नेताहरूलाई कोरोना देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
सोमबारका लागि तय भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। गगन थापा लगायतका केही केन्द्रीय सदस्यलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको हो।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबारका लागि तय बैठक स्थगित भएको पुष्टि गरे। २४ गतेलाई बैठक तय गर्ने कि भनेर छलफल भएपनि निर्णय भइनसकेको उनले बताए।
उनका अनुसार आइतबारदेखि पाँच दिन, २२ असोजसम्म केन्द्रीय कार्यालय सिल गरिएको छ।
केन्द्रीय सदस्य थापा, अर्जुनरसिंह केसी लगायतलाई शनिबार कोरोना पुष्टि भएको थियो। आइतबार थप तीनजना केन्द्रीय सदस्यलाई कोरोना पुष्टि भएको छ। तर, उनीहरूको विवरण सार्वजनिक गरिएको छैन।
नेताहरूमा कोरोनामा देखिएपछि आइतबारका लागि तय कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक पनि स्थगित गरेको छ।