तीन महीनापछि तातोपानी नाका भोलिदेखि सञ्चालनमा आउँदै
झण्डै तीन महीनादेखि बन्द सिन्धुपाल्चोकको तातोपानी नाका १९ असोज (सोमबार)देखि खुल्ने भएको छ। नाका खुलेसँगै तिब्बतको खासामा अड्किएका सामान नेपाल भित्रिनेछन्।
यसअघि दुई देशका स्थानीय अधिकारीहरूबीचको संयुक्त बैठकले १९ असोजबाट नाका खुलाउने सहमति गरेको थियो। आइतबारसम्ममा नाका सञ्चालनका विषयमा तयारी गर्ने र १९ असोजबाट सामान भित्र्याउन थाल्ने विषयमा सहमति भएअनुसार सोमबारबाट नाका सञ्चालनमा आउन लागेको हो। नेपालले सामान लोड-अनलोड गर्न कोरोना भाइरसको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएका कामदारहरूको व्यवस्था गरेको छ।
नाका खुलेपछि खासा क्षेत्रमा अड्किएका दर्जनौं मालबाहक कन्टेनरमा रहेका सामान नेपाल भित्रिनेछन्। चिनियाँ क्षेत्रमा रहेको सामान मितेरी पुलमा ल्याएर झारिदिने र त्यहाँबाट नेपाली कामदारले ट्रकमा राखेर तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ल्याउनेछन्। नाका सञ्चालनमा आएपनि अड्किएका सामान ल्याउन मात्रै हो वा निरन्तर खुल्छ भन्ने टुंगो छैन।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको द्विपक्षीय व्यापार महाशाखा प्रमुख प्रकाश दाहालका अनुसार नाकालाई निरन्तर सञ्चालन गर्नका लागि आफूहरूले चिनियाँ पक्षलाई आग्रह गरिरहेको बताए। उनले भने, “दैनिक कम्तीमा ३०–४० वटा कन्टेनरका दरले सामान ल्याउन दिन हामीले अनुरोध गरेका छौं।”
तिब्बतको कुती क्षेत्रमा रहेको ताल फुट्ने जोखिम देखाउँदै चीनले झण्डै तीन महीनादेखि यो नाका बन्द गरेको थियो। चीनमा कोरोना भाइरसको संक्रमण विस्तार भएपछि गत १३ माघदेखि बन्द गरिएको यो नाका २६ चैतमा खुलाएको थियो। तर, ताल फुट्ने जोखिम देखाएर चीनले फेरि नाका बन्द गरेको हो।
आन्तरिक सुरक्षा र सीमा घुसपैठको जोखिम देखेकाले चीन तातोपानी नाकाको व्यापारलाई रसुवागढी सार्नुपर्ने पक्षमा भएको बताइन्छ। २०७२ को भूकम्पपछि सडकसहितका पूर्वाधार बिग्रिएको भनेर चीनले यो नाका झण्डै चार वर्ष बन्द गर्यो। २०७६ जेठमा नाका सञ्चालनमा ल्याइएको थियो। खासगरी, यो नाका हुँदै स्वतन्त्र तिब्बतको गतिविधि हुनसक्ने भयमा चीन छ।