डा. केसीसँग अविलम्ब वार्ता गरी माग पूरा गर्न कांग्रेसको आग्रह
नेपाली कांग्रेसले चिकित्सा शिक्षा सुधारको माग राखेर अनशन बसिरहेका डा. गोविन्द केसीसँग अविलम्ब वार्ता गरी माग पूरा गरेर उनको जीवनरक्षा गर्न प्रधानमन्त्रीलाई सार्वजनिक अपील गरेको छ।
डा. केसीको अनशन २१ दिन पुगेर उनको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग पूरा गर्न कुनै गम्भीरता प्रस्तुत नगरेको स्थिति अत्यन्तै दुःखद र गम्भीर भएको पार्टी सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
चिकित्सा शिक्षामा सुधारदेखि कोरोना विरुद्ध प्रभावकारी कदम समेतमा उनका मागहरू केवल एक ब्यक्तिका मात्र नभएर प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यवद्धता जनाएका मागहरू भएको कांग्रेसले जनाएको छ। कांग्रेसले जनभावना अनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य भएपनि सरकारले शुरूआतमा डा. केसीप्रति दुर्व्यवहारपूर्ण ब्यवहार गर्नु आपत्तिजनक भएको जनाएको छ।
साथै अहिलेसम्म संवाद र समाधानमा सरकारले उदासिन ब्यवहार देखाउनुले लोकतान्त्रिक प्रणालीभित्र कम्युनिष्ट तन्त्रको अनुदार चरीत्रलाई पुष्टि गरेको कांग्रेसको भनाइ छ।
वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा ०७५ को साउनमा डा. केसीसँग गरिएको सम्झौतालाई माघ महिनामा उल्लंघन गरेर द्वन्द्वको बीउ सरकारले त्यसबेलानै रोपेकोले फेरि पनि संवादमार्फत समाधानमा पुगेर त्यसको सार्थक कार्यान्वयनमा इमानदारी प्रस्तुत गर्न कांग्रेसले प्रधानमन्त्रीजीलाई आग्रह गरेको छ।
डा. केसीको जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, मागहरू पूरा गर्न र उनको जीवन रक्षा गर्न किन्चित ढिलाई नगर्न आग्रह गर्दै कांग्रेसले ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनी समेत दिएको छ।