काठमाडौं उपत्यकामा हालसम्मकै उच्च १६३८ संक्रमित थपिए
काठमाडौं उपत्यकामा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टायता उपत्यकामा १६३८ जना कोरोना संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र १२८० जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४७० महिला र ८१० पुरुष, भक्तपुरमा ८० महिला र ११६ पुरुष तथा ललितपुरमा ७७ महिला र ८५ पुरुषमा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टायता देशभर भने २७२२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको मन्त्रालयले जनाएको छ।
२४ घण्टायता १४७३९ वटा पीसीआर नमूना परीक्षण गरिएको छ। यससँगै हालसम्म नेपालमा १० लाख ४८ हजार ६८६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या २१ हजार २३४ जना छ। त्यस्तै पछिल्लो २४ घण्टामा ३३०७ जना निको भएका छन्। निको हुनेको संख्या ६० हजार ६९६ पुगेको छ।
पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा ५२० संक्रमितको मृत्यु भएको छ।