कोरोना संक्रमण हुनेमा बोरिस जोनसनदेखि डोनाल्ड ट्रम्पसम्म, यी हुन् सङ्क्रमित हुने विश्वका नेताहरू
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएसँगै कोरोना भाइरसबाट सङ्क्रमित हुने विश्वका नेताहरुको सूचीमा परेका छन्। यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरू पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन
बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसबाट सङ्क्रमित हुने विश्व नेताहरुमध्ये पहिलो हुन्। उनलाई गत अप्रिलमा सङ्क्रमित भएपछि आइसियुमै राख्नुपरेको थियो। उनलाई अस्पतालमा भर्ना गरेर आक्सिजन नै दिनुपरेको थियो। तर भेन्टिलेटरको आवश्यकता भने परेको थिएन। उनले एकान्तवासमै बसेर पनि केही सीमित व्यक्तिहरूसँग कुराकानी गर्दै आफ्नो कामहरू गरेका थिए।
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई गत जुलाईमा कोरोना भाइरसको सङ्क्रमण भएको थियो। उनले सङ्क्रमित भएको बेला मलेरिया विरुद्धको औषधि प्रयोग गरेर कोरोना भाइरसका लागि मलेरिया विरुद्धको औषधिले काम गर्छ भन्ने सन्देश पनि दिन खोजेका थिए। त्यो अहिले पनि अप्रमाणित नै रहेको छ। उनले सामाजिक दूरी कायम गर्ने, माक्सको प्रयोग गर्नेलगायत मान्यतालाई बेवास्ता गर्ने भनेका थिए। उनी बन्दाबन्दी विरोधी नेताका रुपमा पनि चिनिन्छन्। उनकी श्रीमती पनि सङ्क्रमित भएकी थिइन्।
होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेज
होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेजलाई गत जुन महिनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। राष्ट्रपति हर्नान्डेजसँगै उनकी श्रीमती र दुई जना सहयोगीमा पनि संक्रमण देखिएको थियो। तर उनमा लक्षण भने सामन्य मात्रै देखिएको थियो । उनले आफूमा सङ्क्रमण भए पनि आफ्नो काम भने विद्युतीय माध्यमबाट गरेका थिए।
गुटेमालाका राष्ट्रपति एलेजन्ड्रो गियामाते
कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व नेताहरूको सूचीमा गुटेमालाका राष्ट्रपति एजेन्ड्रो गियामाते पनि पर्छन्। उनलाई गत सेप्टेम्बरमा सङ्क्रमण पुष्टि भएको थियो। आफूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि टेलिभिजन सम्बोधनमार्फत उनले आफूलाई कुनै लक्षणहरू भने नदेखिएको उल्लेख गरेका थिए। उनले पनि आफू छुट्टै बस्ने र कार्यालयका काम भने गरिरहने बताएका थिए।
बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज
बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए। उनलाई गत जुलाईमा सङ्क्रमण भएको हो। सङ्क्रमित भएपछि उनी आइसोलेशनमा बसेका थिए। उनले त्यो बेलामा कुनै असजिलो भने महसुस गरेका थिएनन्। कोरोनाबाट संक्रमित हुने उनी ल्याटिन अमेरिकी तेस्रो राष्ट्रप्रमुख थिए। त्यसअघि ब्राजिली राष्ट्रपति बोल्सेनारो र होन्डुरसका राष्ट्रपति हर्नान्डेजमा पनि संक्रमण पुष्टी भएको थियो। अनेजको कार्यालयका केही सदस्यहरूमा संक्रमणको पुष्टि भएपछि उनको पनि परीक्षण गराउँदा उनमा संक्रमण देखिएको हो। बोलिभियामा सरकारका चार जना शीर्ष अधिकारीहरुमा समेत कोरोना सङ्क्रमणको पुष्टि भएको थियो।
डोमिनिकाका राष्ट्रपति लुइस अबिनाडेर
गणतन्त्र मोमिनिकाका नवनिर्वाचित राष्ट्रपति लुइस अबिनाडेर जुलाईमा कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए। उनी आफ्नो चुनाव प्रचारप्रसार अभियानकै क्रममा सङ्क्रमित भइ सङ्क्रमणमुक्त भएका समाचारमा जनाइएको छ। उनले आफ्नो निर्वाचन हुनु अगाडि नै हप्ता लामो आइसोलेशनमा पनि बस्नुपरेको थियो।
इरानका उपराष्ट्रपति र मन्त्रीहरू
कोरोना भाइरसको महामारीको मध्यपूर्वको केन्द्रविन्दु बनेको इरानका उपराष्ट्रपति र मन्त्रीहरू कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए। देशका बरिष्ठ उपराष्ट्रपति इशाक जाहानगिरि र उपराष्ट्रपति मस्सौमेह इब्तेकरमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको थियो। त्यस बाहेक मन्त्रिपरिषद्का अन्य सदस्यहरु पनि सङ्क्रमित भएका थिए।
यीबाहेक रूसका प्रधानमन्त्री मिखाइल मिसुस्तिन, आर्मिनियाका प्रधानमन्त्री निकोल पसिनयान, बेलायतका राजकुमार चाल्र्सलाई पनि कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो। त्यसैगरी धेरै देशका सरकार तथा राष्ट्र प्रमुखका श्रीमती तथा परिवारजन र धेरै देशका मन्त्रीसहितका उच्च अधिकारीहरू पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए। विश्वव्यापी रुप्मा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरी दश लाख २८ हजार १९६ जनाको मृत्यु भएको छ।
कोरोनाबाट संसारभरी कुल तीन करोड ४५ लाख १७ हजार ४४६ जना सङ्क्रमित भएका छन् भने तीमध्ये दुई करोड ५६ लाख ८८ हजार ७७२ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमित भएकाहरूको सङ्ख्याअनुसार हेर्दा सबैभन्दा धेरै सङ्क्रमितहरू अमेरिकामा रहेका छन्। अमेरिकामा अहिलेसम्म ७४ लाख ९४ हजार ६७१ जना सङ्क्रमित हुँदा दुई लाख १२ हजार ६६० जनाको मृत्यु भएको छ।
त्यसैगरी सङ्क्रमितहरूको धेरै सङ्ख्याका आधारमा भारत, ब्राजिल, रुस, कोलम्बिया, पेरु, स्पेन, अर्जेन्टिना, मेक्सीको र दक्षिण अफ्रिका क्रमशः अग्र दश स्थानमा रहेका छन्।