आउँदो जनगणनामा पारलैङ्गिक व्यक्तिहरूको तथ्याङ्क संकलनका विषयमा थप छलफल गर्न माग
आउँदो २०७८ को जनगणनामा पारलैङ्गिक (ट्रान्सजेण्डर) व्यक्तिहरूलाई स्पष्ट हुनेगरी नसमेटिएको भन्दै पारलैङ्गिक अधिकार समूहले थप छलफल गरी स्पष्ट पार्न माग गरेको छ।
अधिकार समूहले पारलैङ्गिक महिलाहरू 'महिला' र पारलैङ्गिक पुरुषहरू 'पुरुष अन्तर्गत नै गणना गराउनुपर्नेमा भन्दै १५ भदौ २०७७ मा प्रकाशन भएको राजपत्र अनुसार त्यस्तो कुनै व्यहोरा नदेखिएको बताएको छ।
"जनगणनामा प्रश्नावलीको एउटा प्रश्नमा महिला, पुरुष, अन्य लिङ्गी भन्ने शब्द राखिएकोमा कतिपय माध्यमहरूबाट यसले पारलैङ्गिक (ट्रान्सजेण्डर) जनसमुदायलाई समेटिएको भनी अपव्याख्या समेत भएको छ। हामी पारलैङ्गिक महिला तथा पुरुषहरू महिला र पुरुष अन्तर्गत नै पर्दछौँ, पहिचान गर्छौँ र चिनाउँछौँ", पारलैङ्गिक अधिकार समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "हामी पारलैङ्गिक पुरुष तथा महिलाहरू 'अन्य लिङ्गी' वा महिला पुरुष भन्दा फरक भनी पहिचान गर्दैनौँ । यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता तीन फरक-फरक विषयहरू हुन् र कतिपय सरकारी निकायहरूले यसलाई अन्योलतापूर्वक हेर्ने र व्याख्या गर्ने गरेका छन्।"
कतिपय अवस्थाहरूमा एलजीबीटीआई भनेर पाँच फरकफरक पहिचानहरू एउटै कठघरामा राखेर हेरिने भएकाले यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता (यौभिकयौता) सम्बन्धी अन्योलता सृजना भएको उनीहरूको भनाइ छ। राजपत्रमा प्रकाशित भएको उक्त प्रश्नावली अनुसार पारलैङ्गिक व्यक्तिसम्बन्धी तथ्याङ्क आउने गरी कुनै प्रश्न समावेश नगरिएको उनीहरूले जनाएका छन्।
"राजपत्रमा प्रकाशित भएको उक्त प्रश्नावली अनुसार पारलैङ्गिक व्यक्ति सम्बन्धी तथ्याङ्क आउने गरी कुनै प्रश्न समावेश गरिएको छैन भन्ने विषय यहाँहरू सबै समक्ष अवगत गराउन चान्छौँ। साथै नेपालको सामाजिक-सांस्कृतिक पृष्ठभूमीमा पारलैङ्गिक व्यक्तिहरूको जनगणना गर्ने विषय अत्यन्तै संवेदनशील विषय हो, यस विषयमा मूलधारको जनगणना अभ्यास भन्दा फरक विधिको आवश्यकता रहनुका साथै यो विषयमा संवेदनशीलता, उपयुक्तता, व्यक्तिगत / सामुहिक सुरक्षा एवं गोपनियता लगायत विविध पक्षहरूलाई पल्टाएर थप छलफल र अध्ययन हुनुपर्छ भन्ने हाम्रो माग रहेको छ", विज्ञप्तिमा भनिएको छ।