स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई जरिवाना गरिने
जनस्वास्थ्य मापदण्ड पालना नगर्नेलाई सरकारले जरिवाना गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबार बसेको बैठकले स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई जरिवाना गर्ने निर्णय गरेको हो।
मास्क नलगाउने, भाैतिक दूरी कायम नगर्ने लगायत मन्त्रालयका तोकेका मापदण्ड पालना नगर्नेलाई कारबाही गरिने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बताए।
जरिवानाको प्रस्ताव तयार पारेर मन्त्रालयमा पेश गरिनेछ। यस्तै, बैठकले सबै किसिमका गोष्टि, तालिम, सेमिनार नगर्न अपील गरेको छ।
कोरोना संक्रमितको उपचार र व्यवस्थापनका लागि चाहिने आवश्यक स्वाथ्य सामग्री अभाव नहुनेगरी व्यवस्थापन गर्न स्वास्थ्य सेवा विभागलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ।
निजी स्वास्थ्य संस्थाले कोरोना परीक्षणको शुल्क धेरै लिएको भन्ने गुनासो आएको भन्दै त्यसका लागि मन्त्रालयको गुणस्तर तथा अनुगमन महाशाखालाई अनुगमन गर्न बैठकले निर्देशन दिएको छ।
यसैगरी, कोरोना संक्रमितलाई १०औं दिनमा पीसीआर परीक्षण गर्ने, नतिजा पोजिटिभ आए थप ४ दिन राखेर परीक्षण नगरेरै पठाउन मन्त्रालयले अस्पतालहरूलाई अनुरोध गरेको छ।