धोनीको टीम चेन्नई सुपर किङ्स लगातार तीन खेलमा पराजित
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई सुपर किङ्स जारी सिजन लगातार तीन खेलमा पराजित भएको छ।
चेन्नई हिजोको चौँथो खेलमा सनराइजर्स हैदराबादसँग सात रनले पराजित भयो। चेन्नईले पहिलो खेलमा मुम्बईलाई पाँच विकेटले पराजित गरेको थियो। त्यसपछि दोस्रो खेलमा राजस्थान रोयल्ससँग १६ रनले र तेस्रो खेलमा दिल्ली क्यापिटल्ससँग ४४ रनले पराजित भएको थियो।
हिजो राति सकिएको चौँथो खेलमा हैदराबादले दिएको १६५ रनको लक्ष्य पछ्याएको चेन्नईले १५७ रन मात्र बनाउन सक्यो। जम्मा ४२ रन बनाउँदा उसका चार विकेट गुमिसकेको थियो। धोनीले ३६ बलमा अविजित ४७ र राजेन्द्र जडेजाले ३५ बलमा ५० रन बनाएर जितको आशा कायमै राखेका थिए।
अन्तिम ओभरमा चेन्नईलाई २८ रन चाहिएको थियो। तर, अब्दुल समादले फालेको पहिलो बल नै वाइड र चौका भएको थियो। त्यति हुँदा पनि चेन्नईले अन्तिम ओभरमा २० रन मात्र बनाउन सक्यो।
यसअघि टस जितेर कप्तान डेबिड वार्नरले ब्याटिङ रोजेपछि हैदराबादले पाँच विकेट क्षतिमा १६४ रन बनाएको थियो। उसका लागि प्रियम गर्गले सर्वाधिक ५१ रन बनाएका थिए।
अंक तालिकामा चेन्नई र पञ्जाबको दुई र बाँकी ६ वटै टीमको चार अंक छ। रनरेटका आधारमा मुम्बई शीर्षस्थानमा छ।