गोरु काट्नेलाई जेल सजायको फैसला
दैलेखको भैरवी गाउँपालिका–२ मा बारीमा बाँधिएका अर्काको गोरु काटेको अभियोगमा जिल्ला अदालत दैलेखले एक व्यक्तिलाई कैद सजाय र जरिवानाको फैसला गरेको छ।
जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले गोरु काट्ने भैरवी गाउँपालिका–२ का राजेश विष्टलाई एक वर्ष ९ महीना कैद र रु.४० हजार क्षतिपूर्तिको फैसला गरेको श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार, मुलुकी अपराध संहिताको २८९ को उपदफा १, २ र ३ अनुसार आइतबार अदालतले कैद सजाय र जरिवानाको फैसला गरिएको हो।
गएको २६ भदौमा विष्टले भैरवी गाउँपालिका–२ रावतकोटका सोविन थापाका बारीमा बाँधिएका गोरु काटेका थिए। एक गोरु काटिएको दिनमै मरेको थियो भने अर्काे अझै घाइते अवस्थामा छ। प्रहरीले गोरु काटेको १२ घण्टामै विष्टलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो।
विष्टले सनकको भरमा गोरु काटेको प्रहरीले बताएको छ।
गोरुधनी थापाले खेती लगाउने समयमा दुवै गोरु काटिएपछि अन्यायमा परेको अवस्थामा जिल्ला अदालतले क्षतिपूर्ति वापत रकम भराएपछि न्याय पाएको बताएका छन्।