भारत सरकारद्वारा नेपालका ३० जिल्लाका सरकारी तथा गैरनाफामूलक संघ संस्थालाई ४१ एम्बुलेन्स र ६ बस उपहार
महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा भारत सरकारले नेपालका ३० जिल्लाका सरकारी र गैरनाफामूलक संघ संस्थालाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार दिएको छ।
जन्मजयन्तीको अवसरमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरूलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार स्वरुप प्रदान गरेका हुन्।
नेपालका दुर्गमलगायतका विभिन्न ३० जिल्लामा छरिएर रहेका यी संघ संस्थामार्फत विभिन्न क्षेत्रमा आधारभूत स्वास्थ्य पहुँच विस्तार गर्न उद्देश्यले दूतावासले विगत लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरूलाई हरेक वर्ष एम्बुलेन्स तथा विद्यालयका लागि बस उपहार स्वरुप प्रदान गर्दै आएको छ।
सन् १९९४ देखि आज सम्म भारतले झण्डै ८२३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको राजदूतावासले जनाएको छ। राजदूतावासले यो वर्ष पहिलो पटक तीन प्रकारका एम्बुलेन्स प्रदान गरेको छ। यी तीनै प्रकारका एम्बुलेन्सहरु नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरिएका हुन्।
एम्बुलेन्समा ट्राभलिङ्ग भन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस आदि हुनेछन्।
एम्बुलेन्समा भन्टिलेटर बाहेक यी सबै सुविधा हुनेछन्। एम्बुलेन्समा भने फोर व्हील प्रणाली जडान भएकाले यी एम्बुलेन्सहरू पहाडी तथा हिमाली क्षेत्रका लागि उपयुक्त छन्।
आज छ जिल्लाका शैक्षिक संस्थाहरूलाई वितरण गरिएका ६ बस गरी हालसम्म दूतावासले नेपालभर १६० वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको छ।
नेपालले स्वास्थ्यको क्षेत्रमा विशेषगरी आकस्मिक चिकित्सा सेवाको क्षेत्रमा गरेको प्रयासमा भारत सरकारले जारी राखेको निरन्तर सहयोग अनुरुप आज उक्त एम्बुलेन्स तथा बसहरू प्रदान गरिएको हो। यसले विद्यार्थीहरूलाई आफ्नो सिकाई स्थलसम्मको पहुँचलाई सरल बनाएको छ।