नेपालमा ५०० मेगावाटको विद्युत् आयोजना बनाउन अष्टेलियन कम्पनी इच्छुक
अष्ट्रेलियाको फोर्टेस्क्यू मेटल ग्रुपले नेपालमा ५०० मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा देखाएको छ। नेपालमा कम्तीमा ५०० मेगावाट क्षमताको विद्युत् उत्पादन गरी खपतसमेत आफैं गर्ने प्रस्ताव यो कम्पनीले ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयसमक्ष पेस गरेको छ।
अष्ट्रेलियन राजदूत पिटर बडले शुक्रबार मन्त्रालयमा गरेको बिदाई भेटका क्रममा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले उक्त प्रस्तावलाई नेपाल सरकारले सकारात्मक रूपमा लिएको बताए।
अष्ट्रेलियन कम्पनीले नेपालमा ठूलो लगानी ल्याउन खोजेकोमा मन्त्री पुनले त्यसको स्वागत गर्ने र सरकारका तर्फबाट सहजीकरण गर्ने पनि बताए। नेपालमा लगानीको लागि इच्छुक उक्त कम्पनीका अध्यक्ष एन्ड्रीउ फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली आगामी अक्टुबर १२ मा नेपाल आउन लागेको छ।
फोर्टेस्क्यू मेटल ग्रुप अष्ट्रेलियाको १० ठूला प्रसिद्ध कम्पनीमध्ये एक हो। नेपालको जलविद्युतमा यति ठूलो लगानी आउने र उत्पादित बिजुलीको खपत पनि आफैं गर्ने कम्पनीको प्रस्ताव सकारात्मक भएको मन्त्री पुनले बताएका छन्।
राजदूत बडले आफ्नो नेपाल बसाइँ सफल र स्मरणयोग्य रहेको बताए। उनले अष्ट्रेलिया सरकारले नेपालको विकासमा गर्दै आएको सहयोगलाई आगामी दिनमासमेत निरन्तरता दिने स्पष्ट गर्दै अष्ट्रेलियाको निजी क्षेत्रलाई जलविद्युतसहित नेपालको विविध क्षेत्रमा लगानी गर्न आह्वान गर्ने पनि बताए।