६० लाखमा बेच्न लागिएको बाघको छालासहित चार जना पक्राउ
६० लाखमा बेच्न लागिएको प्रतिबन्धित पाटे बाघको छालासहित प्रहरीले चार जनालाई काठमाडौंबाट पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको विषेश टोलीले उनीहरूलाई काठमाडौंको स्वयम्भूस्थित् एक होटेलबाट आइतबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–५ का ४३ वर्षीय टेकबहादुर तामाङ, सोही ठाउँका २८ वर्षीय सुजन थिङ, २७ वर्षीय आशिष तामाङ, मकवानपुरको थाहा नगरपालिका–८ का २४ वर्षीय सानुकान्छा थिङ रहेका छन्।
प्रहरीका अनुसार टेकबहादुर ज्यामी काम गर्ने, सुजन दुनोट व्यापारी, आशिष कृषक र सानुकान्छ सवारी चालक रहेको अपराध महाशाखा प्रवक्ता, एसपी ईश्वर कार्कीले बताए। उनीहरूको साथबाट ९ फिट लम्बाई र २ फिट २ इञ्ज चाैडाइ भएको छाला बरामद भएको छ।
एसपी कार्कीका अनुसार टेकबहादुरले धादिङको स्थानीय एक व्यक्तिबाट नगद ३५ लाख रूपैयाँमा छाला खरिद गरेको खुलेको छ। छाला किन्नलाई टेकबहादुरमार्फत् अर्को व्यक्तिले लगानी गरेको, उक्त छाला ६० लाख रूपैयाँमा बिक्री गरी बाँडेर खाने, दशैं मनाउने मनसायले प्रलोभनमा परी बेच्न आएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ
स्वयम्भू क्षेत्रमा केही व्यक्तिहरूले प्रतिबन्धित पाटे बाघको छाला अबैध रूपमा बिक्रि वितरण गर्नको लागि ल्याएको भन्ने विशेष सूचनाका आधारमा पुगेको अपराध महाशाखाको टोलीले उनीहरूलाई पक्राउ गरेको एसपी कार्कीले बताए। पक्राउ परेकाहरूमाथि आवश्यक कानूनी कारबाहीको प्रक्रिया अघि बडाइएको प्रहरीले जनाएको छ।