स्वास्थ्य मन्त्रालयले भन्यो- जो जहाँ छौं, त्यहीँ बसेर दशैँ मनाऔं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण बढेको भन्दै जो जहाँ बसेको छ त्यहीँ बसेर दशैँ मनाउन अपील गरेको छ। दशैँ मनाउनका लागि काठमाडौं उपत्यकाबाट बाहिर जाने वा बाहिरबाट उपत्यका भित्रिँदा जोखिम बढ्ने भन्दै मन्त्रालयले यस्तो अपील गरेको हो।
“दशैँ अर्को साल पनि आउँछ। योपटक जो जहाँ छौँ, त्यहीँ बसेर दशैँ मनाऔँ”, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने। यो वर्षको दशैँ १ कात्तिकदेखि शुरू हुँदैछ। चाडबाडमा भीडभाड बढ्ने भएकाले सचेत रहन मन्त्रालयले अनुरोध गर्दै आएको छ।
नेपालका कोरोना संक्रमितको संख्या आइतबारसम्म ८६ हजार ८२३ पुगेको छ, यसमध्ये ६४ हजार ६९ जना निको भइसकेका छन्। हाल सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ। । यसमध्ये संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन्।
नेपालमा संक्रमितमध्ये ५३५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९९ संक्रमित थपिएका छन्।