कोलकातालाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा
नेपाली लेगस्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को हिजो भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १८ रनले हराउँदै अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ। तर, सन्दीपले लगातार चौँथो खेलमा मौका पाउन सकेनन्।
२२९ रनको विशाल लक्ष पछ्याएको कोलकाताले २१० रन बनाएको थियो। उसका लागि नितिश रानाले ५८ र इयान मोर्गानले ४४ रन बनाएका थिए। मोर्गानले १८ बलमा नै ४४ रन बनाए पनि जित दिलाउन सकेनन्। उनले आफ्नो इनिङमा पाँच छक्का र एक चौका प्रहार गरेका थिए।
कोलकाताका लागि बलिङतर्फ एनरिच नोत्र्जेले तीन विकेट लिएका थिए। यसअघि निकै किफायती बलिङ गरेका कागिसो राबाडाले चार ओभरमा ५१ रन दिएर एक विकेट मात्र लिए। हर्षल पटेलले दुई तथा मार्कस स्टोइनिस र अमित मिश्राले एक एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीका शीर्ष क्रमका ब्याट्स्म्यानले गतिलो प्रदर्शन गरेका थिए। उसका कप्तान श्रेयस ऐयरले ८८, पृथ्वी सवले ६६ र रिसभ पन्तले ३८ रन बनाए। कोलकाताका आन्द्रे रसेलले दुई विकेट लिए।
चार खेलमा तीन जित हासिल गरेको दिल्ली ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ। रोयल च्यालेन्जर बेङ्लोरको ६ अंक नै भए पनि रनरेटको आधारमा दोस्रो स्थानमा छ। सबै टीमका चार खेल सकिँदा चेन्नइ र पञ्जाबको मात्र दुई अंक छ।