धनगढी प्रिमियर लिग पूर्व निर्धारित मितिमा नहुने
कोरोनाभाइरस सङ्क्रमणको जोखिमका कारण धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता यो वर्ष पूर्व निर्धारित मितिमा नहुने भएको छ।
धनगढी क्रिकेट एकेडेमीले यो वर्ष आगामी ८ देखि २४ कात्तिकसम्म प्रतियोगिताको मिति तय गरेको थियो। तर, एकेडेमीले प्रेस विज्ञप्ति जारी गरी पूर्व निर्धारित मितिमा प्रतियोगिता गर्न असम्भव रहेको जनाएको हो। प्रतियोगिताको नयाँ मिति यथाशीघ्र घोषणा गरिने प्रेस विज्ञप्तिमा जनाइएको छ।
यो प्रतियोगिता शुरु भएसँगै देशमा पहिलो पटक विभिन्न शहरको टीम सहितको फ्रेन्चाइज क्रिकेटको अवधारणा शुरुआत भएको थियो। ती टोलीले खेलाडीहरुको अक्शन (बोलकवोल) गर्दै खेलाडी भित्र्याउने व्यवसायिक शुरुआत समेत भएको थियो।
विगतका वर्षमा तीन संस्करण भइसकेको यो प्रतियोगिताको पहिलो संस्करणदेखि धनगढी, महेन्द्रनगर, अत्तरिया, रुपन्देही, विराटनगर र काठमाडौँ गरी छ टोलीले सहभागिता जनाउँदै आएका छन्।