एक वर्षदेखि केरुङ नाकामा सामान रोकिँदा मारमा महाबौद्धका व्यापारीहरू
करिब एक वर्षदेखि केरुङ नाकामा लत्ता कपडा लगायतका सामान रोकिँदा महाबौद्धका थोक व्यापारीहरू मारमा परेका छन। कोभिड-१९ संक्रमणको जोखिमका कारण केरुङ नाकाबाट सहज ढुवानी नहुँदा एक वर्षदेखि लत्ता कपडा लगायतका सामान रोकिएका छन्।
दशै नजिकिँदै गर्दा पसलमा नयाँ सामान थप्न नपाउँदा त्यहाँका व्यापारीहरू चिन्तित बनेका छन्। संक्रमण न्यूनीकरणका लागि जारी भएको बन्दाबन्दीका कारण उपत्यकाका खुद्रा व्यापारी समेत विस्थापित भएपछि थोक विक्रेताहरूको व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेको छ।
उपत्यकाका खुद्रा व्यपारीहरू पनि नआएको र बाहिरबाट नियमित रुपमा बस सञ्चालन नहुँदा व्यवस्या सञ्चालनमा समस्या देखिएको व्यवसायीहरूको भनाइ छ। गत वर्षको मंसिरमा काठमाडौं आइपुग्नुपर्ने सामान अहिलेसम्म केरुङ नाकामै रोकिँदा व्यवसायीहरूमा थप चिन्ता छाएको छ।
बैंकको ऋण किस्ता र व्याज तिर्न सक्ने अवस्था समेत नरहेको उनीहरुको भनाइ छ। अहिले स्थानीय व्यापारमा ८० प्रतिशतसम्म कटौती भएको र उपत्यका बाहिरको व्यापारमा ६० प्रतिशत कमि आएको महाबौद्धका व्यापारीहरूको भनाइ छ। दशै अगाडि केरुङ नाकाबाट सामान आउनसक्ने अवस्था नभएकाले पुरानो स्टक भएसम्म व्यवसाय सञ्चालन गर्न सकिने अवस्था रहेको छ। पछिल्लो समय प्रतिदिन ५ वटा कन्टेनर नेपाल आउने गरेको भएपनि लत्ता कपडा लगायत कस्मेटिक सामान बोकेका कन्टेनरहरूको पालो नै नपाएको उनीहरूको भनाइ छ।
व्यवसायीहरूका अनुसार गत पुसमा परेको हिउँ र त्यसपछि कोभिड महामारीलाई देखाएर तिब्बतको भन्सारले सामान क्लियर नगर्दा यस्तो अवस्था आएको हो। बीच बाटोमै रोकिएका एक हजारभन्दा बढी कन्टेनरमा लत्ताकपडा, कम्प्युटर, फर्निचर, कच्चा पदार्थ, खाद्यान्न, इलेक्ट्रोनिक्स सामान, रेडिमेड गार्मेन्ट, जुत्ता–चप्पललगायत अर्बौं रूपैयाँका सामान छन्।