बन्दाबन्दी नदोहोर्याउन व्यवसायीको माग
व्यवसायीहरूले फेरि बन्दाबन्दी गर्ने योजना रद्द गर्न सरकारसमक्ष अनुरोध गरेका छन्। राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुशकुमार जोशी नेतृत्वको व्यवसायीको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर बन्दाबन्दी फेरि नदोहोर्याउन अनुरोध गरेका हुन्।
कोरोना महामारी नियन्त्रणको लागि सरकारले जारी गरेको ६ महीनाभन्दा लामो बन्दाबन्दीका कारण सम्पूर्ण व्यावसायिक क्षेत्र धराशायी भएको बताउँदै व्यवसायीहरूले मुलुकले अब थप अनिश्चितकालीन बन्द थेग्न नसक्ने बताएका हुन्।
सरकारले बन्दाबन्दी खुकुलो पारेसँगै विस्तारै अर्थतन्त्रले गति लिन शुरू गरेको बताउँदै उनीहरूले बन्दाबन्दीको विकल्पमा महामारी रोकथामका लागि अरु विकल्पमा ध्यान दिन सुझाव दिए।
सरकारले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा फेरि बन्दाबन्दी लगाउने योजना बनाएको चर्चापछि यसको विरोधमा व्यवसायीहरूले मन्त्री ढकाललाई भेटेका हुन्। तर, मन्त्री ढकालले भने फेरि बन्दाबन्दीलाई निरन्तरता दिने मनस्थितिमा सरकार नरहेको बताएका थिए।
प्रतिनिधिमण्डलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष सुरेन्द्रवीर मालाकार, व्यवसायी दीपक मल्होत्रासहित उपस्थित थिए।