काठमाडौं उपत्यकामा थपिए १५९९ संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता १५९९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र १३७३ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३९ र ललितपुरमा १८७ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ५०५ महिला र ८६८ पुरुष, भक्तपुरमा २० महिला र १९ पुरुष तथा ललितपुरमा ७९ महिला र १०८ पुरुषमा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टायता देशभर भने २२५३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको मन्त्रालयले जनाएको छ।
२४ घण्टायता १२ हजार ७८४ वटा पीसीआर नमूना परीक्षण गरिएको छ। यससँगै हालसम्म नेपालमा १० लाख ७४ हजार ४४८ नमूना परीक्षण भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या २२ हजार २१९ जना छ। यसमध्ये संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा १३२९ जना निको भएका छन्। निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ। हाल क्वारेन्टिनमा ४२०३ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा ५३५ संक्रमितको मृत्यु भएको छ।