राष्ट्रिय पशुविज्ञान अनुसन्धान प्रतिष्ठानको कृषि फार्म हटाउन ललितपुरका स्थानीयहरूको माग
ललितपुर महानगरपालिका वडा नं. १५ नयाँ वस्तिमा रहेको राष्ट्रिय पशुविज्ञान अनुसन्धान प्रतिष्ठानको कृषि फार्म हटाउन स्थानीयहरुले माग गरेका छन्। नयाँ वस्तिका स्थानीयहरू स्थानीय वडा अध्यक्ष सहित प्रतिष्ठानको कार्यालयमा पुगेर बंगुर पालन र कुखुरापालन रहेको फार्महाउस हटाउन माग गरेका हुन्।
उनीहरूले फार्महाउसका कारण स्थानीय वस्तिमा दुर्गन्ध फैलिएको र विभिन्न रोगको सिकार हुनु परेको भन्दै छिटो भन्दा छिटो फार्महाउस हटाउन माग गरेका हुन्। वडा अध्यक्ष शुदर्शन मिश्रले फार्महाउसको फोहोरको दुर्गन्धले स्थानीय वस्तीमा असर परेकोले फार्म हाउसलाई उपयुक्त ठाउँमा सार्न माग गरे।
उनले स्थानीयहरूको माग जायज भएकाले कृषि अनुसन्धान परिषद् अन्तर्गतको प्रतिष्ठानले फार्महाउस स्थानान्तरण गरी स्थानीयको समस्या सम्बोधन गर्नुपर्ने बताए। यसअघि पनि स्थानीय नागरिकले पटकपटक जानकारी गराउँदा समेत माग पूरा नभएकाले यसपटक अन्तिमपटक मागसहितको पत्र बुझाइएको र अब पनि माग सम्बोधन नभए सशक्त ढंगले संघर्ष गरिने बताए
स्थानीयले यसअघि पनि फार्म हाउस हटाउन माग गर्दै ४ असार २०७४ मा प्रतिष्ठानलाई पत्र बुझाएका थिए। हालसम्म आफूहरूका माग पूरा नहुँदा आन्दोलित हुनुपर्ने अवस्थामा पुगेको स्थानीयहरूले बताएका छन्। उनीहरूले नागरिकको आवाज नसुन्ने सरकारी कार्यालय आफूहरूका लागि आवश्यक नभएको समेत बताएका छन्।