गगन थापासहित कांग्रेसका चार नेतालाई कोरोना संक्रमण
नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापासहित कांग्रेसका ४ जना नेतालाई कोरोना संक्रमण पुष्टि भएको छ। थापासहित नेता अर्जुननरसिंह केसी र दुई जना आमन्त्रित केन्द्रीय सदस्यमा कोरोना देखिएको हो।
थापाले आफूलाई कोरोना संक्रमण पुष्टि भएको बारेमा सामाजिक सञ्जालबाट जानकारी सार्वजनिक गरेका छन्। 'असाेज १५ गते पार्टी कार्यालयमा भएकाे पीसीआर परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ। मेरो स्वास्थ्य अवस्था सामान्य छ। अहिले म घरमै आइसोलेसनमा छु। यस बीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नुहुन अनुरोध गर्दछु', थापाले सामाजिक सञ्जालमा लेखेका छन्।
त्यस्तै नेता केसीले पनि शनिबार साँझ आफू संक्रमित भएको खबर संचारमाध्यमबाट पाएको तर केन्द्रीय कार्यालयले खबर नगरेको भन्दै सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। साथै उनले आजैदेखि आफ्नो स्वास्थ्य ठीक रहेको र सेल्फ क्वारेन्टाइनमा बसेको भन्दै आफ्नो सम्पर्कमा आएकालाई परीक्षण गर्न पनि आग्रह गरेका छन्।
त्यस्तै कांग्रेस स्रोतका अनुसार आमन्त्रित केन्द्रीय सदस्यद्वय गङ्गा चौधरी र शम्भुलाल श्रेष्ठलाई कोरोना पुष्टि भएको छ।
१९ गतेका लागि बोलाइएको पार्टीको बैठकका लागि १५ गते कांग्रेस कार्यालयमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, उनीहरुका सचिवालयका सदस्य, सुरक्षाकर्मी र कार्यालयका कर्मचारी गरी २ सय ४० जनाको परीक्षण गरिएको थियो।