स्थलगत अध्ययनपछि कांग्रेस सांसदले भने– ‘चिनियाँ सीमाको १२ नम्बर पिलर शंकास्पद’
भर्खरै नाम्खा गाउँपालिका अन्तर्गत् लिमी उपत्यकामा पर्ने लाप्चा क्षेत्रको भ्रमण गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले त्यहाँ रहेको १२ नम्बर सिमातम्भ नयाँ भएको दाबी गरेका छन्।
केही समयअघि चीनले नेपाली भूमि अतिक्रमण गरेको खबर प्रवाह भएपछि चर्चामा आएको उत्तरी हुम्लाको लोलुङजोङ क्षेत्र फेरि चर्चामा आएको छ। चीनले लोलुङजोङमा निर्माण गरेका भवन नेपाली भूभागमा रहेको चर्चा चलेपछि परराष्ट्र मन्त्रालयले ती भवन चिनियाँ भूभागमै बनेको स्पष्टीकरण दिएको थियो। त्यसपछि यो चर्चा मत्थर बनेको थियो।
नाम्खा गाउँपालिका अन्तर्गत् लिमी उपत्यकामा पर्ने लाप्चा क्षेत्रमा पर्छ, लोलुङजोङ। भर्खरै त्यसक्षेत्रको स्थलगत भ्रमणमा गएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले त्यसक्षेत्रमा रहेको १२ नम्बर सिमातम्भ (पिलर) नयाँ भएको दाबी गरेका छन्। त्यहाँबाट अहिले लिमीको जाङ गाउँ पुगेका शाहीले सो सिमास्तम्भ २०१९ सालमा राखिएको जस्तो नभएको र संरचना नै शंकास्पद देखिएको दाबी गरे।
उनले भने, “हामीले हेरेको पिलर २०१९ सालमा बनेको जस्तो छैन। यसको संरचना शंकास्पद छ।”
हुम्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामा पनि केही दिन पहिले त्यस क्षेत्रको भ्रमण गरेर फर्केका थिए। तर, लामाले यसबारे केही बोलेका छैनन्। लामासँगै गएका नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले पनि १२ नम्बर पिलर एकतर्फी मर्मत गरेको जस्तो देखिएको बताए।
“२०१९ सालमा निर्माण भएको पिलर त्यति चिल्लो नहुनु पर्ने हो”, उनले भने, “पिलरको चीनतर्फको भाग भर्खरै बनाएको जस्तो देखिन्छ, तर नेपालतर्फको भाग भने पुरानै जस्तो देखिन्छ।”
नापी विभागले भने पनि १५ वर्षयता नेपाल र चीनबीचको सीमामा कुनै पिलर मर्मत वा पुनर्निर्मण नगरेको बताएको छ। “नापी विभागले चीनतर्फको सीमास्तम्भ मर्मतका लागि १५ वर्षदेखि कुनै टोली खटाएको छैन”, विभागका सूचना अधिकारी दामोदर ढकालले भने, “सन् २००५÷२००६ पछि सरकारले चीनतर्फको सीमा मर्मत, रंगरोगन गर्नका लागि सर्वेक्षकको कुनै पनि टोली टोली पठाएको छैन।”
उनले कुनै पनि देशले एक्लै सीमास्तम्भ मर्मत, पुनःनिर्माण तथा रंगरोगन गर्न नपाउने उल्लेख गर्दै हुम्लाको १२ नम्बर पिलरबारे थप अध्ययन गरिने बताए।
नाम्खा गाउँपालिकाको लोलुङजोङ क्षेत्रमा चीनले निर्माण गरेका ११ वटा भवन नेपाली भूमिमा बनेको भन्ने खबर सार्वजनिक भएपछि हुम्लाका सुरक्षा अधिकारीहरुको टोलीले स्थलगत अध्ययन गरेको थियो। गृह मन्त्रालयको निर्देशनमा गएको टोलीले चीनले सिमा नमिचेको र पिलर नयाँ नभएको निचोड निकालेको थियो।
परराष्ट्र मन्त्रालयले पनि ती भवन चिनियाँ भूभागमा निर्माण भएको स्पष्टीकरण दिएको थियो। हुम्लास्थित राजनीतिक दलहरुले सिमा विज्ञसहितको प्राविधिक टोली पठाएर सिमाना एकिन गर्न सरकारलाई आग्रहगरेका थिए।
हुम्ला र चीनबीचको सिमा क्षेत्रमा मुख्य र सहायक गरेर १५ वटा सिमातम्भ छन्।