गान्धी बन्न कति गाह्रो
एक शताब्दीअघिको भारतीय समाजमा व्याप्त उपनिवेश, अशिक्षा, धर्म र जातिको कट्टरता, लैगिंक र छुवाछुतजस्ता विभेदविरुद्धको संघर्षमा गान्धीको भूमिकामा आशंका र आलोचना गर्नुअघि आज हामीले ति समस्याको समाधानमा के कति उपलब्धी हासिल गर्नसक्यौ त भनि प्रश्न गर्नुपर्ने देखिन्छ।
महात्मा गान्धीलाई एकातिर हिन्दू समाजको एक समूहले हमला गरिरह्यो भने अर्कोतर्फ प्रगतिशील समूहले। मुसलमानहरूको एक समूहले हिन्दूवादीको आरोप लगायो भने हिन्दूहरूको अर्को समूहले उनलाई इस्लाम धर्म समर्थकका रूपमा निन्दा मात्र गरेन, हत्या नै गरिदियो।
बौद्ध धर्मावलम्बीहरूले उनका अहिंसात्मक विचारधारामा राजनीति देखे र उनीसँग जोडिन चाहेनन्। ‘हिन्दू धर्म’ को अनुयायी भएकाले अन्य धर्मावलम्बीहरूले पनि उनलाई आफ्नो ठानेनन्।
त्यसैले गान्धी कसका समर्थक वा विरोधी थिए भनेर गरिने प्रश्न त्यति उचित नहुन सक्छ। बरू गान्धी हुन कति गाह्रो थियो र छ ? भन्ने प्रश्न महत्वपूर्ण हुन सक्छ।
अथवा, गान्धीलाई हिन्दू मात्र देख्ने वा हिन्दू विरोधी देख्ने, वर्ण व्यवस्थाको पक्षमा देख्ने वा परम्परागत संरचना भत्काएको देख्ने, दलित समुदायका पक्षमा नबोलेको देख्ने वा दलितसँग उठबस गरेकाले हिन्दू विरोधी देख्ने वा हिंसा विरोधी भएकाले परिवर्तनकारी नदेख्ने अन्तरविरोधहरू किन देखा परे भन्ने अर्काे प्रश्न पनि महत्वपूर्ण हुन सक्छ।
तर त्योभन्दा महत्वपूर्ण प्रश्न भने गान्धी र गान्धी विचारधारालाई किन, कसले, कसरी अप्रासंगिक बनाउँदै वर्तमान भारतको राजनीतिक, सामाजिक र धार्मिक जडताको आधारस्तम्भ खडा ग¥यो ? भन्ने हुन सक्छ।
गान्धीवादको हत्या
गान्धी मारिनुभन्दा अगाडि र त्यसपछि पनि गान्धीलाई कसरी सबैका विरोधी बनाइयो र गान्धी विचारधारालाई सुस्त सुस्त मारियो भन्ने बुझ्नका लागि गान्धीका आलोचकहरू (उग्र देब्रे र दाहिने) ले बोलेका कुरा, उनीहरूका व्यवहार तथा वर्तमान समयसम्मका राजनीतिक आरोह–अवरोहसँगै फरक–फरक समयमा उनीहरूले खेलेको भूमिका केलायो भने प्रष्ट देख्न सकिन्छ।
जे होस्, दाहिने वा देब्रे जता ढल्किए पनि उग्र विचारधारा बोक्नेहरूको पहिलो निशानामा उदार विचारधारा बोक्नेहरू नै पर्छन् र मारिन्छन्। गान्धी त्यसैका सर्वोत्तम प्रतिनिधि पात्र हुन्।
यो पनि भन्न सकिन्छ कि, वर्तमान भारत निर्माणका लागि गान्धी/गान्धीवाद दुई हिसाबले मारिन जरूरी थियो। भौतिक हिसाबले गान्धीलाई अहिले राज्यको नजिक हुनेहरूमध्येकै एक समूहले मारेको थियो तर गान्धीवाद वा गान्धी विचारधारालाई भने देब्रेतिर ढल्किएकाहरूले विस्तारै विस्तारै मारिरहेका थिए र मारिरहेका छन्। परिणामः वर्तमान भारतीय राज्य संरचनाको निर्माण भयो।
यी दुवै समूह गान्धी/गान्धीवादलाई मारेर आफूलाई स्थापित गर्न चाहन्थे तर राजनीति आफूले चाहे जस्तो मात्र हुँदैन। त्यसैले लामो समयसम्म फरक–फरक राज्यमा शासन गरेका, केही विद्रोह गरेका, केही समय पहिलेसम्म शक्तिशाली जस्ता देखिने र मूलतः तल्लो वर्गको प्रतिनिधित्व गर्छन् भनेर आश गरिएका देव्रे विचारधाराको समूह किनारा लागेको छ।
भौतिक हिसाबले गान्धीलाई अहिले राज्यको नजिक हुनेहरूमध्येकै एक समूहले मारेको थियो तर गान्धीवाद वा गान्धी विचारधारालाई भने देब्रेतिर ढल्किएकाहरूले विस्तारै विस्तारै मारिरहेका थिए र मारिरहेका छन्।
तर, केही वर्ष पहिलेसम्म मुश्किलले संसदमा प्रतिनिधित्व गर्ने दाहिने विचारधाराको समूह भने अहिले केन्द्रीय सत्तामा छ जसले दलित, मुसलमान मात्र होइन उदार विचारधारा राख्ने सबै खालका व्यक्तिहरूलाई बोल्न र बाँच्न गाह्रो बनाइदिएको छ। रोचक चाहिँ के छ भने देव्रे किनाराका व्यक्तिहरू वर्तमान सत्तासँग भन्दा अझै पनि गान्धीको उदार विचारधारा र अहिंसाको राजनीतिसँग नै डराउँछन्।
हिंसा र गान्धी
गान्धीलाई मूलतः अहिंसात्मक राजनीति र विकेन्द्रीकरणका लागि सम्झन उपयुक्त हुन्छ। त्यसो त उनले अन्य थुप्रै विषयमा लेखेका, बोलेका छन् र आफ्नो दैनिक व्यवहारमा लागू गर्ने प्रयास पनि गरेका छन्। विचार वा लेखनीमा अस्पष्टता भएमा उनले आफ्नो व्यवहारका आधारमा आफूलाई बुझ्न र मूल्याङ्कन गर्न भनेका छन्।
यस अर्थमा गान्धी बोली र व्यवहार समान हुनुपर्छ भनेर संसारलाई बाटो देखाउने थोरै राजनीतिक व्यक्तित्वमध्येका हुन्। त्यसैले गान्धीले लेखेका वा गान्धीका विषयमा लेखिएका सामग्रीहरू पढेर गान्धीलाई बुझ्दै गर्दा उनले विचारधारालाई कसरी व्यवहारमा प्रयोग गरेका थिए भनेर पनि हेर्नुपर्ने हुन्छ।
हिंसाका सम्बन्धमा गान्धीका विचार र व्यवहारमा खासै विवाद छैन। उनी जीवनभर अहिंसाको बाटो नै हिंडिरहे। गान्धी राज्य सञ्चालन तहमा पुगेनन् तर राज्यसँग विद्रोह गर्दा पनि हिंसाको बाटो रोजेनन्।
हिंसात्मक उपाय अपनाएर भए पनि राज्यसँग लड्नुपर्छ भन्ने मान्यतालाई बल पुग्ने कुनै काम र क्रियाकलापको समर्थन गरेनन्। राज्य, गैरराज्य र हिंसाको सम्बन्धको चर्चा गर्दा वा ठीक–बेठीक भनिरहँदा राज्यले गर्ने हिंसा, राज्यका विरुद्ध हुने हिंसा, खास समुदाय, जात, धर्म, स्थानका विरुद्ध हुने हिंसा किन र कसरी जायज वा नाजायज हो भन्ने प्रश्नको उत्तर समान आउँदैन।
‘हिंसा’ लाई हेर्ने फरक आँखा भएका कारण नै ‘हिंसा’ हिंसा रहँदैन बरू ‘राजनीतिक हतियार’ मा परिणत हुन्छ। त्यसैले कुनै खास समूहले गान्धीको हत्यालाई हिंसा होइन हिन्दू राज्यका लागि ‘क्रान्ति’ भनेर मान्न सक्छ।
शायद, हामीलाई हिंसाका खास रूप, आकार वा कारणहरूका एकपक्षीय पाटोमा मात्र ध्यान दिन र विचार–विमर्श गर्न सिकाइएको छ। त्यसैले हामी आफूलाई मन परेको समूह, धर्म, क्षेत्र, जात वा वर्गले गरेका हिंसामा सहानुभूति राख्छौं भने अन्यले गरेका हिंसालाई दमन ठान्छौं।
पक्कै पनि हतियार र शक्ति हुनेले नै बढी हिंसा गर्ने सामथ्र्य राख्छ तर हिंसा गर्ने जुन संरचनाको विरोध हामीले गरिरहेका हुन्छौं, त्यही संरचना माथि नियन्त्रण गर्न पनि हामीले हिंसा गरिरहेका हुन्छौं। अझ हिंसापछि प्राप्त संरचना जोगाउन पनि हिंसाकै सहारा लिन्छौं। त्यसैले खास जात, धर्म वा कानूनले मात्र हिंसा बढायो भन्न जति सजिलो छ त्यति नै गाह्रो त्यो भन्दा भिन्न तर हिंसारहित समाजको उदाहरण दिन छ।
खास राज्य, जात, धर्म वा कानूनको प्रचलन हुनु अगाडिको हाम्रो समाजमा हिंसा थिएन भन्न पनि हामीलाई त्यति नै गाह्रो छ अनि हामीले कल्पना गरेको भविष्यको राज्यले हिंसा गर्दैन भन्न पनि हामी सक्दैनौं। न त जातपात वा धर्मको परवाह कम गर्ने÷नगर्ने वा एकै सम्प्रदाय भएको ठाउँमा हिंसा नै हुन्न भन्ने उदाहरण पेश गर्न सक्छौं।
खास कानून, धर्म वा जातपात व्यवस्थाले मात्र हिंसालाई प्रेरित गर्ने भए त्योभन्दा भिन्न व्यवस्थाको समाजमा हिंसा हुँदैन भनेर मान्नुपर्ने हुन्छ। तर संसारमा त्यस्तो उदाहरण छैन। यसका लागि त म्यानमार, श्रीलङ्का, तिब्बतमा भएका हिंसाका उदाहरणका रुपमा लिन सकिन्छ। पक्कै पनि हिंसालाई सघाउने, बढावा दिने कानूनी, राजनीतिक आधार हुन सक्छन् तर हिंसा प्रवृत्ति पनि हो। त्यो प्रवृत्तिको विकास कसरी हुन्छ भन्ने विषयमा भने फरक–फरक व्याख्या र बहस हुन सक्छ।
हिंसामा आधारित समाजमा सबैभन्दा पहिले वादविवाद, छलफल, विचार–विमर्श जस्ता अभिव्यक्ति स्वतन्त्रताको हत्या हुन्छ। अहिंसाको पहिलो शर्त अभिव्यक्ति स्वतन्त्रता हो। समाजले भोलिको अहिंसात्मक समाजको बीउ आजै रोपेन भने त्यो समाज स्वतः हिंसात्मक हुनेछ।
भारतको सन्दर्भमा रञ्जित गुहा (सन् २००३) ले एउटा अन्तर्वार्तामा भनेका छन् ‘जब शक्तिको प्रश्न आउँछ भारत हिंसाको पक्षमा उभिन्छ। अर्थात् संस्कृतिमा अहिंसा धर्म भए जस्तै हिंसा पनि एक महत्वपूर्ण अङ्ग हो। स्थापित सांस्कृतिक मान्यतालाई नमाने दण्ड दिने प्रचलन नै दलित विरूद्ध हिंसाको कारण हो। भारत विभाजनका वेला देखिएको सबैभन्दा ठूलो जन परिचालन साम्प्रदायिक दंगामा बदलिनु नै आदिम हिंसाको प्रमाण थियो जुन हाम्रो संस्कृतिको अंश पनि हो। त्यसैले गान्धीले पनि त्यसलाई नियन्त्रण गर्न सकेनन्।’
नक्सल आन्दोलन र गान्धी आन्दोलन दुवै किसानको तहसम्मै परिचालित भयो तर नक्सल आन्दोलन पूरै हिंसात्मक बन्यो भने गान्धी आन्दोलन अहिंसात्मक। त्यसैले गान्धीलाई विशिष्ट मानिएको हो। अहिंसात्मक लडाईंको मुख्य गुण विरोधी पक्षको हृदयमा पनि सत्याग्रहीहरूको लक्ष्यप्रति आदरको भाव जगाउनु हो। देशव्यापी आन्दोलन चलाउन सकेमा हिंसात्मक सङ्गठनको आवश्यकता नपर्ने र त्यसैबाट सत्ता ढाल्न सकिनेमा गान्धी विश्वस्त थिए।
हिंसामा आधारित समाजमा सबैभन्दा पहिले वादविवाद, छलफल, विचार–विमर्श जस्ता अभिव्यक्ति स्वतन्त्रताको हत्या हुन्छ। अहिंसाको पहिलो शर्त अभिव्यक्ति स्वतन्त्रता हो। समाजले भोलिको अहिंसात्मक समाजको बीउ आजै रोपेन भने त्यो समाज स्वतः हिंसात्मक हुनेछ।
भविष्य बारे आज नसोच्ने तर भविष्य ठीक हुन्छ भन्नु भ्रम मात्र हो। अहिंसा भविष्यमा प्राप्त हुने आदर्श मात्र होइन यो त आजको खाँचो हो। वास्तवमा ‘हिंसा अन्त्यको लागि’ वा ‘शान्तिका लागि’ हिंसा भन्ने तर्क नै गलत हो।
दलित र गान्धी
गान्धीको सबैभन्दा धेरै आलोचना दलितका सम्बन्धमा गान्धीका विचारलाई लिएर भएका छन्। तर यस्तो भन्ने धेरैको ध्यान दलितका विषयमा उनका विचार र व्यवहारमा आधारित छैनन् बरु गान्धीले आफूलाई ‘हिन्दू धर्मावलम्वी’ मानेका र हिन्दू धर्म स्वतः दलितप्रति अनुदार देखिएकाले दुवैलाई एकैठाउँ मुछिएको देखिन्छ।
दलितका विषयमा गान्धी र भीमराव अम्बेडकरका बीच मतभेदहरू देखिन्छन्। अम्बेडकर वर्णव्यवस्था वा जातव्यवस्थाको अन्त्य भएपछि दलितहरूप्रतिको भेदभाव स्वतः अन्त्य हुनेमा विश्वास गर्छन् भने गान्धी छुवाछूत जाति व्यवस्थाका कारण होइन बरू हिन्दू धर्ममा निहीत उँच–नीचका कारण देखिएको र यसले हिन्दू धर्मलाई नै नष्ट गरिरहेको मान्यता राख्छन्।
गान्धीको विचारमा छुवाछूत अन्त्यपछि जाति–व्यवस्थामा देखिएको समस्या समाधान हुन्छ र समाजमा श्रेष्ठ वा हीन भन्ने भावना हराउँछ जसले हिन्दू धर्मलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँछ। यस परिप्रेक्ष्यमा गान्धी ‘हिन्दूवादी’ त पक्कै देखिन्छन् तर न त उनी देव्रेले भनेजस्तै कट्टर हिन्दू देखिन्छन् न दाहिने समूहले भने जस्तै हिन्दू विरोधी नै।
आज गान्धी मारिएको पनि ७० वर्ष नाघिसकेको छ। तर समयको यो कालखण्डमा पनि हामीले दलितलाई हेर्ने सामाजिक दृष्टिकोणमा खासै परिवर्तन गर्न सकेका छैनौ। बरु हामी दलित, मुसलमान र अन्य अल्पसंख्यक समुदायले सबैभन्दा असुरक्षित महसूस गरिरहेको समयको साक्षी बनिरहेका छौं।
“म पुनः जन्म लिन चाहन्न तर मेरो पुनर्जन्म भयो भने म ‘अछूत’ भएर जन्मन चाहन्छु किनभने म उनीहरूको दुःख, कष्ट र अपमानको भागिदार बनेर यस दयनीय स्थितिबाट छुटकारा पाउने उपाय खोज्नेछु। धर्मको नाममा मानिसमाथि उत्पीडन गर्दै जानु कट्टर हठधर्म बाहेक केही होइन। छुवाछुत बाँच्यो भने हिन्दूत्व मर्छ त्यसैले हिन्दूत्व बाच्ने हो भने छुवाछुत मर्नुपर्छ।” आदि मान्यता राखेकै कारण उनलाई हिन्दू धर्मका कैयौं समूहले मन पराएनन्।
शायद, त्यसैले पनि हुनसक्छ ९० वर्ष पहिले (१९३३ नोभेम्बर) ९ महीना लामो देशव्यापी यात्राका क्रममा करीब १२ हजार ५०० माइल घुमेर दलित जागरण र दलित आत्मसम्मानको श्रेय पनि गान्धीले पाउन छाडेका छन्।
त्यो सडक यात्रामा उनले ठाउँ–ठाउँमा जस्तो अवरोध खेपे, गैरदलितहरूबाट जुन अपमान भोगे त्यो सहन सक्ने, लड्न सक्ने र आफ्ना विचारलाई जीवनको हिस्सा बनाउने तत्परता र तागत गान्धीसँग मात्र थियो।
आज गान्धी मारिएको पनि ७० वर्ष नाघिसकेको छ। तर समयको यो कालखण्डमा पनि हामीले दलितलाई हेर्ने सामाजिक दृष्टिकोणमा खासै परिवर्तन गर्न सकेका छैनौ। बरु हामी दलित, मुसलमान र अन्य अल्पसंख्यक समुदायले सबैभन्दा असुरक्षित महसूस गरिरहेको समयको साक्षी बनिरहेका छौं।
गान्धी–समयको झण्डै एक शताब्दीपछि हामी किन उनैले गरेका उस्तै संघर्षहरुबाट पार पाउन सकिरहेका छैनौ ? यसो भइरहनुमा हाम्रा व्यवहार र चिन्तनहरू कति जिम्मेवार थिए र छन् ? के भविष्यमा सोधिने यस्ता प्रश्नहरूको उत्तर दिन हामी तयार छौं ?
गरिनुपर्ने प्रश्न त यी हुन्।