प्रदेशको राजधानी पोखराबाट ८ सय २६ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।
चालु आर्थिक वर्ष २०७७/७८ को साउनमा मात्रै ४ सय २६ जना पुरुष र ६ जना महिलाले स्वीकृति लिएकोमा भदौमा २ सय १ पुरुष र ८ जना महिलाले स्वीकृति लिएका छन्। यस्तै, १४ असोजसम्म पुरुष १ सय ८३ र महिला २ जना गरी कुल ८ सय २६ जनाले पोखराबाट पुनः श्रम स्वीकृति लिएको श्रम तथा वैदेशिक रोजगार कार्यालय, पोखराका सूचना अधिकारी छन्दनारायण श्रेष्ठले जानकारी दिए।
यसअघि प्रतिदिन एक सयको हाराहारीमा सेवाग्राहीले पुनः श्रम स्वीकृति लिने गरेकोमा अहिले कोरोनाका कारण केही संख्या कम भएको उनले बताए। कोभिड-१९ संक्रमणको जोखिमका कारण जारी भएको बन्दाबन्दीका कारण ६ महीनासम्म सेवाग्राहीले सेवा लिन नपाएकोमा अझै संख्या बढ्न सक्ने उनले बताए।
कार्यालय स्थापनासँगै गण्डकी प्रदेशसहित आसपासका बासिन्दालाई श्रम स्वीकृतिका लागि काठमाडौं जानुपर्ने बाध्यतालाई ध्यान दिंदै पोखराबाट पुनः श्रम स्वीकृति हुने भएकाले सेवाग्राहीलाई सहज भएको छ।