प्रधानमन्त्रीको सचिवालय सदस्यलाई कोरोना देखिएपछि नेकपा बैठक अनिश्चित
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय टीमका सदस्यलाई कोरोनाभाइरस संक्रमण देखिएपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवाल बैठक अनिश्चित बनेको छ।
शनिबारका लागि तय भएको बैठक आइतबारका लागि सारिएको थियो। तर, आइतबार पनि बैठक बस्ने/नबस्ने अनिश्चित भएको छ। बैठकबारे अहिलेसम्म कुनै जानकारी नआएको नकेपा सचिवालय सदस्यहरूले बताएका छन्।
नेकपा अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले पनि बालुवाटारबा बैठकका लागि कुनै जानकारी नआएको बताए। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको थियो।
शुक्रबार नेकपा अध्यक्षद्वय ओली र दाहालबीच शनिबार केन्द्रीय सचिवालय बैठक बोलाउने सहमति बनेको थियो।
मन्त्रिपरिषद्ले पछिल्लोपटक गरेका निर्णयमा दाहालसहितका सचिवालय सदस्यहरूले असन्तुष्टि जनाएका छन्। पार्टीले दिएको सल्लाहविपरीत प्रधानमन्त्रीले राजदूत नियुक्ति र मुख्यसचिवको विषयमा मन्त्रिपरिषद्बाट निर्णय गराएको भन्दै उनीहरू असन्तुष्टि बनेका हुन्।
शुक्रबार असन्तुष्टि पोख्न बालुवाटार पुगेका अध्यक्ष दाहाल र प्रधानमन्त्री ओलीबीच यी विषयमा छलफल गर्न शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको थियो।
तर, शनिबार नै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, स्वकीय सचिव इन्द्र भण्डारी र प्रधानन्त्री निवासको सुरक्षामा खटिएका ६७ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको थियो।
प्रधानमन्त्री र उनको सुरक्षाका लागि पहिलो घेरमा खटिने सुरक्षाकर्मीको भने रिपोर्ट नेगेटिभ आएको बताइएको छ। यद्यपि, ४५ जना भन्दा बढीको रिपोर्ट आउन बाँकी छ।
स्रोतका अनुसार सचिवालय टीमका सदस्य र सुरक्षाकर्मीमा कोरोना देखिएपछि प्रधानमन्त्री ओलीले बाहिरी भेटघाट बन्द गरेका छन्। यसअघि प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यावसिंह शाहलाई पनि कोरोना संक्रमण भएको थियो।