कस्तो थियो गान्धी–बीपी सम्बन्ध ?
आरम्भमा गान्धीबाट प्रेरित बीपी समयक्रममा गान्धीका आलोचक मात्र होइन, हिंसाबाटै राजनीतिक परिवर्तनको पक्षपाती पनि बने। तर, गान्धीप्रतिको उनको भावनात्मक आकर्षण भने आजीवन रहिरह्यो।
अन्कन्डिशनल इक्वालिटीः गान्धीज रिलिजन अफ रेजिस्टेन्स पुस्तकमा इतिहासकार अजय स्कारिया गान्धीको सत्याग्रहलाई ‘सेक्युलर एज अर्थात् धर्मिक आस्था र विश्वासको अन्त्य भइसकेको समयको धर्म’ को संज्ञा दिन्छन्।
पुस्तकमा उनी भन्छन्, “गान्धीको सत्याग्रहमा कुनै ठोस भगवानको कल्पना गरिएको छैन, यसमा जुन शक्तिले देवत्व स्थानको दाबी गरेको छ, त्यो ‘सत्य’ हो, जो निर्गुण छ र सबै धर्महरूमा निहित छ। सत्याग्रहीले यसको प्राप्तिका लागि कुनै परमेश्वर या सङ्गठित धर्मको प्रतिद्वन्द्वीको रूपमा उभिएको उदार धर्मनिरपेक्ष आधुनिक राज्यप्रति आफ्नो स्वाधीनता समर्पण गर्दैन।”
स्कारियाको भनाइमा गान्धीको सत्याग्रह यस्तो धर्म हो जसले सत्याग्रहीलाई अरूभन्दा माथि पनि राख्दैन र सबै जीवित प्राणीहरू बीच ‘निशर्त समानता’ को कल्पना गर्छ।
पुस्तकमा गान्धीको उदार चरित्र चित्रण गरेको भनी स्कारियाले कडा आलोचना पनि सहनुपर्यो।
गान्धीले आफ्नो चिन्तनमा जातीय र लैङ्गिक भेदलाई स्वाभाविक मानेर स्वीकारेका छन्। त्यसैले उनको यस्तो दृष्टिकोणलाई उदार होइन कट्टरपन्थी मान्नुपर्छ भन्ने आलोचकहरूको मत छ। नारीवादी र दलितविद्हरूको अध्ययनको प्रकाशमा गान्धी विरुद्ध उठाइएका यस्ता आलोचना नकार्न पनि सकिंदैन।
तर स्कारियाको पुस्तकले गान्धीको सत्याग्रहलाई गम्भीरताका साथ लिन बाध्य गराउँछ। भारतका धर्मनिरपेक्षताका अनुयायीहरू, शोषित वर्ग र बाँकी विश्वका गैरहिन्दूहरूलाई आधुनिक राज्यको खिलाफ लड्न गान्धीको सत्याग्रहले कसरी प्रोत्साहित गर्यो भन्ने प्रश्न भने अहम् छ।
बीपी कोइरालाको गान्धीका विचारहरूसँगको जटिल सम्बन्धले केही हदसम्म यो प्रश्न बुझ्न मदत गर्छ। बीपीले समाजवादलाई अँगाले तर ठोस किसिमले गान्धीवादी राजनीतिलाई नकार्न सकेनन् र आफ्नो राजनीतिक जीवनको कथन (न्यारेटिभ) मा गान्धीको प्रसङ्ग उठाइरहे।
बीसौं शताब्दीको उत्तराद्र्धमा, उत्तर भारतमा निर्वासित नेपाली परिवारहरूले सामना गरेका दुई किसिमका राजनीतिक आवेगमध्ये कुलीन राणा प्रधानमन्त्रीहरू विरुद्धको राजनीतिक आवेग एक थियो भने अर्को औपनिवेशिक अंग्रेज शासन विरोधी भारतीय राष्ट्रवादी आन्दोलन।
यही परिवेशमा बीपी बनारसमा हुर्किए, जहाँ गान्धीवादी चिन्तनले राजनीतिक र सांस्कृतिक समुदायमा ठूलो प्रभाव पारेको थियो। युवावस्थामा भारतमा जेजस्ता वैचारिक धारहरूको सामना बीपीले गरे ती सबै गान्धीवादबाट प्रभावित थिए। बीपीमा भारतीय माक्र्सवाद र समाजवाद, हिन्दूवाद, छायाँवाद सबैको विकास गान्धी विचारसँगको संवादबाटै भयो।
बीपीलाई सबैभन्दा बढी असर पारेका प्रगतिशील हिन्दी छायाँवाद र समाजवाद पनि गान्धीवादका प्रतिरोधी विचार थिएनन्। यी दुवैले गान्धी र माक्र्सका चिन्तनलाई कसरी सँगसँगै लैजाने र समाजमा व्यक्तिगत स्वतन्त्रता, समानता कायम गर्ने नैतिक आधारहरू के के हुन् भन्ने प्रश्न उठाएको पाइन्छ।
छायाँवाद, भावना र गान्धी
छायाँवादीहरूबाट प्रभावित बीपीले आफ्नो कथा र आत्मवृत्तान्त पुस्तकमा गान्धीवादी राजनीतिको चित्रणमा यसका भावनात्मक पक्षलाई नै जोड दिएका छन्। पुस्तकहरूमा उनले गान्धीको असहयोग आन्दोलन अन्तर्गतको सरकारी स्कुल बहिष्कार अभियानले आफ्नो स्कूल नजाने इच्छा पूरा गरेको साथसाथै नैतिक निर्णय गर्न सहयोग गरेको लेखेका छन्।
यी दुई कथनको आपसमा मेल नभए पनि बीपीले दुवैमा आफ्नो बालसुलभ अनुभव केन्द्रित गरेका छन्।
आफ्नो कथा मा बीपी लेख्छन्:
“एक दिन गान्धीजीको मिटिङ थियो अस्सीको एउटा बगैंचामा, कुनै धनाढ्य बङ्गला थियो क्यार त्यो। बगैंचा खचाखच भरिएको थियो। हाम्रो कुनै त्यस्तो खेलकुदको मनोरञ्जन साधन थिएन। बेलुकीपख अवकाशमा हामी तिनताका भैरहने सभामा त्यसै अलारिंदै पुग्थ्यौं। म कुरा त पटक्क बुझ्दिनथें तर त्यहाँको वातावरणले भरिएर घर फर्कन्थें। त्यसै अल्लारिएर मिटिङमा पुग्यौं − म र ठूलो दाजु– ठूलो दाजुले मलाई उकास्नुभयो। मैले सभामा उभिएर भनें − ‘मैले आजदेखि सरकारी स्कूल छाडें।’ ठूलो दाजुले पनि तुरुन्त उभिएर भन्नुभयो − ‘मैले पनि छाडें। श्रोताहरूले हर्षको करतलध्वनिले हाम्रो निर्णय सराहना गरे। मलाई मञ्चमा लिएर गए र गान्धीजीको फूलमाला लगाइदिए।” (पृष्ठ ७०–७१)
यो प्रसंग उल्लेख गर्दा बीपीले ‘गान्धीजीको मिटिङ’ र पछि उनलाई ‘गान्धीजीको फूलमाला’ लगाइदिएको भनेका छन् तर त्यहाँ गान्धीले के गरिरहेका थिए, कस्ता देखिन्थे, त्यस सभामा अरू कस्ता मानिस थिए यी कुराको वर्णन भने पाइँदैन। बालक बीपीको मनोरञ्जनका क्रममा त्यहाँ पुगेको, स्कूल जान नचाहेको र स्कूल जाँदिनँ भन्दा सराहनाको पात्र हुन पुगेको अनुभवमा केन्द्रित देखिन्छ।
आफ्नो कथा मा गान्धीवादी आन्दोलनप्रतिको बीपीको बाल मनोवृत्ति रवीन्द्रनाथ टैगोरका कथाहरूको जस्तो रोमान्टिक लाग्छ, टैगोरबाट प्रभावित छायाँवादीसँग मिल्दो शैली दर्शाउँछ।
गान्धीले आह्वान गरेको ब्रिटिश मिलको कपडाको बहिष्कार आन्दोलनमा आफ्नो संलग्नता बारे बीपी लेख्छन्:
“म पनि त्यसरी नै सानै उमेरमै सरकारी स्कूल बहिष्कार गरेर राजनीतिक कार्यकर्ताहरूको दलमा सामेल हुन पुगें। घरैमा मैले राजनीति काम प्रारम्भ गरें, यो ढिपी लिएर कि− म खद्दरको लुगा लगाउँछु, आफ्नो कृशशरीरमा बाक्लो खद्दरको धोतीलाई येनकेन प्रकारेण अडाएर म घरका स्वास्नी मानिसहरूका राम्रा राम्रा विदेशी लुगाहरू− म्यान्चेस्टर गौनको चोला र सारीहरू जसको तिनताका नेपाली स्त्री समाजमा खूब चलन थियो− लाई एकनिष्टसँग पोल्न कटिबद्ध भएँ। गल्ली गल्लीमा स्वयंसेवकहरूको डफ्फा डफ्फा पोल्नलाई भनेर विदेशी लुगाहरूलाई माग्दै हिंड्थे। मेरो असहयोग आन्दोलनको जोश र जिद्दी तथा पिताजीको मौनोनुमोदनले घरभरिका विदेशी लुगाहरू बाकस–बाकसबाट झिकिए या एउटा ठूलो पोको, हाम्रो घरको अगाडि राष्ट्रिय गान गाइरहेका स्वयंसेवकलाई बुझाइयो, सन्ध्याको धूमिल आकाशतिर हुरहुर्ती बल्न लागेका मिलका लुगा लगाइएका अंग्रेजको प्रतिमूर्तिहरूबाट लप्को उठ्यो र सहस्र कण्ठबाट जयघोष − ‘बन्दे मातरम्।’ (पृष्ठ ७५)
गान्धीको असहयोग आन्दोलन राजनीतिक, भावनात्मक र भौतिक तहमा समाजको पुनर्गठन गरेर भारतीयलाई आत्मनिर्भर र सार्वभौम बनाउने कोशिश थियो। र यसले सबैमा जगाएको भावनात्मक ऊर्जा बीपीमा पनि देखिन्छ।
शायद, गान्धीवादी राजनीतिबाटै बीपीले भावनात्मक राष्ट्रियताको महत्व सिकेका थिए। प्रजातन्त्र प्रक्रिया मात्र नभएर आत्मसात गरिएका भावना हुन् र यिनै भावनात्मक ऊर्जाबाट प्रजातान्त्रिक अभ्यास सफल हुनसक्छन् भन्ने तर्क बीपी आफ्नो कथा मा गर्छन्।
बीपी लेख्छन्: “प्रजातन्त्र मानौं भावानुवरण हो, जसका लागि प्रायः आधिकांश व्यक्तिमा स्वभावतः अनुकूल मिजाज विद्यमान रहन्छ, या शिक्षाद्वारा त्यस्तो मिजाज उनमा जमाउन सकिन्छ।”
समाजवाद, हिंसा र गान्धी
बीपीले असहयोग आन्दोलन स्थगितपछि परिवारमा आर्थिक अभावका कारण प्रजातान्त्रिक ऊर्जा कायम राख्न कठिन भएको वर्णन पनि गरेका छन्। यसबाट प्रजातान्त्रिक लडाइँका लागि गान्धीवादले उपयुक्त आर्थिक अवस्था सृजना नगरेको तर्क गर्न सकिन्छ।
बीपीको कथन अनुसार, उनका बुवा (कृष्णप्रसाद कोइराला) ले गान्धीको आन्दोलनको आर्थिक पक्ष ध्यानमा राख्दै घरमा ठूलो तान ल्याएका थिए। यसलाई उनी बुबाको ‘भावनात्मक आदर्शवाद’ को रूपमा अथ्र्याउँछन्। परिवार र राष्ट्र दुवैको आर्थिक समस्या समाधान गर्ने बुवाको यो प्रयास अन्ततः केही दिनको उत्साह र कपासको बर्बादी मात्र साबित भएको बीपी बताउँछन्।
आर्थिक विकासका लागि औद्योगीकरण अपरिहार्य मान्ने समाजवादीहरू चर्खा कताएर र खादी लगाएर आर्थिक थिचोमिचोमा परेकाको उत्थान नहुने तर्क गर्थे।
गान्धीवादी आन्दोलन चित्रणमा भावनात्मक पक्षको प्रशंसा र आर्थिक पक्षको आलोचनामा बीपीमा भारतीय समाजवादको प्रभाव झल्किन्छ। भारतीय समाजवादीहरू साना उद्योगमा आधारित गान्धीवादी अर्थतन्त्रका आलोचक थिए। आर्थिक विकासका लागि औद्योगीकरण अपरिहार्य मान्ने समाजवादीहरू चर्खा कताएर र खादी लगाएर आर्थिक थिचोमिचोमा परेकाको उत्थान नहुने तर्क गर्थे।
यही मान्यता बीपीको पनि थियो। सन् १९६९ मा गान्धी अध्ययन केन्द्रमा उनको मन्तव्यमा पनि गान्धीवादी राजनीतिबाट सामन्तवादबाट उम्कन खोज्ने समाजको भौतिक उत्थान सम्भव नहुने तर्क राखेका थिए।
यद्यपि सन् १९४८ मा बीपीले नेपाली राष्ट्रिय कांग्रेसलाई एक लोकप्रिय, अहिंसक र आत्मनिर्भर समूहको रूपमा कल्पना गरेको देखिन्छ। ‘हाम्रो साधन’ नामक लेखमा उनले अहिंसालाई कांग्रेसको आन्दोलनको आधारका रूपमा प्रस्तुत गरेका थिए।
अहिंसाको मुख्य गुण अत्याचारीको हृदयमा सत्याग्रहीका लक्ष्यहरूको सम्मान गर्ने भाव जगाउनु रहेको र यो विधि विदेशी शक्ति विरुद्ध प्रभावकारी भएको हुँदा आफ्नै देशवासीमा अझ बढी उपयोगी हुने बीपीको धारणा थियो। उनले लेखमा कांग्रेसले हिंसा नभई आत्मनिर्भर र सार्वभौम जनताको समर्थनका भरमा राजनीतिक परिवर्तन ल्याउन उचित भएको मान्यता राखेको पाइन्छ।
तर त्यो बेला गान्धीवादी आदर्शका आधारमा राणाशासनको अन्त्य सम्भव थिएन। सन् १९४९ मा काठमाडौंमा जनसमर्थन जुटाउन असफल बीपीले मोहनशमशेरको कारागारमा हिंसाका अनुभवहरू भोगे। अन्ततः अहिंसात्मक आन्दोलनका आदर्श पन्छाएर कांग्रेसले सशस्त्र आन्दोलन शुरू गर्यो। तर गान्धीवादी अहिंसाको नैतिकता र गान्धी स्वयंको नैतिकतालाई भने बीपीले स्वीकारेका थिए।
अहिंसात्मक राजनीतिका लागि भौतिक माक्र्सवादको दह्रो आकर्षणले तानिएका बीपीभित्र गान्धीको नैतिक राजनीतिले अन्तद्र्वन्द्व खडा गरिदिएको थियो। आत्मवृत्तान्त मा गान्धीको मृत्युको सन्दर्भमा उनीभित्रको अन्तद्र्वन्द्वको निकै मार्मिक चित्रण छ।
दिल्लीबाट कलकत्ता नपुग्दै गल्लीमा हाते बम लिएको अवस्थामा रेडियोमा गान्धीको हत्याको खबर सुनेर मर्माहत भएको र रातभरि रोएको वर्णन पनि बीपीले गरेका छन्। गान्धीको मृत्युले उनमा शोक, शून्यता र विस्मय पैदा गरेको भान हुन्छ। यसबाट बीपीको गान्धीसँगको सम्बन्धमा भावनात्मक प्रधानता देखिन्छ।
वसन्तशमशेरको राणा सेनापतिहरूले भरिएको बैठकमा दुईवटा हाते बम फ्याँकेर राणा शासनको अन्त्य गर्ने योजनामा बीपीले हाते बम किनेर सहयोग गर्ने सहमति गरेका थिए। सहमतिको दुई दिनपछि २८ जनवरी १९४८ मा बीपी राममनोहर लोहियासँग गान्धीलाई भेट्न दिल्लीस्थित बिडला हाउस पुग्छन्।
त्यहाँ बीपी नेपालको अवस्था र आन्दोलनको आवश्यकता बारे बताउँदै गान्धीलाई सहयोगको आग्रह गर्छन्। तर, गान्धी भने कुनै सहयोग गर्न नसक्ने जवाफ दिन्छन्। त्यसपछि बीपी गान्धीसमक्ष “म तपाईंसँग कुनै भौतिक मद्दत लिन आएको होइन। तपाईंको सहानुभूति र नैतिक समर्थन चाहिएको छ हाम्रो संघर्षका निम्ति” भन्छन्। जवाफमा गान्धीले “अन्याय, अत्याचार र दमनको खिलाफ जहाँ आन्दोलन हुन्छ संघर्ष हुन्छ त्यहाँ मेरो समर्थन हुन्छ तर त्यसभन्दा बढ्ता त म केही गर्न सक्दिनँ” भनेका कुरा बीपीले आत्मवृत्तान्त मा उल्लेख गरेका छन्।
दिल्लीबाट कलकत्ता नपुग्दै गल्लीमा हाते बम लिएको अवस्थामा रेडियोमा गान्धीको हत्याको खबर सुनेर मर्माहत भएको र रातभरि रोएको वर्णन पनि बीपीले गरेका छन्। गान्धीको मृत्युले उनमा शोक, शून्यता र विस्मय पैदा गरेको भान हुन्छ। यसबाट बीपीको गान्धीसँगको सम्बन्धमा भावनात्मक प्रधानता देखिन्छ।
आफ्नो कथा मा सन् १९१८ अर्थात् पहिलो विश्वयुद्धको अन्त्यतिर जन्मिएको प्रसङ्गमा, बीपीले आफूलाई युद्धका अनिश्चितता बीच हुर्किएको पुस्तामा राखेर हेर्ने गरेको उल्लेख गरेका छन्। विश्वभरि फैलिएको अनिश्चितता र धार्मिक आस्था लगायतका पुराना विश्वासका स्रोतप्रति बढ्दो सन्देहको प्रतिक्रियामा बीपीले समाजवाद जस्तो विश्वव्यापी विचारलाई समातेको बताएका छन्।
पुराना धार्मिक आस्थाका आलोचनामा सार्वभौम व्यक्तिको काल्पनिकीलाई अघि सारेर नयाँ सामाजिक आधारका खोजमा उत्पन्न भएका छायाँवाद र समाजवादका अनुयायीका लागि गान्धीका कतिपय विचारहरू मान्य थिएनन्। गान्धीको धार्मिक बिम्बको प्रयोग, औद्योगीकरण र आधुनिकताको आलोचना, वर्ग द्वन्द्वको प्रश्नमा तटस्थ दृष्टिकोण प्रगतिशील लेखक र समाजवादीहरूलाई स्वीकार्य थिएन
तर भारतको स्वतन्त्रताका निम्ति गान्धीको राजनीतिले गराएको अद्वितीय जनपरिचालन र भावनात्मक प्रभावले गान्धीलाई आलोचकहरूमध्ये पनि वैधता दिएको पाइन्छ।
यिनैमध्येका थिए– बीपी।