समर्थकलाई अभिवादन गर्न अस्पतालबाट कारमा सडकसम्म निस्किए ट्रम्प
कोरोनाभाइरस संक्रमण भएर अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरुलाई अभिवादन गर्न कारमा बाहिर सडकसम्म निस्किएका छन्। अस्पतालबाहिर उनको समर्थनमा नारा लगाइरहेकालाई हात हल्लाएर उनी फेरि अस्पताल फर्किएका छन्।
यसलाई उनको ‘चुनावी स्टन्ट’ मानिएको छ। अस्पतालबाहिर निस्किँदा उनले कालो मास्क लगाएका थिए। कारको पछाडिको सिटमा बसेका उनले झ्याल भने खोलेनन्। कारको अगाडि सिट बस्ने दुई जनाले पनि मास्क लगाएका थिए।
यससम्बन्धमा ह्वाइट हाउसका प्रवक्ता जुड डिरेले वक्तव्य जारी गर्दै भनेका छन्, “बाहिर जम्मा भएका समर्थकलाई हात हल्लाउन राष्ट्रपति ट्रम्प छोटो समय बाहिर निस्किएर फेरि वाल्टर रिडको आफ्नो कक्षमा फर्किए।” सुरक्षित उपाय अपनाएर ट्रम्प बाहिर निस्किएको पनि ह्वाइट हाउसले जनाएको छ। उनी भर्ना भएदेखि नै उक्त अस्पतालबाहिर जम्मा भएर समर्थकले स्वास्थ्यलाभको कामना गरिरहेका छन्।
गएको शुक्रबार ट्रम्पले ट्विटमार्फत आफू र आफ्नो पत्नीलाई कोरोना संक्रमण भएको जनाएका थिए। त्यही दिन अबेर उनी वाशिङ्टन डीसीनजिकको वाल्टर रिड मिलिटरी मेडिकल सेन्टर भर्ना भएका थिए।
७४ वर्षीय ट्रम्पलाई अक्सिजन पनि दिइएको उनका निजी चिकित्सकले बताएका छन्। त्यसैगरी कोरोना संक्रमित गम्भीर बिरामीलाई दिइने प्रयोगात्मक उपचार पनि उनलाई गरिएको छ।
ट्रम्पले आफू अस्पताल बस्दाको भिडिओ र फोटोहरु सामाजिक सञ्जालमा पनि राखेका छन्। उनले भनेका छन्, “म महान् देशभक्तहरुलाई थोरै आश्चर्यचकित गर्न गइरहेको छु, म सडकमा छु।”
तर, उनको कदमलाई चिकित्सकले नै ‘राजनीतिक स्टन्ट’ भनेका छन्। तीमध्येका एक जर्ज वाशिङ्टन विश्वविद्यालयको आपतकालीन औषधि विभागका सहायक प्राध्यापक डा. जेम्स फिलिप्सले यसलाई अनावश्यक ‘ड्राइभ’ भनेका छन्। उनका कारमा बस्ने प्रत्येक व्यक्ति अब १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने पनि उनले बताएका छन्।
–अलजजिराबाट