विस्मृतिमा सभ्यताको स्मृति केन्द्र
आजको अस्तित्व र अवस्थासँग गाँसिएको इतिहासको परिभ्रमण गर्न सघाउने अभिलेखालयप्रतिको उदासीनता कस्तो छ भने, प्राज्ञिक वृत्तले समेत यसबारे विचार–विमर्श नगर्दा इतिहास लेखनको आधार भूमि कुनामा खुम्चिइरहेको छ।
इतिहासको अध्ययनप्रति हामीकहाँ अचम्मको उदासीनता र बेरुचि देखिन्छ। तर इतिहासको महत्व कति छ भने, विभिन्न प्रसंग र परिस्थितिमा यसको सम्झना नगरी हुँदैन। छिमेकी राष्ट्रसँग सीमा विवादको कारण देश हाँक्ने व्यक्तिहरुले बेलाबेला इतिहासको चर्चा गरेको सुनिन्छ। इतिहासतिर फर्किनु कुनै पनि भूगोल, सभ्यता, सम्पदा र अन्य धेरै कुराको सामथ्र्य र कमजोरीको विचरण गर्नु मात्र होइन, आजको धरातलको लेखाजोखा पनि हो।
इतिहाससँग जोडिएको महत्वपूर्ण विषय अभिलेख र अभिलेखालय सम्बन्धमा पनि खासै बहस र विवेचना भएको देखिंदैन। अभिलेखालयको महत्व र आवश्यकता नबुझेर हो या यसप्रतिको बेवास्ताले हो, आमसञ्चार तथा अन्य प्राज्ञिक वृत्तमा यसबारे विमर्श हुँदैन। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका नेपाल एशियाली तथा अनुसन्धान केन्द्र (सिनास), इतिहास केन्द्रीय विभाग, संस्कृति तथा पुरातत्व विभाग समेतले यस विषयप्रति रुचि नदेखाएको प्रतीत हुन्छ।
आजकै दिन १७ असोज २०२४ सालमा स्थापना भएको राष्ट्रिय अभिलेखालयले विगत केही वर्षदेखि स्थापना दिवस मनाउन थाले पनि यसको प्रचार–प्रसार हुन सकेको छैन।
केही वर्षअघि अध्येता सुजित मैनालीले अभिलेखालयको मूल्य र मर्ममाथि जोड दिँदै बहस उठान गरेबम थिए (स्मृति गुमाइरहेको राज्य, अन्नपूर्ण पोष्ट, ५ वैशाख २०७५)। तर, उनले उठाएको बहसमा त्यसपछि प्रतिकथनका कुनै सवाल नउठ्दा बौद्धिक वृत्तमा समेत यसको भूमिका ओझेल परेको महसुस हुन्छ। इतिहासको जीवन्त भण्डार र राज्यको स्मृति केन्द्रका रुपमा परिभाषित हुनुपर्ने राष्ट्रिय अभिलेखालयमा गएर यसबारे सोधखोज गर्ने चासो आम जनतालाई परको कुरा, प्राज्ञिक भनिएका व्यक्तिहरुलाई समेत नहुँदा यो केवल भण्डारण केन्द्र झैं बनेको छ। जुन विडम्बना हो।
अभिलेखालयः सभ्यताको स्मृति केन्द्र
प्राचीन मानवले छाडेर गएका ज्ञानको यस्तो एउटा आँखीझ्याल हो अभिलेखालय, जहाँबाट सभ्यता चियाइन्छ। प्राचीन सभ्यताको ज्ञान विज्ञान, दर्शन दृष्टिकोण, विश्व दृष्टिकोण, इतिहास, राजनीति आदिको अध्ययन अनुसन्धान गर्न सकिने भएकाले अभिलेखालयलाई सभ्यताको स्मृति केन्द्र भन्नु उचित हुन्छ। यस्तै, यो इतिहास लेखनको आधार भूमि पनि हो।
नेपालको सन्दर्भमा पनि अभिलेखालय इतिहास लेखनको क्षेत्रमा खुला ज्ञान केन्द्र हो। इतिहास अध्ययनका लागि यो एउटा महत्वपूर्ण उपकरण हो भने अभिलेखालय संचालन तथा व्यवस्थापन गर्नु आफैंमा अर्को प्राविधिक विधा भएकाले यो विषय विज्ञानसँग पनि नजिक छ।
अभिलेखालयले अतीत, वर्तमान र भविष्यलाई जोड्न सक्ने त्रिकोणात्मक भूमिका वहन गरिरहेको हुन्छ। अभिलेखालयको साधारण अर्थ अभिलेखहरुको संग्रह गर्ने भावार्थमा बुझिए पनि यसको विशिष्ट अर्थले प्राज्ञिकतालाई संकेत गर्छ। अभिलेखालयलाई विज्ञानको रुपमा अध्ययन–अध्यापन गराइने हुनाले यसको प्राज्ञिक भूमिका छ।
नेपालको सन्दर्भमा पनि अभिलेखालय इतिहास लेखनको क्षेत्रमा खुला ज्ञान केन्द्र हो। विशेषतः प्राचीन भाषा, लिपि, ज्योतिष शास्त्र लगायत विषयमा दक्षता हासिल गरेका व्यक्तिले मात्र अभिलेखालयमा गएर अध्ययन गर्न सक्छन्। इतिहास अध्ययनका लागि यो एउटा महत्वपूर्ण उपकरण हो भने अभिलेखालय संचालन तथा व्यवस्थापन गर्नु आफैंमा अर्को प्राविधिक विधा भएकाले यो विषय विज्ञानसँग पनि नजिक छ।
अभिलेखालयमा संकलित प्राचीन हस्तलिखित ग्रन्थहरूको पारम्परिक र आधुनिक विधिले संरक्षण र संवर्द्धन गर्न विशेष दक्षता आवश्यक पर्छ। प्राप्त अभिलेखहरुको वर्गीकरण, विश्लेषण, सुरक्षण, सूचीकरण एवं अभिलेखन, सूक्ष्म छविकरण, अध्ययन, अनुसन्धान एवं प्रकाशन समेत गर्ने कार्य अभिलेखालयको दायित्वभित्र पर्छ।
अभिलेखालय व्यवस्थापन अत्यन्त प्राविधिक र संवेदनशील विषय भएकाले यस क्षेत्रमा पर्याप्त ज्ञान र धैर्य आवश्यक पर्छ। सरकारी कार्यसम्पादनको प्रक्रियामा सिर्जना भएका अभिलेखहरू अभिलेखालयले प्राप्त गरेपछि त्यसको वर्गीकरण कार्य शुरु हुन्छ। वर्गीकृत दस्तावेजलाई आवश्यकता अनुसार रासायनिक उपचार गरेपछि त्यसलाई पञ्जीकरण गरी सुरक्षण एवं भण्डारण गर्ने अभिलेखालयको प्रारम्भिक प्रक्रिया हो।
अभिलेखालयमा संकलित प्राचीन हस्तलिखित ग्रन्थहरूको पारम्परिक र आधुनिक विधिले संरक्षण र संवर्द्धन गर्न विशेष दक्षता आवश्यक पर्छ। प्राप्त अभिलेखहरुको वर्गीकरण, विश्लेषण, सुरक्षण, सूचीकरण एवं अभिलेखन, सूक्ष्म छविकरण, अध्ययन, अनुसन्धान एवं प्रकाशन समेत गर्ने कार्य अभिलेखालयको दायित्वभित्र पर्छ।
अभिलेखालयको अर्थ र परिभाषामा विद्वानहरुबीच एकरुपता देखिँदैन। अभिलेख संरक्षण ऐन, २०४६ मा अभिलेखालयको परिभाषा नभए पनि कागजात सम्बन्धी परिभाषाले अभिलेखालयको महत्व व्याख्या गरेको छ। उक्त ऐन अनुसार अस्तलिखित ग्रन्थ, किताब, प्रतिवेदन, आर्थिक विवरण, सन्धी, सम्झौता, पत्रपत्रिका, चिठीपत्र, लिखत, चित्र, तस्वीर, नक्शा, योजना, चार्ट, फाइल, मिसिल, रजिष्टर वा कुनै प्रकाशन, फिल्म, माइक्रो फिल्म, ध्वनि रेकर्ड (टेप), चलचित्र, कम्प्युटर डिस्क वा कम्प्युटर क्यासेटको मूलप्रति वा प्रतिलिपि, ताडपत्र, भोजपत्र, स्वर्णपत्र, ताम्रपत्र वा शिलापत्रको प्रतिलिपि, पहिलो टाँचा लागेका हुलाक टिकट आदिको वैज्ञानिक विधिबाट संकलन, वर्गीकरण, सूचीकरण तथा अभिलेखन, सुरक्षण, संरक्षण, अध्ययन अनुसन्धान, एवं प्रकाशन समेत गर्ने संस्थालाई अभिलेखालय भनी बुझ्न सकिन्छ।
अभिलेखालयको विकासक्रम
विश्वमा अभिलेखालय विकासक्रमको लामो इतिहास छ। इशापूर्व ६६८–६२८ का बीचमा नव–असीरियन साम्राज्यका राजा असुरबनिपालले निनेभ (हालको इराकमा अवस्थित) भन्ने स्थानमा पहिलो पटक अभिलेखालय स्थापना गरेको इतिहास छ। उक्त अभिलेखालयमा दुई लाख बीस हजार जति माटाका चक्का आकारका अभिलेखीय वस्तु संग्रहित थिए। जसमा त्यस समयको मानविकी र चिकित्सा विषयमा लेखिएका थिए। हाल ती सम्पूर्ण सामग्री ब्रिटिश संग्रहालयमा राखिएका छन्।
यसैगरी, ग्रीसमा इशापूर्वको पाँचौं शताब्दीदेखि नै राष्ट्रिय दस्तावेजहरुलाई मन्दिरमा संग्रह गर्ने गरेको इतिहास छ। ओलम्पिक विजेताहरुको नामावली, विशिष्ट लेखकहरुका पाण्डुलिपि तथा सन्धिपत्र लगायत कागजपत्रहरु भण्डारणका लागि मेट्रनको मन्दिर प्रख्यात छ। त्यसैले यस मन्दिरलाई 'टेम्पल अफ मेट्रन– मदर अफ गड्स' पनि भनिन्छ (बलरामदास डंगोल, अभिलेख बन्दोबस्तीको सिद्धान्त र राष्ट्रिय अभिलेखालय, पृष्ठ ६, २०४४)।
सन् १३०२ मा इटालीको बोलंग शहरमा अभिलेखालयको स्थापना गरी अभिलेख विशेषज्ञ नियुक्त गरेको इतिहास छ। इटालीबाट शुरु भएको अभिलेखालय स्थापनाको प्रचलन बेलायत पुग्यो। बेलायती राजा एडवर्ड प्रथम (सन् १२७२–१३०७) ले लण्डन टावरमा रेकर्ड अफिसको स्थापना गरेका थिए। त्यस्तै, एलिजावेथ प्रथमले सन् १५७८ मा स्टेट पेपर अफिसको स्थापना गरिन्।
सन् १७८९ मा भएको फ्रेञ्च क्रान्तिपछि फ्रेञ्च नेशनल एसेम्बलीले १२ सेप्टेम्बर १७९० मा आर्काइभ नेशनल अफ पेरिस स्थापना गरेको इतिहास छ। यसैगरी, बेलायतमा १४ अगस्ट १८३८ मा पब्लिक रेकर्ड अफिस र अमेरिकामा १९ जून १९३४ मा नेशनल आर्काइभको स्थापना भएसँगै अभिलेखालयले विश्वव्यापी मान्यता पाएको देखिन्छ।
भारतको कलकत्तामा सन् १८९१ मा इम्पेरियल रेकर्ड डिपार्टमेन्टको स्थापना भयो। पछि सन् १९३७ मा यो अफिसलाई दिल्लीमा सारेपछि ‘नेशनल आर्काइभ अफ इण्डिया’ को नाममा स्थापित हुन पुग्यो।
सन् १७९० मा जर्मनीको मेइन्ज विश्वविद्यालयले अभिलेख विज्ञानलाई प्राज्ञिक विधाको रुपमा स्वीकार गरेर पाठ्यक्रममा समावेश गरी विश्वविद्यालयमा अध्यापन गराउन थालेपछि अभिलेखालय विषय प्राज्ञिक विधाको रुपमा प्रख्यात भयो।
९ भदौ १८६९ मा राजा गीर्वाणयुद्ध विक्रम शाहले पण्डित केदारनाथलाई दरबारको पुस्तक व्यवस्था गर्ने जिम्मेवारी सहितको लालमोहर लागेपछिको घटनालाई नेपालमा अभिलेख संग्रहको ऐतिहासिक शुरुआत मानिन्छ। यस प्रमाणबाट राजकीय संग्रहमा रहेका पुस्तकहरुको सुरक्षातर्फ ध्यान दिएको र त्यसका निम्ति कर्मचारीहरुको व्यवस्था गरी संस्थाको रुपमा मान्यता दिन खोजेको देखिन्छ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को) को एउटा प्रशाखाको रुपमा सन् १९४८ मा स्थापित अन्तर्राष्ट्रिय अभिलेखालय परिषद्ले अभिलेखालयको अभिवृद्धिका लागि काम गर्दै आएको छ। सन् १९७६ मा स्थापित दक्षिण र पश्चिम एशिया सम्मिलित संस्था (साउथ एण्ड वेस्ट एशियन रिजनल ब्रान्च अफ इन्टरनेशनल काउन्सिल अफ आर्काइभ) ले त्यस क्षेत्रमा अभिलेखालय सम्बन्धी काम गर्दै आएको छ। नेपालले यी दुवै संस्थाको सदस्यता लिएर आफूलाई अन्तर्राष्ट्रिय जगतमा अभिलेखालयको क्षेत्रमा पनि परिचित गराएको छ।
नेपालमा भने राज्य स्तरबाट संचालित व्यवस्थित र आधिकारिक अभिलेखालयको त्यति लामो इतिहास नभए पनि विभिन्न धार्मिक, सांस्कृतिक मठमन्दिर, तीर्थस्थल, गुठी लगायतका सामाजिक समिति या संस्थाहरुले प्राचीन एवं ऐतिहासिक महत्वका दस्तावेजहरुलाई काजगपत्र, ताम्रपत्र, शिलापत्र, भोजपत्र आदिको माध्यमबाट संग्रह एवं संरक्षण गर्ने प्राचीन अभ्यास भएको पाइन्छ।
९ भदौ १८६९ मा राजा गीर्वाणयुद्ध विक्रम शाहले पण्डित केदारनाथलाई दरबारको पुस्तक व्यवस्था गर्ने जिम्मेवारी सहितको लालमोहर लागेपछिको घटनालाई नेपालमा अभिलेख संग्रहको ऐतिहासिक शुरुआत मानिन्छ। यस प्रमाणबाट राजकीय संग्रहमा रहेका पुस्तकहरुको सुरक्षातर्फ ध्यान दिएको र त्यसका निम्ति कर्मचारीहरुको व्यवस्था गरी संस्थाको रुपमा मान्यता दिन खोजेको देखिन्छ।
यद्यपि त्यस बखत उक्त संग्रह श्री ५ को निजी पुस्तकालयको रुपमा वसन्तपुरस्थित हनुमानढोका दरबारभित्रै थियो। ‘विना हुकुम कसैलाई पुस्तक नदिने’ भन्ने वाक्य उक्त प्रमाणमा उल्लेख भएबाट यस पुस्तकालयको उपयोग र अधिकार अत्यन्त सीमित थियो भन्ने थाहा हुन्छ (पञ्चायत स्मारिका, २०४३, पृष्ठ संख्या ३५६)।
वसन्तपुर दरबारमा राखिएका यी पुस्तक तथा हस्तलिखित ग्रन्थलाई वि.सं. १९०४ मा प्रधानमन्त्री जंगबहादुर राणाको आदेशमा थापाथली दरबारमा सारियो। वि.सं. १९१० मा दरबार स्कूल बनेपछि ती सम्पूर्ण ग्रन्थलाई पुनः दरबारमै फिर्ता ल्याइयो। वि.सं. १९५७ मा वीर शमशेरले घण्टाघर पुस्तकालय भवन निर्माण गरेपछि ती ग्रन्थलाई यसै भवनमा सारियो। वि.सं. १९८९ मा भीम शमशेयरले यस पुस्तकालयमा तिब्बती खण्ड थप्न लगाए (ऐजन)।
२००९ सालमा पुरातत्व विभागको स्थापना भएपछि यो पुस्तकालय पुरातत्व विभाग अन्तर्गत राखियो। उल्लिखित दस्तावेजहरुलाई व्यवस्थित रुपमा भण्डारण, संरक्षण एवं संवद्र्धन गर्ने हेतुले वि.सं. २०१६ मा राष्ट्रिय अभिलेखालय खोल्ने घोषणा भयो। रामशाहपथ, काठमाडौंमा ७ माघ २०१८ मा अभिलेखालय भवनको निर्माण कार्य शुरु गरी १७ असोज २०२४ मा निर्माण सम्पन्न भएपछि राष्ट्रिय अभिलेखालय भवनको विधिवत स्थापना भयो, र यी पुस्तकहरु यसै अभिलेखालयमा स्थानान्तरण गरियो। त्यसपछि राष्ट्रिय अभिलेखालय शिक्षा मन्त्रालय अन्तर्गत रहने गरी औपचारिक रुपमा मुलुकको अभिलेख संकलन, भण्डारण एवं सुरक्षण गर्ने निकायका रूपमा कार्यान्वयनमा आयो।
के छ राष्ट्रिय अभिलेखालयमा ?
राष्ट्रिय अभिलेखालयमा इतिहास र सभ्यताका महत्वपूर्ण लिखत र प्राचीन वस्तुहरू संग्रह र संरक्षण गरिएका छन्। विशेषगरी चार पाना मात्र भएको ताडपत्रमा गुप्त लिपि र पाली भाषामा लेखिएको विनय पिटक नामक आठौं शताब्दीको मानिने विश्वकै पुरानो ग्रन्थ, विश्वमा एकप्रति मात्र छ भनी मानिएको ताडपत्रमा लेखिएको बाह्रौं शताब्दीको अम्बिका खण्ड – पद्मपुराण, रञ्जना लिपि र संस्कृत भाषामा ताडपत्रमा लेखिएको नेपाल संवत ३०२ को सद्धर्मपुण्डरिक सूत्र, सातौं शताब्दीको मानिने गिलगिट लिपिमा ताडपत्रमा लेखिएको सद्धर्मपुण्डरिकसूत्र, एउटै पात भोजपत्रमा लेखिएको दुर्गाशप्तशती चण्डी लगायत दुर्लभ ग्रन्थहरु यस अभिलेखालयमा संग्रहित छन्।
विशेषतः अभिलेखालयमा ताडपत्र र भोजपत्रमा लेखिएका पचासौं हजार ग्रन्थलाई विशेष आद्र्रता र सुरक्षाका साथ संग्रह गरिएको छ। विषयका आधारमा धर्मशास्त्र, दर्शन, ज्योतिष, पुराण, इतिहास, तन्त्र, प्रशासन, अर्थ र भूमि व्यवस्था आदि सम्बन्धी ग्रन्थहरू छन्। त्यस्तै, लिच्छवि, गुप्त नागरी, देवनागरी, रञ्जना, नेवारी, बंगाली, तिब्बती, मैथिली लगायतका भाषा तथा लिपिमा लेखिएका पुस्तकहरु पनि राखिएका छन्।
प्रविधिमैत्री अभिलेख व्यवस्थापन
अभिलेखको व्यवस्थापन गर्दा यसलाई दीर्घकालसम्म सुरक्षित राख्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ। ऐतिहासिक कागजपत्र, ताडपत्र, ताम्रपत्र, भोजपत्र, शिलापत्र आदि समयक्रमसँगै जीर्ण हुँदै जाने, मुसा, धमिरा, धूलो आदिको प्रभाव पर्ने, मसी उड्दै गएर पढ्न नमिल्ने हुने, आगो, पानी या चोरीको जोखिम हुने र उचित संरक्षण हुन नपाई नष्ट भई लोप समेत हुने सम्भावना रहन्छ।
यस्ता अभिलेखलाई पुरानै शैलीबाट मात्र संरक्षण गर्न खोज्दा उल्लिखित समस्या त हुने नै भए, साथै खोज उत्खनन् आदिबाट प्राप्त थपिएका अभिलेखहरुको संख्या बढ्दै जाने र अभिलेखीकरण गरिने कार्यालय वा संस्थामा स्थान अभावका कारण सुरक्षित भण्डारण गर्न पनि कठिनाइ हुन्छ। यस्ता समस्या न्यूनीकरण गर्न सूक्ष्म छविकरण प्रविधि प्रभावकारी हुन्छ। विश्वका अन्य मुलुकहरुले यो प्रविधि मार्फत अभिलेख सुरक्षित राख्ने अभ्यास गरेको पाइन्छ।
प्रविधिको विकाससँगै प्राचीन एवं ऐतिहासिक महत्वका अभिलेखहरुलाई राष्ट्रिय अभिलेखालयमा डिजिटलाइजेसन गर्ने कार्य समेत भइरहेको छ। राष्ट्रिय अभिलेखालयले यसरी तयार गर्दै गरेका अभिलेखको आधुनिक प्रयासहरुलाई आफ्नो वेबसाइट मार्फत सार्वजनिक पनि गर्दै आएको छ।
नेपालमा पनि वि.सं. २०१८ मा पहिलो चोटि वीर पुस्तकालयमा रहेका प्राचीन ग्रन्थहरुको माइक्रो फिल्म लिने कार्यको थालनी भयो। यसपछि वि.सं. २०२७ मा तत्कालीन श्री ५ को सरकार, पुरातत्व विभाग र जर्मन ओरियन्टल सोसाइटीबीच सम्झौता गरी २०५७ सालसम्ममा देशका विभिन्न स्थानका प्राचीन, ऐतिहासिक महत्वका कागजपत्रहरुको माइक्रो फिल्म स्थलगत रुपमै लिने कार्य भयो। यसका लागि नेपाल जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजनाबाट राष्ट्रिय अभिलेखालयमा फोटोग्राफी सेक्सनको समेत स्थापना भयो।
प्रविधिको विकाससँगै प्राचीन एवं ऐतिहासिक महत्वका अभिलेखहरुलाई राष्ट्रिय अभिलेखालयमा डिजिटलाइजेसन गर्ने कार्य समेत भइरहेको छ। राष्ट्रिय अभिलेखालयले यसरी तयार गर्दै गरेका अभिलेखको आधुनिक प्रयासहरुलाई आफ्नो वेबसाइट मार्फत सार्वजनिक पनि गर्दै आएको छ। हाल अभिलेखालयको वेबसाइटमा विभिन्न विषय, भाषा, लिपि, मिति र स्थान विशेषका आधारमा वर्गीकरण गरी तयार पारिएका एक लाख चौध हजार ५५२ क्याटलगलाई अनलाइन प्रविष्टि गरिसकिएको छ।
यस्तो प्रयासबाट अभिलेखहरुलाई सजिलैसँग विद्ययुतीय उपकरण एवं भण्डारण डिभाइसहरुमा धेरै प्रति बनाई संरक्षण गर्न सकिन्छ। भनेको बेला विभिन्न विधा र शीर्षकबाट सजिलै खोज्न सकिन्छ र प्रतिलिपि निकाल्न समेत सजिलो हुन्छ। यसका लागि अभिलेखालयको संरचना समेत प्रविधिमैत्री बनाई दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्ने देखिन्छ। विद्यमान जनशक्तिलाई समेत यथोचित तालिमको व्यवस्था हुनु जरुरी छ। यसो भएमा मात्र अभिलेखहरु सुरक्षित रुपमा संरक्षण एवं संवद्र्धन गर्ने कार्य प्रभावकारी हुन्छ।
समयानुकूल कानून र विस्तारको खाँचो
राष्ट्रिय अभिलेखालय स्थापना भएपछि लामो समयसम्म यसका लागि आवश्यक पर्ने कानूनी संरचना बन्न सकेन। पुरातत्व विभागको मातहतमा रहेकाले प्राचीन स्मारक संरचना ऐन, २०१३ र अन्य प्रचलित कानूनी आधारबाट यो संचालित रहेको मान्न सकिन्छ।
अभिलेखालय संचालन तथा व्यवस्थापनको लागि अन्य कार्यविधि तथा प्राविधिक मापदण्ड समेत नभएको कारण राष्ट्रिय दृष्टिकोणले महत्वपूर्ण कागजातलाई अभिलेखको रुपमा व्यवस्थित एवं सुरक्षित तरिकाले राख्नुपर्ने आवश्यकताको महसुस गरी अभिलेख संरक्षण सम्बन्धी व्यवस्था गर्न बनेको ऐन अभिलेख संरक्षण ऐन, २०४६ लागू भएपछि यसको संचालन र व्यवस्थापनमा सहजता भयो। यस ऐनमा अभिलेखको परिभाषा, राष्ट्रिय अभिलेखालयको काम, कर्तव्य र अधिकार, विभिन्न सरकारी कार्यालयले २५ वर्ष पूरा भएका कागजात राष्ट्रिय अभिलेखालयमा पठाउनुपर्ने, अभिलेखको सुरक्षा गर्नुपर्ने तथा दण्ड सजाय सम्बन्धी व्यवस्था छ। राष्ट्रिय संस्कृति नीति, २०६७ मा राष्ट्रिय अभिलेखालयको स्तरवृद्धि गरिने उल्लेख छ।
अभिलेखहरुलाई पुरानै शैली भन्दा पनि माइक्रोफिल्म, डिजिटलाइजेसन आदि प्रविधिबाट थोरेै स्थानमा अधिक भण्डारण गरी प्रविधिमैत्री व्यवस्थापन गर्न समयसापेक्ष कानूनको आवश्यकता छ। देश संघीय संरचनामा गइसकेका कारण सोही बमोजिम कानून तर्जुमा गरी मुलुकका सातै प्रदेशमा अभिलेखालयहरुको स्थापना गरी केन्द्रबाट निर्देशन एवं नियमन हुन जरुरी छ।
राष्ट्रिय अभिलेखालय शुरुमा शिक्षा मन्त्रालय अन्तर्गत स्थापना भएको थियो। त्यसपछि संस्कृति हेर्ने मन्त्रालय अन्तर्गत पुरातत्व विभागको मातहतमा रहेको देखिन्छ भने हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत विभाग स्तरको छुट्टै निकायको रुपमा आफ्ना कार्यहरु सम्पादन गर्दै आएको छ। तर, समय क्रममा देशैभरका अभिलेखहरु केन्द्र स्तरको सानो संरचनामा बनेको अभिलेखालयमा भण्डारण गरी संरक्षण र संवद्र्धन गर्न असम्भव हुने देखिन्छ।
अभिलेखहरुलाई पुरानै शैली भन्दा पनि माइक्रोफिल्म, डिजिटलाइजेसन आदि प्रविधिबाट थोरेै स्थानमा अधिक भण्डारण गरी प्रविधिमैत्री व्यवस्थापन गर्न समयसापेक्ष कानूनको आवश्यकता छ। देश संघीय संरचनामा गइसकेका कारण सोही बमोजिम कानून तर्जुमा गरी मुलुकका सातै प्रदेशमा अभिलेखालयहरुको स्थापना गरी केन्द्रबाट निर्देशन एवं नियमन हुन जरुरी छ।
अभिलेखालय बन्दोबस्त एवं व्यवस्थापन गर्ने कार्य आफैंमा प्राज्ञिक विधा भए पनि नेपालका विश्वविद्यालयहरुमा यसको औपचारिक अध्ययन, अध्यापन भएको देखिंदैन। मानविकी र प्राविधिक दुवै प्रकृति वहन गर्ने अभिलेखालय विज्ञानको पठनपाठन गर्नु पनि आवश्यक देखिन्छ।
संस्कृति तथा पुरातत्व विषयमा लोकसेवा आयोगले तयार गरेको पाठ्यक्रममा उल्लेख भएको पाँच नम्बरको अंकभारमा केन्द्रित रहेर गरिने अध्ययनले अभिलेखालयको आवश्यकता पूरा गर्न सक्दैन। पाँच नम्बर अंकभारको अध्ययन गर्न समेत सामान्य पुस्तकहरुको समेत अभाव छ। यसैले अभिलेखालय विज्ञान सम्बन्धी आधिकारिक पुस्तक लेखनमा सम्बन्धित विद्वान्हरुको ध्यान जान जरुरी छ। इतिहासको अनुसन्धानमा दक्ष जनशक्ति तयार गर्न अभिलेखालय आफैंले पनि चासो दिनुपर्छ।
विभिन्न विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरुसँग समन्वय गरेर अभिलेखालय विधालाई पाठ्यक्रममा समावेश गरिनुपर्छ। अभिलेखालयमा रहेका ग्रन्थहरुको अध्ययन गरी नवीन ज्ञानको निर्माण गर्न यसको महत्वपूर्ण भूमिका भएकाले यसतर्फ सरोकारवाला निकायहरुको ध्यान जान जरुरी छ।