आज पनि सकिएन वामदेवको मुद्दाको सुनुवाइ, अर्को सुनुवाइ बुधबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको मनोनयनविरूद्ध परेको मुद्दाको सुनुवाइ शुक्रबार पनि नसकिएपछि आगामी बुधबार थप सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा यो साताको बुधबार र शुक्रबार सुनुवाइ भएको थियो। तर, सुनुवाइ नसकिएपछि संवैधानिक इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेर आगामी बुधबार सुनुवाइ गर्ने भएको हो।
सर्वोच्च अदालतले हरेक साताको बुधबार र शुक्रबार मात्रै संवैधानिक इजलास तोक्छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षताको उक्त इजालसमा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा सदस्य तोकिएका छन्।
गएको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रिय सभामा मनोनयनका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयपछि राष्ट्रपतिले मनोनित गरिसकेकी छन्।
त्यही मनोनयनविरूद्ध सर्वोच्च अदालतमा परेको रिटमा संवैधानिक इजलासले सुनुवाइ गरेको हो।
यसअघि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले ७ असोजमा राष्ट्रिय सभामा गौतमको नियुक्तिलाई यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गर्दै सो रिट संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो।