लिभरपुलको पोष्टमा एस्टन भिल्लाको सात गोल
एस्टन भिल्लाले इङ्लिस प्रिमियर लिग (ईपीएल) को साविक विजेता लिभरपुललाई जारी सिजनमा गए राति ७-२ गोल अन्तरले पराजित गरेको छ।
एस्टन भिल्लाले पहिलो हाफमा नै ४-१ को अग्रता लिएको थियो। उसका लागि ओलिए वाट्किन्सले ह्याट्रिक गर्नुका साथै एक गोलका लागि सहयोग गरे। त्यस्तै ज्याक ग्रेलिसले दुई गोल गर्नुका साथै तीन गोलका लागि सहयोग गरेका थिए।
एस्टोन भिल्लाले चौँथो मिनेटमा नै अग्रता लिएको थियो। लिभरपुलका लागि पहिलो हाफमा मोहमद सालेह एक गोल फर्काएका थिए। उनैले दोस्रो हाफमा अर्को एक गोल थपेका थिए।
जारी सिजन एस्टन भिल्लाले तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै नौ अंकका साथ दोस्रो स्थानमा छ। लिभरपुलले भने चार खेलमा पहिलो हार ब्यहोरेको हो। नौ अंक नै भए पनि लिभरपुल गोलअन्तरमा पाचौँ स्थानमा छ। चार खेलमा चारै जितसँगै १२ अंकसहित एभर्टन शीर्ष स्थानमा छ।
हिजोका अन्य खेलमा म्यानचेस्टर युनाइटेड पनि टोटेनह्यामसँग ६-१ गोलले पराजित भयो। म्यानचेस्टर तीन खेलमा तीन अंकसहित तालिकाको १६औँ स्थानमा छ। त्यस्तै वेष्ट ह्यामले लेस्टर सिटीलाई ३-०, आर्सनलले सेफिल्ड युनाइटेडलाई २-१, साउथह्याम्टनले वेष्ट ब्रुमलाई २-० र वुल्भ्सले फुलह्यामलाई १-० ले पराजित गरे।