आउने हिउँदसम्म बाढी पहिरो प्रभावितको व्यवस्थापन गरीसक्ने गृहमन्त्रीको प्रतिबद्धता
गृहमन्त्री रामबहादुर थापा बादलले बाढी पहिरोबाट प्रभावित नागरिकहरूको व्यवस्थापन हिउँदसम्म गरिसक्ने बताएका छन्। अस्थायी रुपमै भएपनि सिन्धुपाल्चोक, बागलुङ, कालिकोटलगायत देशभरी नै बाढी पहिरोबाट प्रभावित नागरिकहरूको व्यवस्थापन छिट्टै गरिने थापाले बताएका हुन्।
सिन्धुपाल्चोकका प्रतिनिधिहरूसँगको भेटमा गृहमन्त्री थापाले हिउँद शुरु हुनु अगाडि नै पालमा बसेका नागरिकहरूको व्यवस्थापन गरिने बताए। "चिसो बढ्दै जाने समय छ, हिउँद शुरु हुन्छ। अहिले बाढी पहिरो प्रभावितहरू पालमा बसेका छन्, चिसोमा त्यसले धान्दैन। यसका लागि तत्काल चाल्नुपर्ने स्टेप चाल्छौँ। सकेसमम न्यानो हुने अस्थायी किसिमको बसाइको व्यवस्था गर्छौँ। हिउँदमा चिसोले मानविय क्षति नहोस भनेर हामीले ध्यान दिएका छौँ", उनले भने।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख गोपाल तामाङले जिल्लाका विभिन्न स्थानमा गरी अहिले ३ सय ५१ बस्ती जोखिममा रहेको बताए। यो वर्ष मानविय र भौतिक क्षति भएका समेत गरी ३ सय ५१ बस्तीका ६ हजार ५ सय ७१ परिवार जोखिममा रहेको उनले बताए। जिल्लाका १८ वटा बस्तीहरू अति जोखिममा रहेकाले आगामी वर्षको बर्खा शुरु हुनुअघि नै सार्नुपर्ने अवस्था रहेको उनले बताए।
यो वर्षको २४ असारबाट २७ भदौसम्म १ सय १३ जना गरी विगत पाँच वर्षमा सुन्धुपाल्चोकमा प्राकृतिक विपदबाट ३ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ, १७ सय ७० जना घाइते र ५५ करोड ८२ लाख बढीको आर्थिक क्षति भएको छ। गत २४ असारमा बाह्रबिसे नगरपालिका ५ जबमु र खागदमा गएको पहिरोमा परि २१ जना, साउन २० गते जुगल २ लिदीमा गएको पहिरोमा परि ३९ जना र बाह्रबिसे ७ को भिरखर्च र नागपुजेमा ३१ जनाको मृत्यु भएको थियो। यो वर्ष देशका विभिन्न स्थानमा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ।