केन्द्रीय सदस्यलाई कोरोना देखिएपछि कांग्रेस कार्यालय ५ दिनका लागि बन्द
चार जना केन्द्रीय सदस्यलाई कोरोनाभाइरस संक्रमण देखिएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ।
आइतबारदेखि २२ असोजसम्म केन्द्रीय कार्यालय बन्द रहने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
१५ असोजमा केन्द्रीय कार्यालयमा गरिएको पीसीआर परीक्षणमा चार जना केन्द्रीय सदस्य र नेताहरूको सुरक्षामा खटिएका केही सुरक्षाकर्मीमा शनिबार कोरोना पुष्टि भएको थियो।
केन्द्रीय सदस्य गगनकुमार थापा, अर्जुनरसिंह केसी, शम्भु श्रेष्ठसहित केही जनालाई संक्रमण पुष्टि भएको थियो।
नेताहरूमा संक्रमण देखिएपछि आइतबारका लागि निर्धारित पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक स्थगित भएको छ।
सोमबारका लागि तय केन्द्रीय समिति बैठक भने बस्ने/नबस्ने टुंगो छैन। भर्चुअल माध्यमबाट बैठक गर्नेबारे पनि छलफल भइरहेको कांग्रेसले जनाएको छ।