चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु
चितवनमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए।
उनलाई १६ असोजमा कोरोना पुष्टि भएपछि भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो। उनमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ। यससँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ।
भरतपुर कारागारमा उच्च सतर्कता
कोरोना भाइरसलाई मध्यनजर राख्दै भरतपुर कारागारमा उच्च सतर्कता अपनाइएको छ। क्षमताभन्दा दोब्बर बढी कैदी तथा थुनुवा रहेको र कोरोनाभाइरसको सङ्क्रमण हुन नदिन उच्च सतर्कता अपनाएको हो।
११ चैतमा सरकारले बन्दाबन्दी घोषणा गरेसँगै कारागारले कैदी तथा थुनुवाका आफन्तलाई भेटघाट बन्द गरेको छ। कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले कैदी तथा थुनुवाका लागि आफन्तले ल्याएको सर–सामान पनि फिर्ता पठाइएको बताए।
“आफन्तले ल्याएको पैसालाई स्यानिटाइज गरी पुर्याउने व्यवस्था मिलाएका छौँ”, उनले भने, “कैदी तथा थुनुवाबीच सामाजिक दूरी कायम गराउन गाह्रो छ। बाहिराबाटै चेन ब्रेक गर्न सावधानी मिलाएका छौँ।”
प्रमुख काफ्लेका अनुसार अन्य कुनै रोगको सङ्क्रमण हुन नदिन माछा, मासु खान पनि बन्द गरिएको छ। कारागारभित्रकालाई हालसम्म कोरोना देखिएको छैन। कैदी तथा थुनुवाको खानपानामा ध्यान दिइएकाले जटिल स्वास्थ्य समस्या नदेखिएको उनको भनाइ छ।
नयाँ आउने बन्दीलाई छुट्टै ब्लकमा दुई हप्ता अलग राख्ने व्यवस्था मिलाइएको छ। उनका अनुसार सम्भावित जोखिमलाई हेरेर आइसोलेसन ब्लकसमेत बनाउने तयारी छ। करीब ३० श्ययाको आइसोलेसनकक्ष बनाउनेबारे छलफल भइरहेको काफ्लेले बताए।
कारागारभित्र २०० बढी दीर्घरोगी
कारागार कार्यालय चितवनमा २०० बढी कैदीबन्दीले नियमित औषधि लिने गरेका छन्। नियमित औषधि लिनेको सङ्ख्या २१२ छ। उच्च रक्तचापका ७८, मधुमेहका ७२, पायल्सका १८, बाथरोगका १५, थाइराइडका १० जना बिरामी छन्।
यस्तै मुटुरोगका ६, मानसिक रोगका पाँच, एचआइभीका तीन, क्षारे र क्षयरोगीका दुई–दुई, कुष्ठरोगी एक जना छन्। विषेशज्ञबाट सुझाव दिएका औषधि सहजरूपमा उपलब्ध गराउने व्यवस्था पनि कारागार प्रमुख काफ्लेले बताए।