हरेक दिन बिजुली किन काटिन्छ ? प्रणालीगत कमजोरी कि नियतवश ?
वर्षात सकिएपछि र हिउँदमा माग बढी हुने बेलामा गरी वर्षमा दुईपटक आवश्यक मर्मत गर्दा बिजुली काट्नुपर्ने हुन्छ। अन्यथा, कुनै भवितव्यबाहेक लोडशेडिङ गर्नुनपर्ने गरी प्रणालीको विकास भइरहेको विद्युत् प्राधिकरणको भनाइ छ।
उपत्यकामा दैनिकजसो क्षेत्रगत रूपमा लोडशेडिङ भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गरेरै बिजुली काट्ने (लाइन सटडाउन) गरिरहेको छ। प्राधिकरणले १७ असोज (शनिबार) एकै समयमा ३५ स्थानमा सटडाउन गर्ने तालिका सार्वजनिक गर्यो।
प्राधिकरणले लगनखेल, पुल्चोक र भैंसेपाटी वितरण केन्द्र अन्तर्गतको २४ स्थानमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली आपूर्ति बन्द गर्ने सूचना एक दिन अगाडि नै जारी गर्यो। यो समयमा तीनवटै फिडर अन्तर्गत गणेशथान, एकान्तकुना, खाद्य गोदाम, मेडिसिटी हस्पिटल, आदिनाथ मार्ग, गणेश मन्दिर, मन्जुश्री मार्ग, भन्ज्याङ पिपलबोट, मगर गाउँ, सानो खोकना, खोकाना, कार्य विनायक, बुङमती एरिया, नेवा इँट्टा, चुनिखेल, कतार एम्बेस्सी, खोईचा, फर्सिडोल, जोर्खु, टोकलमाथ, खहरे, डुकुछाप, दनुवार बस्ती लगायतका क्षेत्रमा बत्ती काट्ने छ। सोही दिन इन्टरब्रान्चको मिटरिङ युनिट चार्ज गर्न ती क्षेत्रमा सटडाउन गर्नुपरेको प्राधिकरणको भनाइ छ।
सोही दिन १० बजेदेखि २ बजेसम्म बालाजु वितरण केन्द्र अन्तर्गतको विष्णुमती फिडरको चौडाइको काम गर्नुपर्ने भएकोले वनस्थली, बालाजु, माछापोखरी, बाइपास, गुम्बाचौकी, मनमैजु पुल, लोकतान्त्रिकचोक, इन्द्रेणी पुल लगायतका क्षेत्रमा बत्ती नहुने प्राधिकरणकाे सूचनामा उल्लेख छ।
प्राधिकरणका प्रवक्ता मदन तिम्सिना क्षेत्रगत रूपमा दैनिक तालिका बनाएर बत्ती काटिइरहेको बताउँछन्। उनले भने ‘‘वर्षको दुईपटक मर्मत गर्नुपर्ने तालिका अनुसार नै नियमित मर्मतसंभारका लागि विभिन्न ठाउँमा तालिका मिलाएर सटडाउन गर्ने गरिएको हो।’’ यस्तो कार्य वर्षको दुईपटक गर्नुपर्ने भएकोले वर्षेनि वर्षा सकिएपछिको दशैं अगाडि र हिउँदमा मर्मतको लागि सटडाउन हुने गरेको तिम्सिना बताउँछन्। उनी भन्छन्, ‘‘पिक लोड सुरु गर्नुभन्दा अगाडि पनि बत्ती काटेरै मर्मत गर्ने तथा प्राविधिक काम गर्नुपर्ने भएकोले देशैभर प्राधिकरणले आवश्यकता अनुसार र सूचना जारी गरेरै सर्टडाउन गर्ने गरेको छ।’’
यसरी गरिने बिजुलीको मर्मत पहिले पनि हुने र आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ। नियमित मर्मत र प्राविधिक कारणबाहेक औपचारिक र घोषित लोडशेडिङ भने नहुने प्राधिकरणको भनाइ छ। यो बाहेक कहिलेकाहीं हुने आकस्मिक प्रयोजनका लागि बत्ती काटिन सक्छ। वर्षातको समयमा बिजुलीका पोलमा समस्या हुँदा, ठूलो हावाहुरी आउँदा, प्राकृतिक विपत्ति वा अन्य कुनै पनि भवितव्य परेको अवस्थामा बाहेक बिजुली सटडाउन नहुने दाबी पनि प्राधिकरणको छ। प्रणालीमा सुधार हुँदै गएको तथा आपूर्ति पनि बढेकोले मुलुकबाट लोडशेडिङ हटिसकेको तिम्सिनाले बताए। सानोतिनो कारणमा छोटो समय आपूर्ति रोकिनुलाई उपभोक्ताले बढी हल्ला गरेर नकारात्मक सन्देश प्रवाह गर्न नहुने तर्क उनको छ।
प्रणालीमा सुधार गर्दै जानुपर्ने र प्रविधिको प्रयोग पनि गर्नुपर्ने भएकोले विभिन्न प्रयोजनका लागि प्राधिकरणले सूचना दिएरै सर्टडाउन गर्ने गरेको बुझाइ प्राधिकरणका प्रवक्ता तिमिल्सिनाको छ। सामाजिक सञ्जालमा आउने गुनासो र केही मिडियामा बिजुली आपूर्तिमा समस्या भन्ने समाचार आउनुलाई भने सटडाउनको नकारात्मक प्रचार मात्रै भएको बुझाइ उनको छ।
प्राधिकरणले वितरण प्रणालीमा सुधार गर्नेदेखि भूमिगत तार विछ्याउनेसम्मका काम गरिरहेको छ। प्राधिकरणले निरन्तर सुधारको काम गरिरहेको र आधुनिक प्रविधिलाई आत्मसात् गर्दै गएकोले अब जनगुनासो कम भन्दा कम आउने गरी संरचना बनिरहेको पनि प्राधिकरणका अधिकारी बताउँछन। भवितव्य पर्ने, आकस्मिक समस्या देखिने र ट्रान्समिसनमा वा टोलमा आउने समस्याका कारण भने गुनासो शून्य भने हुनै नसक्ने बुझाइ प्राधिकरणको छ। प्राधिकरणले वितरण प्रणालीको सुधारकै लागि उपत्यकाकै तार जमीनमुनिबाट प्रवाह गराउने काम गरिरहेको छ।
तार भूमिगतमा सुस्तता
प्राधिकरणले फागुनदेखि शुरु गरेको बिजुलीको तार भूमिगत गर्ने काम कोभिडका कारण सुस्त भएको छ। उपत्यकामा तीन वर्षभित्रै मूल सडक र आवश्यकता अनुसार टोलटोल प्रवेशका क्षेत्रमा सुरु भएको भूमिगत तार बिछ्याउने काम कोभिडका कारण सुस्त भएको नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए।
सिलवाल भन्छन्, ‘‘पहिलोपटक प्राधिकरणले प्रविधिको प्रयोग गरेर बिजुलीका तार भूमिगत गर्ने कामको सुरुआत गरेको र उपत्यकाको ११ वटै वितरण केन्द्रमार्फत काम अगाडि बढाएको भए पनि कोभिडले अपेक्षाभन्दा निकै सुस्त काम भएको छ।’’
हरेक वितरण केन्द्रबाट भएको भूमिगत काम ठेक्का लागेको ३० महीनाभित्रै सक्ने भनिएपछि कोभिडका कारण शुरु भएको महाराजगन्ज र चावहिल वितरण केन्द्रको काममा सुस्तता आएको छ। महाराजगन्ज वितरण केन्द्रले पानी पोखरीदेखि बूढानीलकण्ठसम्मको काम गर्न थालेको भए पनि ६ महीनामा जम्मा आठ किमि मात्रै तार भूमिगत भएको छ। चावहिलबाट मित्रपार्कसम्म शुरु भएको काममा पनि सानो ठाउँमा मात्रै तार भूमिगत भएको छ। बाँकी काम अपेक्षा अनुसार गति लिन नसकेकोे सिलवाल बताउँछन्।
रत्नपार्क र महारजगन्ज वितरण केन्द्रले निकालेको ठेक्का संयोगले एउटै ठेकेदार परेको र कोभिडका कारण श्रमिक काममा लगाउन समस्या हुँदा गति कम भएको छ। दुवै स्थानमा भारतीय प्राविधिकसहितका कामदारले काम गरिरहेका छन्। बन्दाबन्दीले भारत गएका ती कामदार नफर्किदा अपेक्षा अनुसारको गति लिन नसकेको सिलवाल बताउँछन्।
भूमिगत तारको जिम्मा ११ वटै वितरण केन्द्रलाई
प्राधिकरणकाे उपत्यकाको ११ वटै वितरण केन्द्रबाट तार भूमिगत गर्ने काम भइरहेको छ। यीमध्ये दुईवटा वितरण केन्द्र महाराजगन्ज र चावहिलबाट तार भूमिगत गर्ने काम धमाधम भइरहेको छ। बानेश्वर, कीर्तिपुर, कुलेश्वर, बालाजु र जोरपाटीले भर्खरै ठेक्का लगाएका छन्। ललितपुरको लागि पुल्चोक र भक्तपुरलाई ठिमी वितरण केन्द्रबाट यस्तो कामको ठेक्का लगाएर मूल्यांकन भइरहेको छ। बाँकी वितरण केन्द्रले भने भूमिगत तारको ठेक्का लगाउने चरणमा रहेको छ।
प्राधिकरणका अनुसार तीन वर्षभित्र उपत्यकाको सबै क्षेत्रमा तार भूमिगत बनाउने योजना अगाडि बढेको भए पनि कोभिडको कारणले एक वर्षसम्म पछाडि थकेलिन सक्छ । यो परियोजनाका लागि प्राधिकरणले एसियाली विकास ब्यांकबाट ऋण लिएको छ। प्राधिकरणका अनुसार उपत्यकाको तार भूमिगत गर्न करीब रु.१२ अर्ब खर्च हुने भएको छ। यो रकम सबै एडीबीको ऋण सहयोग भएको प्राधिकरणको भनाइ छ।
प्राधिकरणले जमीन खनेर र आधुनिक प्रविधिको प्रयोगबाट नखनी पनि तार भूमिगत गरिरहेको छ। प्राधिकरणले बिजुलीसँगै इन्टनरेट सेवा प्रदायकको अप्टिकलर फाइबरलाई पनि सँगसँगै भूमिगत बनाउन थालेको छ। जसका कारण बिजुलीको तारसँगै अन्य सेवाप्रदायकको पनि अप्टिकल फाइवर भूमिगत हुँदा तारबाट हुने दृश्य प्रदूषण नियन्त्रण हुनुका साथै टिकाउ र गुणस्तरीय सेवा प्रदान गर्न सकिने हुन्छ।
प्राधिकरणको मध्य तथा उत्तर काठमाडौं (महाराजगन्ज)का आयोजना प्रमुख अभिषेक अधिकारीका अनुसार ५ फागुनमा प्रधानमन्त्रीले शुरु गरेको महाराजगंज बूढानीलकष्ठ क्षेत्रको यो काम १६ किमी क्षेत्रमा गर्नुपर्ने भए पनि भर्खर आठ किमिमा मात्रै पूरा भएको छ।
महाराज वितरण केन्द्रले सुरु गरेको यो कमको लागि रु.३ अर्ब ८५ करोड खर्चंदैछ। पानीपोखरी, महाराजगन्ज, गोगबु, बूढानीलकण्ठदेखि टोखासम्मको बिजुलीको तार भूमिगत गर्ने जिम्मा यो वितरण केन्द्रको हो। जिम्मेवारी अनुसार काम गर्न सडक विभागले क्षेत्रगत रुपमा कामको स्वीकृति दिने र बालाजुदेखि महाराजगन्जसम्म सडक विस्तार हुने भएकोले त्यसमा काम गर्न पाइएको छैन। जसका कारण ३० महीनाभित्र सक्नुपर्ने जिम्मेवारीको काम समयमा नै सक्नु चुनौतीपूर्ण छ।
प्राधिकरणका निर्देशक नवराज ओझा सडक विभागले सीमित स्थान उपलब्ध गराएका कारण एकैपटक धेरै ठाउँमा काम गर्न नपाएको बताउँछन्। एउटा स्थानको काम सकेपछि मात्रै अर्को स्थानमा जान विभागले अनुमति दिने गरेकोले पनि एकैपटक धेरै जनशक्ति परिचालन गर्ने र धेरै स्थानमा काम गर्न नपाइएको गुनासो गर्छन्। उपत्यकाको तार भूमिगत गरेर पोखरा र भरतपुरमा पनि शुरु गर्ने योजना प्राधिकरणले बनाइसकेको छ। उनका अनुसार पानी जम्ने तराई क्षेत्रबाहेकका स्थानमा तार भूमिगत गर्न सकिने भएकोले आवश्यकता अनुसार देशैभरका शहरलाई व्यवस्थित बनाउने प्राधिकरणको योजना रहेको छ।
भूमिगत तार बिछ्याउँदा बिजुली काट्नु पर्दैन। भूमिगत काम सकेर बिजुली प्रवाह गर्दा मात्रै केही घण्टाको लागि मात्रै सटडाउन गर्नुपर्ने भए पनि हाल कुनै पनि क्षेत्रको काम नसकिएकोले यसको कारण बत्ती काट्नु नपरेको पनि प्राधिकरणको भनाइ छ।