कोरोना संक्रमित भएका अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना
कोरोनाभाइरस संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन्। कोरोना पोजिटिभ भएको रिपोर्ट आएको २४ घन्टा नपुग्दै उनलाई ह्वाइट हाउसबाट हेलिकोप्टरमार्फत अस्पताल लगिएको हो।
ह्वाइट हाउसले वक्तव्य जारी गर्दै उनलाई सावधानी अपनाउँदै वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टर लग्ने निर्णय गरिएको जनाएको छ। यसअघि ट्रम्पले शुक्रबार ट्विट गर्दै आफू र पत्नी मेलानिया ट्रम्पको कोरोना जाँच पोजिटिभ आएको जनाएका थिए। उनले आफू र पत्नी क्वारेन्टिनमा बस्ने पनि जनाएका थिए।
ट्रम्प आफ्नो हेलिकोप्टर मरिन वानबाट अस्पताल गएका हुन्। हेलिकोप्टर चढ्न उनी ह्वाइट हाउसबाहिर चउरमा निस्कँदा मास्क र सुट लगाएका थिए। उनले त्यहाँ जम्मा भएका रिपोर्टरलाई हात उठाएर अभिवादन गरे पनि कुनै प्रतिक्रिया जनाएनन्।
त्यसअघि ह्वाइट हाउसले वक्तव्य जारी गरेर ट्रम्पले थकान महसुस गरेको जनाएको थियो। उनलाई मध्यम प्रकारका लक्षण देखिएको पनि सूचनामा जनाइएको थियो। सीबीएस न्युजका अनुसार उनलाई हल्का ज्वरो आएको छ।
ट्रम्प एक महीनापछि हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा रिपब्लिकन उम्मेद्वार पनि हुन्। उनको प्रतिश्पर्धा डेमोक्र्याटिक उम्मेद्वार जो बाइडेनसँग हुँदैछ।
-एजेन्सहरुको सहयोगमा