बुटवललाई नै प्रदेश राजधानी बनाउन नेकपा रूपन्देहीको माग
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रूपन्देहीले बुटवललाई नै प्रदेश–५ को स्थायी राजधानी बनाउन माग गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै नेकपा रूपन्देहीले विगतका निर्वाचनमा जनतासँग गरेको वाचालाई स्मरण गर्न नेतृत्वलाई आग्रह समेत गरेको छ।
शुक्रबार प्रदेश–५ को मन्त्रिपरिषद् बैठकले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ क्षेत्रलाई बनाउने र प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो। सोहीअनुसार शुक्रबार नै प्रदेश सभामा सरकारको तर्फबाट प्रस्ताव दर्ता भइसकेको छ। प्रस्तावमाथि प्रदेश सभामा सोमबार छलफल शुरू हुनेछ।
प्रदेश सरकारले ठूलो धनराशी खर्च गरेर भाैतिक संरचना निर्माण गरेकाले अस्थायी राजधानीका रूपमा रहेको बुटवललाई नै स्थायी राजधानी बनाउनुपर्ने नेकपा रूपन्देहीका अध्यक्ष शिवराज सुवेदी र सचिव नारायणबहादुर जीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
भालुवाङ राजधानी बनाउने प्रदेश सरकारको निर्णयप्रति नेपाली कांग्रेस रूपन्देहीले समेत विरोध जनाएको छ। उसले रूपन्देहीमा विरोध प्रदर्शन समेत गर्दै आइतबार जिल्ला बन्दको आह्वान गरेको छ।