खोइ बालबालिकाको झूट, छल र कपट विरुध्द अधिकार ?
अनेकौँ बहानामा हामी हाम्रा बालबालिकासँग यति धेरै झूट बोल्छौँ कि उनीहरु झूट सुन्न अभ्यस्त हुँदै जान्छन्। विडम्बना, आजसम्म हामीले बालबालिकामाथि हुने ढाँट, छल र कपट विरुद्धको अधिकार सुनिश्चित गर्न सकेका रहेनछौँ।
बाल दिवसको दिन, २९ भदौ। म बिहान सबेरै दूध लिन डेरीतिर जाँदै थिएँ। बाटोमा एउटा घरबाट आएको आवाज सुनें, “यति जाउलो खाएनौ भनें पुलिस अंकल बोलाइदिन्छु।”
डेरी पुगेर घर आइपुग्दासम्म मेरो कानमा त्यही बोली गुञ्जिरह्यो। अनेक तरहका प्रश्न मेरो मनमा खेल्न थाले। बालबालिकाका नैसर्गिक अधिकारभित्र के कस्ता विषय पर्छन्? बालबालिकालाई ‘ढाट्न हुँदैन’ भनेर सिकाउने मान्छेहरु नै किन झूट बोल्छन्? यस्ता प्रश्नहरुले मलाई बालबालिकाको अधिकार सम्बन्धी सामग्री अध्ययन गर्न उर्जा मिल्यो।
जति अध्ययनको दायरा बढाउँदै गएँ, म उति साँघुरिएँ। बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद–२ मा बालअधिकार सम्बन्धी १५ वटा बुँदा उल्लेख छन्। जसमा अन्य अधिकारका अतिरिक्त अभिव्यक्ति स्वतन्त्रताको अधिकार, सूचनाको अधिकार, पोषण तथा स्वास्थ्यको अधिकार, खेलकुद, मनोरंजन तथा सांस्कृतिक अधिकार पनि समावेश छन्।
तर, यी कुनै पनि अधिकारले माथि मैले उल्लेख गरेको घटनालाई सम्बोधन गरेको पाइनँ। विडम्बना नै भन्नुपर्छ, आजसम्म हामीले बालबालिकामाथि हुने ढाँट, छल र कपट विरुद्धको अधिकार सुनिश्चित गर्न सकेका रहेनछौँ। अनेकौँ बहानामा हामी हाम्रा बालबालिकासँग यति धेरै झूट बोल्छौँ कि शायद जीवनभर अरु कसैसँग पनि त्यति बोलिंदैन। के यो बालबालिकामाथिको अनुचित व्यवहार भएन?
नेपालको संविधान–२०७२ को भाग ३ मा ‘मौलिक हक र कर्तव्य’ अन्तर्गत धारा ३९ मा बालबालिकाको हकसम्बन्धी व्यवस्था छ। उक्त धाराको उपधारा ६ मा भनिएको छ, “बालबालिकालाई कुनै पनि प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन।” हामीले त परिवारबाटै आफ्ना बालबालिकालाई अनुचित व्यवहार गरिरहेका रहेछौँ भन्ने हेक्का भएको रहेनछ।
खासगरी आमाबाबुले बोल्ने झूटको सूची एकै प्रकारका छन्। जस्तो, ‘चकचक गर्यो भने जोगीले बोरामा हालेर लान्छ’ भन्ने तर, चकचक गर्दा जोगी नै नआउने! ‘यति मान्यौ भने तिमीले जे माग्छौ दिन्छु’ भन्ने अनि मानेपछि केही नदिने! ‘तिमी हजुरीसँग बस है म एकैछिनमा आउँछु’ भन्ने अनि दिनभरि र चार पाँच दिनसम्म नआउने! ‘चुपचाप भएर सुत्नुपर्छ, नत्र सबैलाई बाघले खान्छ’ भन्ने अनि घुर्दै सुत्ने!
यी र यस्ता झूट कुरा स–साना बालबालिका हुने घरमा दैनिक सुन्न पाउँछौँ। यदि कुनै बच्चालाई सम्हाल्नु छ भने यस्तै झूट बोलिहाल्छौँ। रोइरहेको बच्चा फकाउन पनि झूट बोल्छौँ। यो त बालबालिकालाई झूट बोल्न सिकाउनु जस्तै हो। हामी झूट बोल्ने व्यावहारिक ज्ञान नै दिइरहेका हुन्छौँ।
बालबालिकाको उत्सुकता मेटाउनुको साटो गाली गरेर पनि चुप लगाउने चलन छ। उदाहरणको लाग, टीभीमा स्यानेटरी प्याडको या परिवार नियोजनको विज्ञापन आउँदा बच्चाले त्यसबारे सोध्यो भने परिवारका सदस्य मुखामुख गर्दै वा मुख लुकाएर हाँस्छन् र नजरअन्दाज गर्छन्। बच्चाले सोध्यो भने उसलाई हप्काइन्छ। वा अन्टसन्ट जवाफ दिएर चुप लगाइन्छ। तर, उसले सत्य जान्न पाउनु उसको अधिकार हो।
साना बालबालिकाको मस्तिष्क निकै तेजिलो हुन्छ। उनीहरुले बुझ्दैनन् भन्ने ठानेर हामी कि गाली गर्छौँ, कि टार्छौँ। उसकोे बाँकी रहेको सिंगो जीवनलाई मार्गनिर्देश गर्ने उसको मानसिकताले, व्यक्तित्वमा कस्तो असर पार्ला भन्ने सोच्दैनौँ। त्यसैले बच्चाहरुसँग झूट बोलेर हिंसा गरिरहेका हुन्छौँ। धेरै बालबालिका यस्ता सामान्य लाग्ने तर, गम्भीर रुपमा मनोवैज्ञानिक असर गर्ने बालहिंसा सहेर हुर्किन्छन्।
झूट बोल्ने व्यावहारिक ज्ञान पाएर हुर्किएका नागरिक भविष्यमा कसरी इमानदार होलान्। मानिस सत्यतर्फ इमानदार हुन नसक्नु नै अहिलेको समस्या हो। साँचो बोल्नुपर्छ, सत्य पथमा हिंड्नुपर्छ भन्ने धेरै जनाको विचार हुन्छ। तर, त्यो व्यवहारमा नभइ विचार र बोलीमै सीमित हुन्छ।
देखावटी सफलताको असन्तुलित प्रतिस्पर्धा र अहंपन, अहंकारसहितको होडबाजीले मानवता हराउँदै गएको छ। बलात्कार गर्नु, घुस लिनु, ठग्नु यी सबै सरल भएका छन्। यस्ता जघन्य अपराधलाई सरल रुपमा लिन सक्नेको मानसिकता कस्तो होला? यस्तो मानसिकताको निर्माण नै बालबालिकामा सिकाइएको झूटबाट शुरु हुन्छ।
बालबालिकाहरुले बुझ्दैनन् भनेर हामी उनीहरुकै अगाडि झगडा गर्छौँ। कतिपय अवस्थामा उनीहरुमाथि रिस पोख्छौँ। कहिलेकाहीँ बच्चालाई बढी फुर्काएर हुँदै नभएका कुराहरुमा मख्ख पारिदिन्छौँ। बालबालिकाले हामीले बोलेको झूटलाई परख गर्न सक्दैनन्। तर, हुबहु नक्कल गर्न सक्छन्।
अभिभावकका गलत व्यवहारकै कारण कतिपय बालबालिका कुलतमा फस्ने, एक्लै बस्न रुचाउने, अपराध गर्न प्रेरित हुने हुन्छन्। त्यसैले बालबालिकासँग बोलिने झूट जीवनमा लामो लहरो भएर तन्कन्छ।
साना बालबालिकाको मस्तिष्क निकै तेजिलो हुन्छ। उनीहरुले बुझ्दैनन् भन्ने ठानेर हामी कि गाली गर्छौँ, कि टार्छौँ। उसकोे बाँकी रहेको सिंगो जीवनलाई मार्गनिर्देश गर्ने उसको मानसिकताले, व्यक्तित्वमा कस्तो असर पार्ला भन्ने सोच्दैनौँ। त्यसैले बच्चाहरुसँग झूट बोलेर हिंसा गरिरहेका हुन्छौँ।
असल अभिभावक, असल समाज र असल राष्ट्रले बालबालिकालाई छुट्टै र विशेष व्यक्तिका रुपमा हेर्न सक्नुपर्छ। बालबालिका परिवारको खेलौना हैनन्। उनीहरु देशका नागरिक हुन्। परिवार, समाज र देशको भविष्य उनीहरुकै काँधमा छ। उनीहरुमा शारीरिक, मानसिक, भावनात्मक र यौनिक आदि कुनै पनि रुपको हिंसा हुन्छ भने त्यो दण्डनीय अपराध हो।
बाल अधिकार सम्बन्धी धेरै बहस भए। अझै भइरहेकै छन् र अरु हुनेछन्। तर, बालबालिकाले सत्य जान्न पाउने तथा झूट, छल र कपट विरुद्धको अधिकार सुनिश्चित गर्न आवाजसमेत उठेको देखिंदैन। एक जिम्मेवार, इमानदार र कर्तव्यनिष्ठ नागरिकको निर्माण गर्ने जिम्मा परिवार, समाज र राष्ट्र सबैको हो।
बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा जति ध्यान दिइन्छ त्योभन्दा बढी प्राथमिकता बाल मनोविज्ञानलाई दिनुपर्छ। जबसम्म हामी स्वस्थ बाल मनोविज्ञानप्रति ध्यान केन्द्रित गर्दैनौँ तबसम्म देशले जिम्मेवार, इमानदार र कर्तव्यनिष्ठ नागरिक पाउने विश्वास गर्न सकिंदैन। त्यसका लागि बालबालिकाको ढाँट, छल, र कपट विरुद्धको अधिकार सुनिश्चित हुनुपर्छ।