रौतहटमा १६ वर्षीया किशोरीको हत्या, उखु बारीमा भेटियो शव
रौतहटमा एक किशोरीको हत्या गरेको अवस्थामा शव फेला परेको छ। रौतहटको वृन्दावन नगरपालिका ४ की एक बालिकाको घाँटी थिचेर हत्या गरेको अवस्थामा किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ।
रौतहटको गढीमाई नगरपालिका १ स्थायी घर भई वृन्दावन नगरपालिका ४ मामाघरमा रहँदै आएकी १६ वर्षीया किशोरीको उखु बारीमा शंकास्पद अवस्थामा शुक्रवार साँझ शव फेला परेको छ। बिहान १० बजेतिर घरबाट घाँस काट्न गएकी सीताराम साहकी १६ वर्षीया छोरी अबेरसम्म घर नफर्केपछि खोजतलास गरिएको थियो। खोजतलासको क्रममा गाउँदेखि पूर्व रहेको नहर नजिकैको उखु बारीमा घाँटी थिचेर हत्या गरिएको शंकास्पद अवस्थामा उनको शव फेला परेको हो।
उखुखेतमा भएको घटना शंकास्पद रहेको र घटनाको विषयमा प्रहरीले अनुसन्धान शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि सिद्धिविक्रम शाहले बताए।
एक बालिकाको डुबेर मृत्यु
यसैबीच रौतहटको यमुनामाई गाउँपालिका २ भेडियाहीनजिक झाँझ खोलामा शुक्रवार एक बालिकाको डुबेर मृत्यु भएको छ। नुहाउने क्रममा बालिकाको खोलाको गहिरो पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय शंकर राय यादवकी १२ वर्षीया छोरी ममिता यादवको दिउँसो झाँझ खोलामा नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।